विश्व चर्चित राजनीतिज्ञका अश्लील अभिव्यक्ति



विश्वका चर्चित राजनीतिज्ञ आफ्ना विवादास्पद र अश्लील अभिव्यक्तिका कारण बारम्बार विवादित बन्ने गरेका छन् । सार्वजनिक समारोहमा अशोभनीय अभिव्यक्ति दिँदा पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्रीले बारम्बार क्षमायाचना गर्नुपरेको छ । विवादास्पद अभिव्यक्तिका कारण उनीहरू पटक पटक विवादमा तानिएका छन् । केही राजनीतिज्ञका अशोभनीय अभिव्यक्ति यहाँ प्रस्तुत गरिएका छन् :

विपक्षी महिला निरसः बर्लुस्कोनी
युरोपका यौन खेलाडीको उपमा पाएका इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनी विवादका पर्याय नै हुन् । उनीमाथि यौन दुव्र्यवहारका दजनौँ अभियोग लागेका छन् । बहालवाला प्रधानमन्त्रीविरुद्ध बलात्कार मुद्दा लाग्ने दुर्लभ व्यक्तिमध्ये उनी एक हुन् । महिलालाई होच्याउन र उनीहरूविरुद्ध सार्वजनिक रूपमा अश्लील अभिव्यक्ति दिन उनी माहिर छन् । असङ्ख्य यौनकान्डमा मुछिएका बर्लुस्कोनीले एकपटक अदालतसामु नै महिलालाई होच्याएका थिए । ‘इटालीमा सुन्दर युवती भएकाले उनीहरूको रक्षाका लागि असंख्य सिपाही परिचालन गर्न आवश्यक छ,’ आफूमाथि लागेको बलात्कार अभियोगबारे उनले अदालतमा भनेका थिए ।


बर्लुस्कोनीले दक्षिणपन्थी महिला बढी सुन्दरी भएको र विपक्षी महिलाको त्यति ‘स्वाद’ नभएको भन्ने अभिव्यक्तिले इटालीका महिला अधिकारकर्मी आक्रोशित बनेका थिए । न्युयोर्क स्टक एक्सचेन्जमा इटालीको व्यापार प्रवद्र्धन गर्ने सवालमा पनि उनले त्यत्तिकै ‘सेक्सी’ टिप्पणी गरेका थिए । ‘विदेशी बहुराष्ट्रिय कम्पनीले इटालीमा लगानी गर्नुको प्रमुख कारण हामीकहाँ निकै सुन्दर महिला छन्,’ उनले भनेका थिए ।
सन् २००८ मा स्पेनका तत्कालीन प्रधानमन्त्री जोसे लुइस रोडरिगुज जापेट्रोले महिलाको बाहुल्य रहेको मन्त्रिमण्डलको विस्तार गर्दा बर्लुस्कोनीले होच्याउने ढंगले अभिव्यक्ति सार्वजनिक गरे । उनले भनेका थिए, ‘जापेट्रोले यस्तो सरकारको गठन गरेको जुन निकै गुलाफी छ, उनीहरूलाई सम्हाल्न प्रधानमन्त्रीलाई निकै कठिन हुनेछ ।’

भद्दा पोसाकले संसद्को गरिमा घट्यो
डेढ वर्षअघि दक्षिण अफ्रिकाकी विपक्षी महिला नेतृ लिन्डिबी मजिबुकोको पोसाकलाई लिएर दक्षिण अफ्रिकाली राजनीतिज्ञबीच चर्काचर्की पर्यो । बजेटबारे संसद्मा बहस चलिरहेकै वेला एएनसी पार्टीका दुई सांसदले मजिबुकोकोे तीव्र आलोचना गरे । ‘सम्मानित मजिबुको हेर्नलायक मोटी भएकोले उनले लगाएको पहिरन झनै प्रश्नयोग्य छ,’ एएनसीका सांसद जोन जेफ्रीले व्यंग्य गरे । मजिबुको निकै भद्दा देखिएको र उनले लगाएको पोसाक नसुहाउँदो देखिएको जेफ्रीले टिप्पणी गरेका थिए । तर, व्यक्तिगत विषयमा सम्मानित सदनमा अनावश्यक चासो देखाइएको भन्दै जेफ्रीको आलोचना भएपछि उनले सार्वजनिक रूपमा माफी मागेका थिए । एएनसीले भने स्पष्टीकरणस्वरूप एउटा विज्ञप्ति नै जारी गरेको थियो । ‘यस सम्मानित सदनमा हामीले फेसनको राजनीति गर्ने किमार्थ मनसाय होइन, तर मजिबुकोले जुन शैलीमा ड्रेस लगाएकी छिन् यसले सदनमा भएको बहस र गरिमालाई अपहेलना गरेको छ,’ एएनसीले भनेको थियो । मजिबुकोले परम्परागत तरिकाले कालो टाइट कपडामाथि रातो ज्याकेट लगाएकी थिइन् ।

त्यसो त मजिबुको अफ्रिकी राजनीतिमा बारम्बार सेक्सी अभिव्यक्तिको सिकार बन्दै आएकी छिन् । सन् २०११ मा एएनसीका युवा नेताले उनीसँग बहस गर्न अस्वीकार गरी उनलाई ‘एक चिया केटी’ भनि होच्याएका थिए । सन् २०१२ मा पनि एक वरिष्ठ राजनीतिज्ञले मजिबुकोले संसदीय गतिविधि चलिरहेका वेला उनको कपालको व्यंग्य गरेका थिए ।

शयनकक्षको पोसाक भन्दै महिला सांसदको आपत्ति
दुई वर्षअघि नेसनल एसेम्लीमा फ्रान्सकी आवासमन्त्री सिसाइली डुफलोटले आफ्नो अभिव्यक्ति दिँदै गर्दा पुरुष सांसदले होहल्ला गरे । निहँु भने पोसाककै थियो । डुफलोटले अभद्र पोसाक लगाएको भन्दै पुरुष सांसदले चर्को विरोध गरेका थिए । सम्मानित सदनमा आउँदा शयनकक्षमा आराम गर्दा लगाउने पोसाकमा सजिएको भन्दै उनीमाथि केही पुरुष सांसद खनिएका थिए । उनले लगाएको पारदर्शी फुलबुट्टे पोसाकले धेरै सांसदको ध्यान भंग भएको बताइएको थियो । ‘डुफलोटले लगाएको पोसाकका कारण उनको मन्तव्यतर्फ कत्ति ध्यान गएन,’ राष्ट्रपति निकोलस सार्कोजीनिकट एक सांसदले भने । सार्वजनिक महत्वको विषयमा उनले संसद्मा सम्बोधन गर्दा सांसदहरूले उनीविरुद्ध चर्को होहल्ला र नाराबाजी गरेका थिए ।

आफूमाथि भएको दुव्र्यवहारप्रति डुफलोटले दुःख व्यक्त गरेकी छिन् । ‘म यसअघि पनि विभिन्न सार्वजनिक क्षेत्रमा व्यापार–मामिलामा काम गर्थेँ, तर कहिल्यै यस्तो अपमान सहनुपरेको थिएन,’ डुफलोटले आफूमाथि भएको अपमानबारे भनेकी थिइन् ।

तिम्रो सुन्दरताले पागल भएँ
श्रीलंकाकी प्रमुख विपक्षी युनाइटेड नेसनल पार्टीकी सदस्य रोजी सेनानायके दुई दशकदेखि राजनीतिमा आबद्ध छिन् । उनी राष्ट्रसंघको गुडविल एम्बास्डर र मलेसियामा श्रीलंकाको हाइकमिसनरको रूपमा काम गर्दै आएकी छिन् । राजनीतिमा उनको पृथक् पहिचान भए पनि श्रीलंकाको संसद्का पुरुष सांसदले उनलाई वेलावेलामा संसद्को सुन्दरीका रूपमा चित्रण गर्ने गरेका छन् ।


एकपटक रोजीले संसद्को नियमित गतिविधिबारे जवाफ दिने क्रममा यतायातमन्त्री कुमारा वेलगामाले आफू रोजीको सौन्र्दयबाट प्रभावित भएको भन्दै रोजीलाई संसद् भवनभित्रै लाजमर्दो बनाएका थिए । ‘सुन्दर रानीले उठाएका प्रश्नको उत्तर दिन मलाई निकै खुसी लागेको छ,’ यातायातमन्त्रीले भनेका थिए । रोजी पूर्वविश्वसुन्दरीभन्दा कम नभएको ती मन्त्रीले बताएका थिए । ‘तिमी यति सुन्दर महिला छौ कि म संसद्मा मेरो भावना अभिव्यक्त गर्न सक्दिनँ । तर, संसद्बाहिर मैले तिमीलाई भेटेँ भने म वर्णन गर्नेछु… मेरा चिन्तनहरू विनाशकारी बन्दै छन्… तर, सार्वजनिक रूपमा मैले ती विचारलाई व्यक्त गर्नेछैन ।’
तर, मन्त्रीको व्यक्तिगत भावनामा आफू नबग्ने रोजीले बताएकी थिइन् । ‘म अझै पनि व्युटी क्विनको रूपमा परिचित हँुला, तर म लामो समयदेखि राजनीति र महिलाअधिकारका क्षेत्रमा कार्यरत छु,’ महिलाअधिकारवादीसमेत रहेकी रोजीले मन्त्रीलाई जवाफ दिएकी थिइन् ।

राष्ट्रपति हायको सार्वजनिक बेइज्जती
दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हायविरुद्ध भ्रष्टाचार आरोपमा अदालतमा सुनुवाइ भइरहेको छ । दक्षिण कोरियाकी पूर्वतानशाहकी छोरीसमेत रहेकी उनले आफ्नै पार्टीभित्रै विभिन्न अभद्र टिप्पणीको सामना गर्नुपरेको थियो । राष्ट्रपतीय चुनावमा उनले सार्वजनिक रूपमा निकै लज्जास्पद टिप्पणीको सामना गरिन् ।


दक्षिण कोरियाको प्रमुखले राष्ट्रिय सुरक्षाको जिम्मा लिनुपर्छ । तर, वास्तविक जीवनमा यस्तो अनुभव नबटुलेका महिलाले राष्ट्रप्रमुखको जिम्मेवारी पूरा गर्न असम्भव हुन्छ,’ पार्कका प्रतिद्वन्द्वी ली जेई ओहले बारम्बार भन्ने गर्थे । प्रतिद्वन्द्वी उम्मेदवारका प्रवक्ताले राष्ट्रपति पार्कको कुनै सन्तान नभएको भन्दै उनलाई ‘बाँझो महिला’को उपमा दिएका थिए । ‘उनीमा उर्वरता छैन । बच्चा जन्माएको, हुर्काएको, शिक्षादीक्षा प्रदान गरेको र खाद्यान्न मूल्यबारे कुनै पनि ज्ञान छैन, उनमा,’ विपक्षीले पार्कलाई कटाक्ष गरेका थिए ।
पार्क राष्ट्रपतिमा निर्वाचित भइसकेपछि पनि उनीमाथि अप्रत्यक्ष रूपमा अश्लील शब्दावली प्रयोग भएको थियो । दुई कोरियाबीचको तनाव चुल्याउन पार्कको ‘स्विस अर्फ स्कर्ट’लाई जिम्मेवार मानिएको थियो । महिलाको बाहुल्य दर्शाउन वा आक्रामक महिलालाई चित्रण गर्न कोरियामा स्विस अर्फ स्कर्ट’ वाक्यांशको प्रयोग गरिन्छ ।

साना स्तन र ठूला तिघ्रा भन्दै गिलार्डको कटाक्ष
अस्ट्रेलियाको लिबरल नेसनल पार्टीले जुलिया गिलार्ड केन्टुकी फ्राइड क्वेल नाम दिएको कार्यक्रम अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डलाई लज्जास्पद बनाउने खालको थियो । लिबरल पार्टीको डिनरमा राखिएको मेनुमा ‘स्मल ब्रेस्ट, ह्युज थाई एन्ड ए विग रेड बक्स’ लेखिएको थियो । सो मेनुले प्रधानमन्त्रीका साना स्तन, ठूला तिघ्रा भनी सरकारप्रमुखलाई अश्लील रूपमा व्यंग्य गरिएको थियो । तीन वर्षअघि आयोजित सो डिनरकोे भाषाको सर्वत्र आलोचना भएको थियो । डिनरको मेनुको विपक्षी नेता टोनी अबोटले समेत निन्दा गरेका थिए । सर्वत्र विरोध भएपछि तल्लो सदनको सदस्यसमेत रहेका बोरगले सो मेनु एक गैरपार्टीका व्यक्तिले तयार गरेको र मजाकका लागि मात्र बनाएको भन्दै गिलार्डसमक्ष माफी मागेका थिए ।


निर्वतमान प्रधानमन्त्रीलाई अपहेलना गरिएको त्यो नै पहिलो र अन्तिम घटना थिएन । त्यसअघि एक रेडियो प्रस्तोताले गिलार्डको पार्टनरको यौन क्षमताबारे प्रश्न गरेका थिए । ती प्रस्तोताले गिलार्डका श्रीमान् गे हुन् भनी प्रश्नसमेत गरेका थिए । जसका कारण उनले जागिरबाट मात्र हात धुनुपरेन, उनले काम गरेको संस्थाले समेत क्षमा माग गरेको थियो ।
गिलार्डलाई पूर्वसिनेटर हेफरम्यानले पनि व्यंग्य गरेका थिए । ‘जसले योजनाबद्ध ढंगले आफू बाँझो हुने चाहना गर्छ, उनीहरूलाई जीवन के हो भन्ने नै थाहा हुँदैन,’ सिनेटर विल हेफरम्यानले सन् २००७ मा भनेका थिए । उनले अप्रत्यक्ष रूपमा गिलार्डलाई व्यंग्य गरेका थिए । त्यसको एक वर्षअघि लेवर पार्टीका एक पूर्वनेता मार्क लथामले भनेका थिए, ‘बालबच्चा हुनु भनेको जीवनको जुनसुकै क्षणमा रमाइलो महसुस हुनु हो । यदि बच्चा नजन्माउने छनोट कसैले गरेको छ भने तपाईंको जीवनमा खासै माया हँुदैन ।’ उनले गिलार्डमा सहानुभूतिको भावना नभएकोसमेत बताएका थिए । (गज्ज़ब)

प्रतिक्रिया दिनुहोस्