खिम्ती २ इपिसिएफ मोडेलमा निर्माण हुने पहिलो आयोजना



चिनियाँ कम्पनीलाई विद्युत् उत्पादनको दुई वर्षपछि भुक्तानी गरे हुने

४८ दशमलव ८ मेगावाटको खिम्ती २ जलविद्युत् आयोजना इन्जिनियरिङ, प्रोक्रुमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्सिङ (इपिसिएफ) मोडेलमा निर्माण हुने पहिलो जलविद्युत् आयोजना हुने भएको छ ।

चिनियाँ सरकारी कम्पनी चोङक्विङ वाटर एन्ड टर्बाइन बक्स (सिडब्लुटिडब्लु)ले खिम्ती २ जलविद्युत् आयोजना इपिसिएफ मोडेलमा निर्माण गर्ने भएको हो ।

आरएम ग्रुपअन्तर्गतको पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको यो आयोजनामा सिडब्लुटिडब्लुले निर्माण सम्पन्न भएको दुई वर्षपछि मात्र भुक्तानी गरे हुने सम्झौता गरिएको कम्पनीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनी सिडब्लुटिडब्लुलाई सुरुमा १० प्रतिशत रकम पेस्कीस्वरूप उपलब्ध गराइनेछ । बाँकी ९० प्रतिशत रकम आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको ७ सय दिनभित्रमा उपलब्ध गराइनेछ ।

कम्पनीले नेपाली जनता, विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञहरू, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू एवं विभिन्न संघ–संस्थाहरूको लगानीमा दोलखा र रामेछापको सिमाना हुँदै बग्ने खिम्ती खोलामा आयोजना विकास गर्न लागेको हो ।

खिम्ती २ आयोजनाको विद्युत् सर्वेक्षण अनुमतिपत्र पिपुल्स हाइड्रो सहकारी संस्था लि. को नाममा लिइएको थियो । आयोजनाको अध्ययन पूरा गरी पिपिएसमेत सम्पन्न भइसकेको अवस्थामा सहकारी संस्थामार्फत विकास गरिने आयोजनालाई उद्योग विभागले स्वीकृति दिन नमिल्ने बताएको थियो ।

त्यसपछि आयोजनाको सम्पूर्ण कागजातहरू सहकारीबाट पिपुल्स इनर्जी लिमिटेडमा परिवर्तन गरिएको हो । आरएम ग्रुपले १५ दशमलव ४ मेगावाटको रुदीखोला र २० मेगावाटको लाङटाङखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजना विकास गर्न सिडब्लुटिडब्लुले सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारणलाइनको निर्माणसम्बन्धी सबै कामहरू इपिसिएफ मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको थियो ।

इपिसिएफ मोडेलमा निर्माण गर्न करिब ९ अर्ब रुपैयाँ (८ करोड ८० लाख अमेरिकन डलर)मा सम्झौता भएको कम्पनीका अध्यक्ष आचार्यले बताए । सोसम्बन्धी विस्तृत सम्झौता केही समयपछि नेपालमा पनि हुने उनले बताए ।

आयोजनाको वित्तीय व्यवस्थापन सानिमा बैंकको नेतृत्वमा अन्य नौवटा वाणिज्य बैंकहरूको संलग्नतामा सम्पन्न भइसकेको छ । यो वित्तीय व्यवस्थापनको पैसा आयोजना सम्पन्न भएपश्चात् चिनियाँ कम्पनीलाई भुक्तानी गर्न उपयोग गरिने कम्पनीका सञ्चालक देवबहादुर पौडेलले बताए ।

आयोजनाको वार्षिक कुल अनुमानित आम्दानी पहिलो वर्ष १ अर्ब ४० करोड रहेको छ । यस्तो आम्दानी वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै जाँदा नवौँ वर्षमा १ अर्ब ७४ करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । आयोजनाले तीन वर्षपछि अर्थात् ०७८ असार मसान्तदेखि विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ ।

हाल आयोजनाको हाइड्रोलोजी अध्ययन, विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन तथा ड्रिलिङको कार्य सम्पन्न भइसकेको छ । आयोजनाका लागि जग्गा खरिदको काम सम्पन्न भएको छ । त्यस्तै विद्युत्गृह, अडिट टनेल, बाँधस्थलसम्म पुग्ने बाटोको काम अन्तिम चरणमा पुगेको छ भने खिम्ती खोलामाथि पुल बनाउने काम अन्तिम चरणमा पुगेका कम्पनीले जनाएको छ ।

लोडसेडिङ भएको छैन : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले अहिले काठमाडौं उपत्यकालगायत मुलुकभर घोषित–अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्थासमेत नरहेको प्रस्ट पारेको छ ।

औद्योगिक ग्राहकलाई केही घन्टाको लोडसेडिङबाहेक अन्य ग्राहकलाई पूर्ण रूपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्रणालीमा आउने प्राविधिक गडबडीका कारण केहीबेर विद्युत् जाँदैमा त्यो लोडसेडिङ नभएको उनले स्पष्ट पारेका हुन् ।

सुुक्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणाली ट्रिपिङ हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भए तापनि त्यतिवेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत् आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैनथे ।

प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घन्टा तयारी अवस्थामा राखेको जनाएको छ ।

‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केबलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सफर्मर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यसआसपसका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्छ,’ घिसिङले भने, ‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न काम भइरहेको छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही दिनअघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिटो र छरितो रूपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्