शिक्षकहरूले नै विद्यार्थीको पढाइ बिगारेको बाबुराम भट्टराईको आरोप, अस्थायी शिक्षकलाई हटाउन माग



नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले शिक्षकहरूकै कारण नेपाली शिक्षाको विकास हुन नसकेको बताएका छन् । राजनीतिक दलका झोले शिक्षकहरूको बिगबिगीले नेपाली शिक्षा भताभुंग भएको उनको टिप्पणी छ ।

शिक्षक भर्ना र स्थायी गर्ने प्रक्रिया खुकुलो भएको र मास्टरको जागिरका निम्ति स्कुल बनेकाले अहिलेको परिस्थिति आएको उनले बताएका छन् । ‘हाम्रो सार्वजनिक शिक्षा प्रणाली यति तहसनहस भइसकेको छ कि यसमा आमूल परिवर्तन नगरी नेपाल समृद्ध बन्नै सक्दैन । यसको एउटा प्रमुख कारण शिक्षकहरूको खुकुलो नियुक्ति प्रक्रिया र उनीहरूको व्याप्त दलीयकरण नै हो ।

कार्यदक्षताको आधारमा भन्दा दलहरूको आड लिएर करार र अस्थायीको रूपमा प्रवेश गर्ने अनि दबाब दिएर स्वतः अथवा नाम मात्रको आन्तरिक परीक्षामा बसेर स्थायी बन्ने प्रक्रियाले शिक्षा प्रणाली भताभुंग बनेकोछ । विद्यार्थीको पढाइनिम्ति स्कुल होइन कि मास्टरको जागिरको निम्ति स्कुल बन्न पुगेको छ,’ बाबुरामले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

यस्तो विकृतिलाई अन्त्य गर्नु सट्टा उल्टै असक्षम र गैरजिम्मेवार दलहरूका झोले शिक्षकहरूलाई पुरस्कृत गर्ने गरी अहिले अस्थायी शिक्षकहरूलाई नाम मात्रको आन्तरिक परीक्षा लिएर स्थायी गर्ने र नयाँ सक्षम युवाहरूको प्रवेशलाई रोक्ने प्रक्रिया अघि बढाइएको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘अहिलेको तीन चौथाइ बहुमत प्राप्त सरकारले ऐनमा आवश्यक संशोधन गरेर देशका कर्णधार तयार गर्ने शिक्षण पेािमा खुला प्रतिस्पर्धाबाट सक्षम र नैतिकवान व्यक्तिहरूलाई प्रवेश गर्ने बाटो खोलोस्, साथै सार्वजनिक कोषबाट वेतन ग्रहण गर्ने शिक्षक, प्राध्यापक, कर्मचारीहरूका दलीय संगठन खारेज गरेर तत्तत् पेसामा एक मात्र ट्रेड युनियन गठन गर्ने व्यवस्था गरोस,’ बाबुरामको भनाइ छ । (मीडिया एनपी)

प्रतिक्रिया दिनुहोस्