अर्थमन्त्रीको टिप्पणीले तर्सियो बजार, सर्किट ब्रेकले पनि सम्हालिएन



काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले आइतवार सेयर बजार घट्नु बढ्नु सामान्य कुरा भएको टिप्पणी गरेको भोलिपल्ट सोमबार सुरुबाटै ओरालो लागेको छ ।

अर्थमन्त्रीले सेयर बजार घट्नै नहुने त्यस्तो के हो र? भनी आइतवार टिप्पणी गरेपछि लगानीकर्ताले आत्मविश्वास गुमाएका हुन् । सोमबार बिहान खुलेदेखि नै ओरालो लागेको सेयर बजार समग्रमा ३ प्रतिशत घटेपछि सर्किट ब्रेक नै लगाउनुपरेको छ ।

बजार खुलेको एक घन्टा नपुग्दै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाइएको हो । खुलेको एक घन्टा भित्र ३ प्रतिशतले घटेमा वा बढेमा बजार १५ मिनेटका लागि कारोबार रोक्ने नियम छ । १५ मिनेट सर्किट ब्रेकर लागेको बजार फेरि खुलेपछि पनि बजारको अवस्था पीडादायक छ ।

सर्किट ब्रेकरपछि लगानीकर्ता झनै निराश हुनुपरेको छ । मध्यान्ह १२ बजेतिर ४२ अंक भन्दा बढीले ओरालो लागेको सेयर बजार दिउँसो सवा १ बजे केही सम्हालिएर ३६ अं‌कले ओरालो झरेको छ । अहिले नेप्से ११८४ अंक नजिक आइपुगेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगरमा आइतबार सेयर बजार घट्नुको कारणबारे सार्वजनिक अभिव्यक्ति दिएपछि बजारमा नकारात्मक असर परेको हो ।

अर्थमन्त्रीले बिराटनगरमा लहडका भरमा सेयरमा लगानी नगर्न सर्वसाधरणलाई आग्रह गरेका थिए । उनले अस्वभाविक रुपमा बढाइएको बजार अहिले सेयरको बढी आपूर्ति भएका कारण घट्नु अनौठो विषय नभएको स्पष्ट गर्दै कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न सबैलाई आग्रह गरेका थिए।

उनले सेयरमा लगानी गर्नुअघि संस्थाको दीर्घकालीन अवस्थाबारे सोच्नुपर्ने प्रष्ट पारेका थिए। केही महिनायता लगातार घटिरहेको बजारमा अर्थमन्त्रीको अभिव्यक्तिले झनै पीडा दिने काम गरेको छ ।

अर्थमन्त्रीले आइतवार सेयर कस्तो चिज हो भन्ने प्रश्न गर्दै भनेका थिए, ‘अन्तराष्ट्रिय बजार त घट्छ। घटबढ हुनुलाई अनौठो मान्न सकिदैन।’

अर्थमन्त्रीको भनाईले लगानीकर्तामा अविश्वास बढाएको छ । अर्थमन्त्रीले सेयरमा लगानी गर्नुअघि संस्थाको दीर्घकालीन अवस्थाबारे सोच्नुपर्ने बताएका थिए ।

अर्थमन्त्रीले सेयर र घरजग्गा कारोबारलाई अनुत्पादक भन्दै आएका छन् । बजारमा केही सुधारका कार्यक्रमको आशमा रहेका लगानीकर्ताहरु अर्थमन्त्रीको टिप्पणीसँगै हतोत्साही भएका छन् । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्