बलात्कारीलाई कडा कारबाही गर्छु, बालविवाह र दाईजो प्रथा निर्मुल पार्छु : मन्त्री थापा



काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने र बालविवाह र दाईजो प्रथाको अन्त्यको लागि आफूले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएकी छिन् । आयोजित १०८ औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री थापाले आफूले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएकी हुन् ।

उनले भनिन्,‘बलात्कारीहरुलाई कडा कारबाही गर्छु र दाईजो प्रथालाई निर्मुल पार्छु।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री थापाले बलात्कारजस्ता जघन्य महिला हिंसाका घट्नामा तत्काल उजुरी र सूचना दिन ११४५ नम्बरको टोल फ्रि–नम्बर उपलब्ध गराइएको र त्यस्ता घटनामा दोषीलाई कडा कारबाही गराउन सरकार प्रयत्नशील रहेको पनि बताईन् । उनले भनिन्,‘सरकारले ल्याएको टोल–फ्रि नम्बरको बारेमा प्रचारप्रसार अलिक भएको छैन, मिडियाको तर्फबाट जागरण ल्याउनुपर्छ।’

उनले महिला हिंसा अन्त्य गर्नको लागि सबै सरोकारवाला निकाय संवेदनशील बन्नुपर्नेमा जोड दिईन् । समुन्नत र न्यायमूलक समाज निर्माणको लागि महिलाहरुलाई जिम्मेवार निकायमा पुर्याउनुपर्ने उनको धारणा छ ।

मन्त्री थापाले स्थानी तह, प्रदेश सभा र संघीय सभामा समेत महिलाहरुको प्रतिनिधित्व संविधानले सुनिश्चितता गरेबमोजिम भएकोले अब अधिकार प्राप्तिसँगै कार्यान्वयनमा महिलाहरुले जोड दिनुपर्ने सुझाईन् । उनले भनिन,‘विगतमा हामीले सडक र सदनबाट संघर्ष गरेर महिलाको प्रतिनिधित्व ३३ प्रतिशत प्राप्त गरेका हौं, यो महत्वपूर्ण उपलब्धि हो, हामीले अब यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ।’ (न्युज 24 बाट)

प्रतिक्रिया दिनुहोस्