गाईकाण्डमा राधिका तामाङले मुख खोलिन्, आयो यस्तो विज्ञप्ति



काठमाडौं– प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले केही दिनअघि नेपाल तामाङ घेदुङले गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको घटनाका सन्दर्भमा आफ्नो नाम जोडेर गरिएको प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । आज एक विज्ञप्ति जारी गर्दै उपभासभामुख तामाङले उक्त प्रचारबाजी प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएकी हुन् ।

उनले केही अनलाइन मिडियाले नियोजित रुपमै पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर आफु विरुद्ध प्रचार गरेको भन्दै दुःख व्यक्त गरेकी छन् । घेदुङले गृहमन्त्री समक्ष राखेका विषयवस्तु ध्यानाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको र सन्दर्भवश आफु त्यस टोलीमा सहभागि भएको तर केही अनलाइन मिडियाले तथ्य बंग्याएको भन्दै विज्ञप्तिमा उनले भनेकी छन्ः तर, केही अनलाईन मिडियाले नियोजित रुपमा मसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरियो, यो सरासर झुठ र निन्दनीय छ । त्यही गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत हुनु झनै दुःखद छ ।

उनले मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पुर्याई न्याय प्रदान गर्नु सवैकोे जिम्मेवारी रहेको र सोही क्रममा आफुले आफ्नो कर्तव्य निर्वाह गरेको दाबी गरेकी छन् । केही दिनयता उपसभामुख तामाङले गाईको मासु खाने अधिकार ल्याउँछु भन्ने अभिव्यक्ति दिएको भन्दै समाचार बाहिर आएपछि उनी विवादमा परेकी थिइन् । (रातोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्