संघर्षशील नारी यी हुन् चालक श्रीमानकी सहचालक श्रीमती



ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक…, छिट्टो छिट्टो आउनुस्…, ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….। लगनखेल बसपार्कमा सोमवार एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् । जोडजोडले सिट्ठी फुक्दै उनी लगनखेल बसपार्कमा तेर्सिरहेका अन्य गाडीलाई साइड लगाउन आग्रह गर्दै थिइन् । महिलाले सिट्ठी फुकेको देखेर सर्वसाधारण यात्रुहरू रमाइलो मान्दै हेर्दै थिए । उनले बायाँ हातमा चानचुन बीस, दश र पाँचका नोटहरू समातेकी थिइन् । उनी हुन् सुशीला तामाङ। ड्राइभर श्रीमान् तावा तामाङकी श्रीमती हुन् उनी । पैसा उठाउने र मान्छे बोलाउने काम सुशीलाको हो । श्रीमानश्रीमती दुवै मिलेर भक्तपुर ७ नम्बर रुटमा चल्ने बा ४ ख १५३७ नम्बरको मिनीबस चलाउँछन् । श्रीमतीले सहचालकको काम गरेकी छन् । भक्तपुर एक्सप्रेसलाई खासमा मान्छेहरू ‘दाइभाउजु एक्सप्रेस’, ‘बुढाबुढी एक्सप्रेस’ अनि ‘श्रीमानश्रीमती एक्सप्रेस’ले चिन्छन् । यो गाडीको रुट भक्तपुर कमलविनायकबाट लगनखेल, बागबजार र नयाँबसपार्कसम्म चल्ने गर्दछ । डेढ वर्षअघि साहुको ऋण गरेर साउदी गएका श्रीमान् म्यानपावरको चंगुलमा फसेर गएको ४ महिनामै रित्तो हात स्वदेश फर्केका थिए ।

श्रीमान् रित्तै हात घर फर्केपछि सुशीलाको परिवार चुर्लम्म ऋणमा डुबेको थियो । साहुको ऋण तिर्न सुशीलाको परिवारलाई काममा दिनरात खटिनुपर्ने बाध्यता आइपरेको थियो । परिवार आर्थिक संकटमा डुबेपछि घरमा बसिरहेकी श्रीमती सुशीला तामाङलाई उनकी श्रीमानले आफूले चलाउने गाडीमा पैसा उठाउने काम गरिदिन आग्रह गरेका थिए । गाडीमा खलासी भएर कुनै महिलाले काम नगरेको समाजमा सुशीलालाई शुरूमा श्रीमानको यो आग्रह निकै अनौठो लाग्यो । गाडीमा बस्ने अरू खलासीले यात्रुको पैसा लुकाउने र धेरै पैसा हिनामिना गरेको तावाले सुनाएपछि सुशीलाले सँगै मिलेर श्रीमानलाई सघाउने निर्णय गरिन् । शुरूशुरूमा गाडीमा मान्छे बोलाउन लाज लाग्नेगरेको र श्रीमानले सिकाएपछि मात्र अहिले सुशीला फटाफट सबै ठाउँको नाम कण्ठ पार्दै यात्रु डाक्न सिपालु भइसकेकी छन् । गाडी रोक्न र गाडी हिँडाउनका लागि इशारा गर्ने सिट्ठी फुक्न उनी खप्पिस भएकी छन् । उनले सिट्ठी फुक्दा यात्रुहरूले रमाइलो मान्छन् । बिहान सबेर ५ बजेदेखि गाडी चलाउने उनीहरू बेलुकी ७ बजे काम सकेर घर फर्किन्छन् । ‘काम ठूलो सानो हुँदैन, घरखर्च चलाउन गाह्रो भएपछि जुनै काम गर्न पनि आँट आउँदो रहेछ,’ गाडीमा ‘खलासी’ बनेका सुशीलाले बताइन् । सुशीला अहिले गाडीमा पैसा उठाउने, गाडीभित्र यात्रुलाई मिलाएर बसाउन र यात्रुलाई बोलाउन खप्पिस भइसकेकी छन् । गाडीभित्र पैसा उठाउँदा कार्ड हुनेले कार्ड र पैसा सँगै दिनुस् भन्दा कोही यात्रुले निहुँ खोज्ने पनि उनले बताइन् । कोही यात्रुले सुशीलालाई अनपढ जस्तो देखेर विद्यार्थी परिचयपत्र देखाउँदै कार्ड हेर्न आउँछ भनेर हेपेर सोध्ने गरेको र ‘आउँछ, डेट देखाइँदिऊँ भनी जवाफ दिँदा चुप लाग्ने गरेको सुशीलाले सुनाइन् ।

खासमा सुशीलालाई उनकी ठूली छोरीले परिचयपत्रको डेट हेर्न सिकाएकी रहिछन् । सुशीलाकी ठूली छोरी अहिले ६ कक्षामा पढ्छिन् । श्रीमान् श्रीमती दुवैले गाउँमा दुई कक्षाभन्दा माथि पढ्न पाएका छैनन् । घरमा दुई छोरा र एक छोरी छन् । आफूले पढ्न नपाएपनि छोराछोरीलाई जसरी पनि कम्तीमा एसएलसी पास गराउने धोको छ उनीहरूको । कोही यात्रु साह्रै फटाहा हुने गरेको भन्दै ‘के गर्ने चलाख भइएन भने त भाडा नै नदिइ भाग्ने गर्छन्,’ सुशीलाले सुनाइन् । एकचोटि गाडी लगनखेलबाट भक्तपुर गइराखेको थियो । त्योबेला गाडीभित्र दुईजना पाकेटमारले यात्रुको पैसा लुट्न खोज्दा पाकेटमारसँग भिडेको कथा सुनाइन् सुशीलाले । पाकेटमारसँग झगडा हुँदा आफ्नो लुगा च्यातेको र जिउमा घाउ समेत भएको तीतो स्मरण सुनाइन् । पछि लोकन्थलीमा पुगेर पाकेटमारलाई प्रहरीको जिम्मा लगाएको पनि धक फुकाउँदै सुनाइन् सुशीलाले । कोहीले महिला खलासी भएको गाडीमा सुरक्षित महसूस गर्छन् भने कोहीले आफू सोझी देखेर ठग्न खोज्ने पनि सुशीलाले बताइन् । उनले भनिन्, ‘गाडीमा कोही वृद्ध, अपांग आयो भने उनीहरूलाई सीटमा बसाउँछु र ओराल्दा पनि हात समाएर बिस्तारै ओराल्ने गर्छु । यसो गर्दा यात्रु खुशी हुन्छन् ।’ आफ्नो श्रीमानको काममा सँगसँगै सघाउन पाउँदा सुशीला पनि दंग छिन् ।

श्रीमान् श्रीमतीको समान योगदानले घरपरिवार चलाउन पाएकोमा उनीहरू खुशी छन् । उनीहरूको लक्ष्य अब आफ्नै पैसाले गाडी किनेर चलाउने हाे । ‘श्रीमान श्रीमती एक्सप्रेस’ चढ्न पाउँदा यात्रुहरू पनि खुशी देखिन्छन् । ‘मेरो काम देखेर कति त हाँस्छन्, कतिले राम्रो काम गर्नुभएछ भनेर प्रेरणा पनि दिन्छन्’, सुशीलाले लोकान्तरसँग भनिन्, ‘कुनै पनि काम सानो ठूलो हुँदैन, महिलाहरूले गर्न नसक्ने केही छैन । म यही भन्न चाहन्छु, परिश्रम गर्ने बेलामा घरमा हाई काडेर नबसौं । (लोकान्तर अर्काइभबाट)

प्रतिक्रिया दिनुहोस्