
साझा यातायातले थप २० वटा सिटी बस थप्ने भएको छ । साझा यातायातले अहिले प्रयोग गर्दै आएको अशोक लेल्यान्डका थप २० थान बस खरिद गर्नेबारे आइएमई मोटर्ससँग सम्झौता गरेको छ ।
आइएमई ग्रुपअन्तर्गतको आइएमई मोटर्स अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता हो ।
बस खरिद सम्झौतामा साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले हस्ताक्षर गरे । सो अवसरमा अशोक लेल्यान्ड इन्डियाका प्रतिनिधि नेपाल कन्ट्री म्यानेजर टोनी गुइनको पनि उपस्थिति थियो ।
सो अवसरमा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले अशोक लेल्यान्डका सिटी बसहरू नेपाली बाटोमा अर्बान ट्रान्सपोर्टमा कोशेढुंगा सावित हुने बताए ।
थप आयात गरिने बस सञ्चालनसँगै सेवा अझ प्रभावकारी हुने साझा यातायातको विश्वास छ । निमित्त कार्यकारी प्रमुख पाण्डेले साझा यातायातको सेवा थप प्रभावकारी भएपछि निजी सवारीसाधनको प्रयोग घट्ने र ट्राफिक समस्या पनि कम हुने दाबी गरे । सिट नपाएका कारण यात्रुले उभिएर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाइ छ ।
आइएमई मोटर्सले उक्त गाडीहरूका लागि चाहिने सर्भिस र स्पेयर पार्टस सप्लाई पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ ।
सुविधासम्पन्न तथा अपांगमैत्री र वातावरणमैत्री बस सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको सहयोग सुखद रहेको भन्दै आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले साझा यातायातसँग सहकार्य गर्न पाउनु आफूहरूका लागि खुसीको कुरा रहेको बताए ।
भारतको चेन्नईस्थित अशोक लेल्यान्डले साझा यातायातको टेन्डर प्राप्त गरी सिटी बस सप्लाई गर्दै आएको छ । भारतको अग्रणी बस कम्पनी अशोक लेल्यान्डका सिटी बस श्रीलंका र बंगलादेशमा पनि निकै लोकप्रिय रहेको छ । (नयाँ पत्रिका)





