निर्माण सम्पन्न भएको १५ दिन पनि नबित्दै भ्वाङ पर्यो चक्रपथ फुटपाथमा



काठमाडौं । चीन सरकारको सहयोगमा विस्तार भईरहेको कलंकी कोटेश्वर सडक खण्डमा पर्ने फुटपाथ निर्माण सम्पन्न भएको १५ दिन पनि नबित्दै भत्किएको छ । कलंकीदेखि कोटेश्वर सम्मको चक्रपथ विस्तार गरी ८ लेनको बनाउने काम भइरहेका बेला नालीमाथि ढलान राखेर बनाईएको फुटपाथ भ्वाङ परेको हो ।

अहिले सडक विस्तारको काम अन्तर्गत पहिलो चरणको निर्माणमा कलंकीमा अन्डरपास निर्माण, एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा आकासेपुल निर्माण लगायतका काम धमाधन चलिरहेको छ । पहिलो चरण अन्तर्गत २०१८ को जुलाई भित्र काम सक्ने लक्ष्य लिइएको परियोजनाले जनाएको छ ।

सडकको छेउमा तलबाट पानी बग्ने नाली र माथि फुटपाथ बनाईएकोमा १५ दिन पनि नबित्दै यो भत्किँदा बाटो हिँड्ने पैदल यात्रुलाई समेत समस्या सिर्जना भएको छ ।कुल २७ किलोमिटर लम्बाई रहेको चक्रपथको निर्माणाधिन पहिलो खण्डको लम्बाई ९ दशमलव ५ किलोमिटर रहेको छ ।

८ लेनको सडक निर्माण गरेसँगै तीव्र र सामान्य गतिमा गुड्ने गाडीका लागि लेन छुट्याइने भएको छ । जसअनुसार ४ लेनमा तीव्र गतिका र बाँकी ४ लेनमा सामान्य गतिमा गुड्ने सवारीसधानका लागि छुट्याइने भएको छ । यसको निर्माण लागत करिव ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्