प्रदेश २ मा नेपाल सरकार छ कि छैन ? प्रदेश सदस्यको परिचय पत्र हेर्नुहोस्



१३ चैत २०७४ काठमाडौं ।

पहिलो र दोस्रो चरणको मधेस आन्दोलनका बेला तराईका जिल्लामा रहेका सरकारी कार्यालयमा नेपाल सरकारको बोर्ड मेटेर ‘मधेस सरकार’ पोतिने गरेको थियो । त्यसबेलाका मधेस केन्द्रित दलका सबै कार्यकर्ता तराईमा मधेस सरकार हुनुपर्छ भनेर लागेका थिए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस केन्द्रित दलले तराई मधेसमा राम्रै सिट हासिल गरे । सोहीअनुसार अहिले प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राजपाको सरकार छ । मधेस आन्दोलनमा पनि यिनै दलका नेता कार्यकर्ता लागेका थिए । फोरम नेता लालबाबु राउत गद्दी मुख्यमन्त्री छन् भने राजपाका नेताहरू मन्त्री र सभामुख छन् ।

मधेस केन्द्रित दलकै कार्यपालिका र संसद् रहेको प्रदेश २ मा ‘नेपाल सरकार’ को औचित्य देखिएको छैन । प्रदेश २ को प्रदेश सभाले जारी गरेको सदस्य परिचय पत्रमा ‘नेपाल सरकार’ उल्लेख नै छैन । जबकि सरकारी परिचय पत्रमा ‘नेपाल सरकार’ अनिवार्य मानिन्छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर कायम गरिएको छ । जनकपुरधामबाट जारी भएको एक प्रदेश सभा सदस्यको परिचय पत्रमा ‘नेपाल सरकार’ शब्द उल्लेख छैन । परिचय पत्रमा प्रदेश सभाका सचिव वंशीराज पौडेलद्वारा हस्ताक्षर देख्न सकिन्छ । सो परिचय पत्र माघ २१ गते जारी भएको देखिन्छ । सो मितिमा प्रदेश २ का सदस्यहरूले पद तथा गोपनीयताको सपथ खाएका थिए ।

प्रदेश सभा सदस्यले नेपाल सरकारबाटै तलब भत्ता र सेवासुविधा लिने गरेका छन् । उनीहरूको सबै व्यवस्था राज्यले नै गरिदिएको हुन्छ । तर, उनीहरूले बोक्ने परिचय पत्रमा किन यस्तो त्रुटि गरियो भन्ने विषयमा प्रदेश सभा २ का सचिव वंशीराज पौडेलसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो । तर, फोन सम्पर्क हुन सकेन । (मीडिया एनपी)

प्रतिक्रिया दिनुहोस्