पाँच वर्ष नेपालका लागि असाधारण उपलब्धिको समय हो : प्रधानमन्त्री ओली



काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच वर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताए। ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘यो समय सफलता,परिवर्तन र उपलब्धीको समय हुनेछ।’

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाए। प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक,निजी र सहकारी मार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताए। प्रधानमन्त्री ओलीले भने ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ। ’

वर्तमान सरकार देश र जनताप्रति उतरदायी भएको बताउदै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारका विरुद्ध र देशको दुरदृष्टिका पक्षमा रहेको बताए। प्रधानमन्त्री ओलीले भने ‘सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि,आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन् । ’ जनताको काम छिटो छरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिए। ‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’ प्रधानमन्त्री ओलीले भने ‘हरेक पटक हामी ९३ रुपैंया घाटाको व्यापार गरिरहेका छौं। यसलाई उकास्ने एक मात्र माध्यम निर्यात व्यापार बढाउनु हो।’

पर्यटन व्यावसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ। तर यसका लागि पर्यटनमैत्री सडक र होटल हुनुपर्ने प्रधानमन्त्रीको धारणा छ। ‘एकपटक नेपाल आएको पर्यटकले फेरीफेरी पनि आउने चाहना राखोस’ प्रधानमन्त्री ओलीले भने ‘एकपटक चन्द्रागिरी डाँडामा पुगेको पर्यटक कलंकीको जाम सम्झेर फेरी नफर्कने स्थिति छ। यो अवस्थामा सुधार ल्याउनु आवश्यक छ।’

संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहस्राव्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रुत गतिमा विकास गर्नुपर्ने,गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘यो लक्ष्य प्राप्त गर्न नेपाल प्रतिवद्ध छ। यसमा निजी क्षेत्रको सहयोगको पनि उतिकै जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीले भृकुटी मण्डपमा लागेको व्यापार मेलाको निरीक्षण समेत गरेका थिए। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्