म्यासेन्जर, भाइबर र इमोबाट चिट्ठा परेको भन्दै करोडौँ ठग्ने ९ जना पक्राउ



सामाजिक सञ्जालहरू म्यासेन्जर, इमो र भाइबरबाट विभिन्न सन्देश पठाएर ठगी गर्ने नौ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले लामो समयको अनुसन्धानपछि यसरी ठगी गर्ने गिरोहका नौ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।

सामाजिक सञ्जाल म्यासेन्जर, इमो र भाइबरको प्रयोग गरी चिट्ठा पर्‍यो भन्दै डेढ करोड रुपैयाँ ठगी गर्ने नौ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए। ‘म्यासेन्जर, भाइबर र इमोबाट विभिन्न मान्छेलाई साथी बनाउने, अनि तपाईंलाई चिट्ठा परेको छ भन्दै पैसा समेत डिपोजिट गर्न लगाउने गर्ने रहेछन्’, सिंहले भने, ‘हामीकहाँ उनीहरूले ठग्दैछन् भन्ने सुराकी आइपुग्यो त्यही सुराकीको आधारमा हामीले उनीहरूको खोजी सुरु गरेका थियौँ।

हाम्रो टिमले सफलता हात पार्‍यो।’ ठगीमा संलग्न नौ जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। विभिन्न ३ वटा घटनामा संलग्न नौ जनालाई एकैपटक सोमबार सार्वजनिक गरिएको हो। ठगीमा अभियोगमा पक्राउ पर्नेमा पाल्पा निस्दीका २६ वर्षीय यामबहादुर मगर, धादिङ नेत्रवती गाउँपालिकाका २८ वर्षीय ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, १९ वर्षीय मनोज तामाङ, धादिङकै

खनियाबास गाउँपालिकाका २६ वर्षीय टेकबहादुर तामाङ, २५ वर्षीय जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका २४ वर्षीया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ वर्षीय कामनी तिवारी र ४५ वर्षीय योगेन्द्र तिवारी पक्राउ परेको सिंहले जानकारी दिए। उनीहरूले विभिन्न समयमा गरेर १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ। नौ जनालाई नै ठगी मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु भइसकेको सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्