श्रीमतीलाई नै पद दिने परिपाटी हो भने म जेलमा थिएँ, मेरी श्रीमतीलाई बनाएको भए पनि हुन्थ्यो ।’-बालकृष्ण ढुंगेल



यतिवेला माओवादी केन्द्र सरकारमा छ । पछिल्ला केही महिनायता माओवादी नेताहरू प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य बन्ने दौडमा थिए । अझ केही दिनयता मन्त्री र अन्य सार्वजनिक लाभका पदमा पुग्न । त्यसैले १० वर्षे जनयुद्धमा भाग लिएका नाम चलेका करिब करिब सबै नेता कुनै न कुनै लाभको पदमा आसिन भइसकेका छन् । तर, तिनैमध्येक एक बालकृष्ण ढुंगेल अपराधिका रूपमा कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

त्यसैले यतिवेला उनलाई भेट्ने रहर मनमा जाग्यो । र, लागियो डिल्लीबजारस्थित सदरखोर कारागार । मसँग अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत पनि थिए । गेटमा बसेका प्रहरीले सोधपुछ सुरु गरे । हामीले बालकृष्ण ढुंगेलसँग भेट गर्न चाहेको बतायौँ । त्यसपछि सोधपुछ अलि बढी नै भयो । तीनपुस्ते खुलाएपछि हामीलाई भित्र जान दिइयो ।

कुनामा जस्तापाताले छाएको एउटा ओडार जस्तो ठाउँमा हरियो कार्पेट ओछ्याइएको थियो । वरपर स–साना रुख र फेदमा चौतारो पनि बनाएको रहेछ । त्यहाँ कैदी भेट्नेदेखि प्रतीक्षा गर्नेको ठूलै हुल हुने रहेछ ।त्यहीँ आइपुगे पूर्वसभासद् ढुंगेल । हामीलाई देख्नेबित्तिकै उनको गहभरी आँसु छचल्कियो । माओवादी जनयुद्धका थुप्रै नेता र कमान्डर स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारको बागडोर सम्हालिरहेको तर, त्यही युद्धको अर्का एक कमान्डर जनयुद्धकालीन मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भुक्तान गरिरहेको देख्दा हाम्रो मन पनि अमिलो भयो ।

कुराकानी थालनी भयो । उनले विद्यार्थी नेताद्वयबाट पछिल्लो राजनीतिक घटनाक्रमको अपडेट चाहे । उनीहरूले वाम गठबन्धनको सरकार गठनदेखि आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकताको तयारीसम्मका अपडेट सुनाए ।

त्यतिबेलासम्म ढुंगेलले गाँठो परेको मनलाई सम्हालिसकेका थिए । सञ्चारका माध्यमसँग सधैँ जोडिइरहन रुचाउने उनी यी विषयमा अनभिज्ञ त थिएनन् । तर, किन हो उनले विद्यार्थी नेताद्वयबाटै सुन्न चाहे । अपडेट सुनिसकेपछि ती दुवै प्रसंगमा उनले आफ्ना धारणा सुनाए । पार्टी एकताप्रति सकारात्मक रहेका उनले दुवै पार्टीका राम्रा नेता मिलेर समाजवादसँगै साम्यवादको यात्रा तय गर्ने विश्वास व्यक्त गरे ।

तर, सरकारमा मन्त्री चयनदेखि सरकारका प्राथमिकताबारे चित्तदुखाई सुनाए । गरिब निमुखा जनताका घरमा अझैसम्म सरकार पुग्न नसकेको भन्दै उनले भने, ‘भालेबाँसेदेखि गोधुलीसाँझ पर्दासम्म मेहनत गर्ने तै पनि चुलो/अगेनोमा आगो बाल्न नसक्ने जनताको मझेरीमा लागेको अनिकाल टार्न माओवादी मन्त्रीहरू जुट्नुपर्छ ।’

आगामी जेठ १५ गते जेलबाट बाहिरिने बताएका ढुंगेलले सर्वोच्च अदालतको फैसलामा भने हस्ताक्षर नगर्ने बरु ‘उज्जनको पोस्मार्टम रिपोर्ट’ माग्ने बताए । बेपत्ता भनिएका उज्जनको कुन पोस्टमार्टम रिपोर्टका आधारमा जन्मकैद भनेर फैसला गरियो ? यसबारे यसबारे अवश्य सोध्नेछु खबर नयाँ पत्रिका दैनिक बाट लियिएको हो ।

प्रचण्डलाई धम्क्याउनेहरू सँधै सत्ताको वरिपरी पुग्ने गरेको अनुभव पनि सुनाउन भ्याए । ‘प्रचण्ड कहाँ पुगेर मन्त्री वा सांसद नबनाए वैद्य वा विप्लवको पार्टीमा जान्छु भनेर घुक्र्याउने, धम्क्याउने देखि त्यो पद नपाए मर्छु, झण्डिन्छु भनेर प्रचण्डलाई तनाव दिनेहरू पनि धेरै छन् । माओवादी जनयुद्धमा दुई सन्तान गुमाएकी धीरेन्द्र बस्नेतकी आमालाई मात्रै थाहा छ, उनको कलेजो चुडिँदाको पीडा,’ उनले अघि भने, ‘धीरेन्द्रकी आमालाई सांसद बनाएको भए के बिग्रिन्थ्यो, सावित्रीकुमार काफ्लेकै श्रीमतिलाई किन बनाउनुपथ्र्यो । श्रीमतीलाई नै पद दिने परिपाटी हो भने म जेलमा थिएँ, मेरी श्रीमतीलाई बनाएको भए पनि हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्