क्याम्पस भवन निर्माण शुरु



बर्दिवास, २८ फागुन

महोत्तरी जिल्लाको बर्दिवास–१४ मा बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासको आठकोठे भवन निर्माण कार्य शुरु भएको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अहिलेको क्याम्पस भवनकै माथिल्लो तलामा आइतबार आठकोठे भवनको निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।

क्याम्पसको माथिल्लो तलामा आठकोठे दोस्रो तला निर्माणका लागि बर्दिवास नगरपालिकाले रु ४५ लाख उपलब्ध गराएको छ । त्यसैगरी विश्वविद्यालय अनुदान आयोगबाट रु १२ लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिनुभयो ।  दोस्रो तला निर्माणमा रु ६९ लाख खर्च हुने प्राविधिक अनुमान रहेको छ ।

क्याम्पसले थप तेस्रो तल्लामा आठ कोठा निर्माणका लागि शिक्षाप्रेमी विभिन्न व्यक्तिलाई आह्वानसमेत गरेको छ । “दोस्रो तलाको आठ कोठा नगरपालिका र विश्वविद्यालय अनुदान आयोगको सहयोगबाट पूरा गर्छौं”, क्याम्पस भवन निर्माण समितिका अध्यक्ष एवम् क्याम्पस प्राज्ञ सभाका उपाध्यक्ष लीलामणि आचार्यले भन्नुभयो, “तेस्रो तला निर्माणका लागि स्मृति भवनको हामीले खुला आह्वान गरेका छौँ ।” यो आह्वानअनुसार दिवङ्गत आफन्तका नाउँमा कक्षा कोठाको नाउँ र शिलालेख राखिने अवसर दिइएकाले भवनका कोठा बनाइदिने प्रतिबद्धता प्राप्त हुन लागेको आचार्यको भनाइ छ ।

शिक्षाशास्त्र र वाणिज्य सङ्कायमा स्नातक तहको पठनपाठन सञ्चालन गरिरहेको क्याम्पसले अब स्नातकोत्तरको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा संवद्र्धन प्रक्रिया बढाएको छ । आउने शैक्षिक सत्रबाटै स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरिने क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ । हाल स्नातक तहमा ५०५ विद्यार्थी अध्ययनरत छन् । बर्दिवासमा यो क्याम्पस स्थापना भएयता विवाहिता महिलाका लागि उच्च शिक्षा जारी राख्न निकै सजिलो भएको छ । २०६४ सालमा क्याम्पस स्थापना भएर सञ्चालन भएयता आफ्ना वरपरका ३०० भन्दा बढी बुहारीले स्नातक तहको अध्ययन पूरा गरेका क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्