कुन युरोपियन देशमा कस्तो शिक्षा प्रणाली ?



नेपालीहरू विदेश अध्ययनका क्रममा युरोपियन देशमा समेत आकर्षित भएको पाइन्छ । युरोपका चर्चित देशहरूमा शैक्षिक प्रणाली र शुल्कमा धेरै विविधता रहेको छ । कतिपय देशमा शुल्क चर्को छ भने कुनैमा उच्च शिक्षासमेत निःशुल्क रहेको छ । केही देशमा नेपालबाट अध्ययन गर्न जान अंग्रेजी भाषामा दक्ष हुनुपर्छ भने कुनै देशले आइइलटिएसलगाएतका अंग्रेजी भाषालाई अनिवार्य गरेका छैनन् ।
अन्तर्राष्ट्रियस्तरको डिग्री प्राप्त गर्न चाहने र निःशुल्क शिक्षा भएका कारण आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि पनि उपयुक्त रहेको पाइन्छ । निःशुल्क शिक्षा भएका देशमा १०–१२ लाख रुपैयाँले वार्षिक खर्च पुग्न सक्छ । शिक्षण शुल्क तिर्नुपर्ने देशमा पनि वार्षिक १० देखि १२ हजार युरो खर्च हुन्छ । स्केनडेभियन देशमा नर्वे, स्विडेन, फिनल्यान्ड, डेनमार्क पर्छन् । डेनमार्कबाहेकका देशमा उच्च शिक्षा निःशुल्क छ । यी देशमा फिसरी, बायोटेक, टेक्नोलोजीका क्षेत्रको शिक्षा राम्रो छ । नेपाली विद्यार्थीका लागि यस्ता विषय उपयुक्त हुन सक्छन् ।

बेलायत
युकेका विश्वविद्यालय शिक्षाको प्रारम्भ ५ तह तीनवर्षे ब्याचलर लेभल र मास्टर्स एक तथा दुईवर्षे हुने गरेको छ । प्राविधिक शिक्षाको प्रारम्भ फाउन्डेसन तहबाट सुरु हुन्छ । त्यसैगरी क्रमशः नेसनल डिप्लोमा, एड्भान्स डिप्लोमालगायत कोर्षहरू एक वर्ष, डेढ वर्ष र दई वर्ष अवधिको हुने गरेको छ । ग्राजुएट सर्टिफिकेट, ग्राजुएट डिप्लोमा लेभल–६, पोस्ट ग्राजुयट सर्टिफिकेट, पोस्ट गेँजुयट डिप्लोमा लेभल–७, मास्टर्स डिग्री (एकवर्षे, दुईवर्षे) लेभल–७, पिचएडि (तीन वर्ष) लेभल–८ रहेका छन् । युकेका कलेज वा विश्वविद्यालयहरूले सामान्यतया ब्याचलर लेभलका लागि १० हजार र मास्टर्सका लागि १२ हजार युरो प्रतिवर्ष शिक्षण शुल्क लिने गरेका छन् । विश्वका उत्कृष्ट विश्वविद्यायको सूचीमा बेलायतका धेरैजसो शैक्षिक संस्था पर्दछन् । विश्वविद्यालय शिक्षाको जननीका रूपमा पनि बेलायतलाई लिने गरिन्छ । बेलायती कलेज/विश्वविद्यावयमा भर्नाको लागि आवेदन दिँदा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रसहित अनिवार्य रूपमा अंग्रेजी भाषाको दक्षता परीक्षा दिनुपर्छ । युकेका लागि आइइएलटिएमा कम्तीमा ५.५ स्कोर प्राप्त गर्नुपर्छ ।

नेदरल्यान्ड
नेदरल्यान्ड कृषिसँग सम्बन्धित विषय अध्ययनका लागि पनि राम्रो मानिन्छ । नेपालमा आवस्यक जनशक्तिको पढाइ पनि रोज्न सकिन्छ । डेरी, एग्रिकल्चर, सीप बिल्डिङका लागि राम्रो छ । नेपालमा पनि डेरी, एग्रिकल्चरको धेरै सम्भावना रहेकाले नेदरल्यान्डमा पढेको शिक्षा स्वदेशमा प्रयोगमा ल्याउन सकिन्छ । यस्तो विषय व्यक्तिलाई मात्र होइन, देशका लागि पनि फाइदा हुन्छ । नेदरल्यान्डमा प्रत्येक वर्ष डेढदेखि दुई सयको हारहारीमा नो अब्जेक्सन लेटरका लागि आवेदन पर्छन् ।

जर्मनी
नेपाली विद्यार्थी जर्मनी अध्ययनमा समेत आकर्षित रहेको पाइन्छ । नेपालबाट बर्सेनि १५ सयसम्म विद्यार्थी अध्ययनका लागि जर्मनी जाने गरेका छन् । जर्मनीमा निःशुल्क शिक्षाको व्यवस्था छ । जर्मनीमा अध्ययन गर्न चाहनेहरूको भाषामा दख्खल हुनुपर्छ । जर्मनीमा सुरुमा फाउन्डेसन कोर्स पढ्न सकिन्छ, भाषामा दख्खल भएका विद्यार्थी सीधै विश्वविद्यालयमा पनि भर्ना हुन सक्छन् । जर्मनीमा मेडिसिन, टेक्नोलोजी, अटोमोबाइल अतिउत्कृष्ट रहेको छ । त्यसैगरी बायोमेडिकल अध्ययनका लागि पनि राम्रो छ ।

स्पेन
स्पेनमा नेपालीको संख्या बढ्दो छ । स्पोटुर्स र स्पोर्टस् म्यानेजमेन्ट अध्ययनका लागि स्पेन राम्रो
छ । फुटबलका राम्रा–राम्रा क्लब स्पेनमा रहेका छन् । अरू विषयका लागि पनि राम्रो छ । स्पेनमा अध्ययनका लागि आवेदन गर्नेहरूको ठूलो संख्या छैन । तर, स्पेनिस भाषामा दख्खल राखेर जानेहरूका लागि राम्रो अवसर छ ।

फ्रान्स
नेपाली विद्यार्थी फ्रान्स अध्ययनमा पनि जाने गरेका छन् । फेसन डिजाइनका लागि फ्रान्स विश्वप्रख्यात रहेको छ । पेरिस विश्वकै फेसनको केन्द्र हो । यस्ता विषय अध्ययनका लागि नेपाली विद्यार्थीका लागि फ्रान्स उत्कृष्ट केन्द्र हुन
सक्छ । अघिल्लो वर्षको तथ्यांकअनुसार फ्रान्समा अध्ययनका लागि साढे तीन सय विद्यार्थीले आवेदन गरेका थिए ।

डेनमार्क
युरोपियन देशमध्ये धेरै नेपाली विद्यार्थीको आकर्षण रहेको देश डेनमार्क पनि हो । बैंकिङ, इन्टरनेसनल बिजनेसलगाएतका व्यवस्थापनसम्बन्धी विषयहरु अध्ययनका लागि राम्रो छ । विश्वकै ठूला र उत्कृष्ट बैंक डेनमार्कमा रहेका छन् । डेनमार्कको डच बैंक संसारको ठूलो बैंकमध्ये पर्दछ । सो देशमा अध्ययनका लागि प्रत्येक वर्ष सयौँको संख्यामा नो अब्जेक्सन लेटर लिने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार अघिल्लो वर्ष डेनमार्कका लागि ५८८ विद्यार्थीले यस्तो पत्र लगेका थिए । (गज्ज़ब)

प्रतिक्रिया दिनुहोस्