यस्तो हुन्छ राउटेहरुको प्रेमिल सुहागरात



काठमाडौं, ९ चैत

सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम-प्रसंग अगाडि आए :

अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् । मस्केर कुरा गर्छन् । जंगलमा दाउरा लिन जाँदा, टहरा बनाउने काम गर्दा अनि चाडपर्वमा नाचगान गर्दा पनि उनीहरू भेटघाटको तालमेल मिलाउँछन् ।

राउटेहरूले सामान्यतः नुहाउन मन नगर्ने भए पनि युवतीहरू नुहाएर सफा हुन्छन्, सकेसम्म सिँगारपटार गर्छन्, उपलब्ध गहनामा ठाँटिन्छन् । कतिपय युवती चिटिक्क परेर पनि बस्छन् । चिटिक्क परेका बेला उनीहरू राउटे युवतीजस्ता पनि देखिँदैनन् ।

युवा युवतीबीच प्रेम भएपछि मागेर विवाह गर्ने चलन छ । उनीहरू अभिभावकहरूसँग कुरा गरेर विवाहको तयारी गर्छन् । सामान्यतः केटाकेटीले मन पराएपछि अभिभावकहरूले अस्वीकार गर्दैनन् । छोराको विवाहका लागि मगनी गर्न अभिभावकहरूले केटीको घरमा ‘पाहुर’ लिएर जानुपर्ने चलन छ । पाहुरस्वरूप मह, मासु आदि मीठा खानेकुरा लिएर जाने प्रचलन रहेको मुखिया मैनबहादुर शाहीले बताए । ‘मह दिएर खुसी पारेपछि बुहारी पाइने सम्भावना बढी हुन्छ । शाहीका अनुसार ‘उपहार स्वीकार गरेपछि छोरी दिनुपर्ने हुन्छ । विवाह पक्कापक्कीजस्तो हुन्छ ।‘

विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ । सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिँगारिन्छ । विवाहपछि सुहागरात कहाँ कसरी मनाउँछन् त ? ‘मिल्यो भने छुट्टै छाप्रो बनाएर बस्छौं । जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छौं’ राउटे युवती मैना शाहीले लजाउँदै भनिन्— ‘केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन् ।

परिवार र मुखियाले पनि केही काम लगाउँदैनन्।’ केटाकेटीले आपसमा मन पराएपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ । भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन् । राउटे युवतीहरूले फुपूका छोरासँग विवाह गर्छन् । ‘मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ । ‘मन परेकी केटी देखेपछि ११-१२ वर्षकै उमेरमा पनि मायाप्रेम बस्छ । मन पर्‍यो भने यो मेरो हो भनेर रोजेर राख्नुपर्छ ।’ एउटाले रोजिसकेकीलाई अरूले हेर्न पाउँदैनन् ।

‘रोज्नेले मात्र विवाह गर्न पाउँछ,’ उनले भने— ‘रोजेकोमध्ये एक जनाको मृत्यु भए कतिपय त उसैका नाममा जीवनभर बिधवा/बिदुर भएर पनि बस्छन् ।’ महिलाको संख्या थोरै भएकाले पाका पुरुषले कलिलो उमेरका युवतीसँग विवाह गर्ने चलन पनि रहेको राउटेका पूर्व मुखिया ऐनबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्