६ महिनामा ४५ किलो चरेस बरामद



पर्सा प्रहरीले ६ महिनामा जिल्लाका विभिन्न स्थानबाट ४५ किलो ७ सय ९० ग्राम चरेस बरामद गरेको छ । प्रहरीले चालू आर्थिक वर्ष ०७४/०७५ को ६ महिनाभित्र पाँचपटकमा ६ जनालाई पक्राउ गरी ४५ किलोभन्दा बढी चरेस बरामद गरेको हो ।

१२ असोजमा १६ किलो ७ सय ९० ग्राम, १६ कात्तिकमा ११ किलोग्राम, १० माघमा १० किलो ५ सय ग्राम र १० चैतमा ४ किलोग्राम गरी ४५ किलो ७ सय ७० ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मकवानपुर हुँदै ल्याइने चरेस वीरगन्ज बसपार्क क्षेत्रलाई केन्द्र बनाएर सञ्चित गर्ने र मौका छोपेर भारतीय बजारमा लगेर बिक्री गर्ने गरिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । ‘चरेस ओसार–पसारमा बालबालिकासहित महिला र गर्भवतीको समेत प्रयोग भइरहेको पाएका छौँ,’ उनले भने ।

यसैबीच पर्सा प्रहरीले मेड इन जापान लेखिएको दुईनाले नल कटुवा पेस्तोलसहित एकजनालाई सार्वजनिक गरेको छ । कालिकामाई गाउँपालिका–४ बलुवाटोलका ६२ वर्षीय हुसेन मियाँलाई पक्राउपछि सार्वजनिक गरिएको हो । १० चैतमा झैझगडा भएको भन्ने सूचना पाएर सुरक्षा बेसक्याम्प सुर्जाहाकट्टीबाट खटिएको प्रहरी टोलीले मियाँलाई नल कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो ।

चरेस र गाँजासहित दुई पक्राउ
पर्सा प्रहरीले सोमबार लागुऔषध चरेस र गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना रक्सौल सुक्ला कोलोनी–८ का २० वर्षीय पवन गुप्ता र विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाका ७० वर्षीय महोदिन देवान छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर सोमबार उनीहरूलाई सार्वजनिक गरिएको हो । वीरगन्ज महानगरपालिका–१६ मा चेकजाँचका क्रममा गत १० चैतमा पवनको साथबाट आठवटा प्याकेटमा रहेको चार किलो चरेस फेला परेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा भारत घर भई वीरगन्ज–१६ नगवामा डेरा गरी बस्ने एक रिक्साचालकले गुप्तालाई उसकै कोठामा लगेर शरीरमा फिट गराएर पठाएको बुझिएको छ ।’

प्रहरी उपरीक्षक रेग्मीका अनुसार गुप्ताले यसअघि पनि पटक–पटक चरेस रक्सौल पुर्‍याइसकेको तथ्य खुलेको छ । बयानका क्रममा उनले बुबाको मृत्युपछि आमाको उपचार गर्ने जिम्मा आफ्नै काँधमा आएको र कुनै आयस्रोत नभएकाले चरेस ओसार–पसारमा लागेको बताएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

डेरा पत्ता लगाई खानतलासी गर्दा चरेसको नमुना, भारतीय सिमकार्डहरू, प्याकिङ गर्न प्रयोग गर्ने प्लास्टिकका थैलीहरू, बैंक भौचर, मोबाइल र चरेसको प्याकेट बोक्न प्रयोग गरिने कपडाको फित्ता, प्याकिङ टेपहरू मात्रै बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

यसैगरी, पर्सा प्रहरीले सोमबार बिहान साढे ११ बजे पर्साको विन्दवासिनी गाउँपालिका– ५ प्रसौनीभाठाबाट महोदिन देवानलाई एक किलो गाँजासहित पक्राउ गरेको छ । प्रहरी चौकी प्रसौनीभाठाबाट खटिएको टोलीले भारततर्फ साइकलमा जाँदै गरेका देवानलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

पर्सा जिल्लाको विभिन्न सीमावर्ती नाकाबाट नियन्त्रित लागुऔषध ओसार–प्रसार गर्ने गरेको देखिएकाले लागुऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्