जोर्डनमा घरेलु महिला कामदार पठाउन बाटो खुला



२३ फागुन  २०७४
काठमाडौँ , वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा ३ सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ । संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले दुई देशबीच श्रम सम्झौता भइसकेको भन्दै कार्यान्वयनका लागि वैदेशिक रोजगार कार्यालयलाई मंगलबार अनमुति दिएका हुन् ।

‘जोर्डनमा ३ सय महिला पठाउन ३ म्यानपावर कम्पनीले मागपत्र पेस गरेका थिए । मन्त्रालयको अनुमति तथा निर्देशन नहुँदा रोकिएको थियो,’ वैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख प्रेमकुमार देसारले कान्तिपुरसँग भने, ‘मन्त्रालयको अनुमति आइपुगेको छ । फाइल अध्ययन गरी श्रम स्वीकृतिको प्रक्रिया बढाउनेछौं ।’

नेपाल र जोर्डनबीच गत कात्तिकमा श्रम सम्झौता भएको थियो । घरेलु कामदार निर्देशिकाले श्रम सम्झौता भएपछि मात्रै घरेलु कामदार पठाउन अनुमति दिन मिल्छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम सम्झौता नभएसम्म हाउसमेड पठाउन रोक लगाउने निर्देशन दिएपछि विभागले व्यक्तिगत र संस्थागत रूपमा हाउसमेड पठाउन एक वर्षअघि रोकेको थियो । विभागले बिदामा आएका हाउसमेडलाई समेत पुन: श्रमस्वीकृति दिएको छैन ।

‘घरेलु कामदार पठाउन जोर्डनसँग मात्रै श्रम सम्झौता भएको छ,’ वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले कान्तिपुरलाई भने, ‘हामीले २५ लाख रुपैयाँ थप धरौटी राखेर हाउसमेड पठाउने म्यानपावर सूचीकरण गरेका छौं । उनीहरूलाई मात्रै घरेलु कामदार पठाउन अनुमति दिनेछौं ।’ श्रम सम्झौताअनुसार हाउसमेडमा जाने कामदारको सम्पूर्ण आर्थिक दायित्व स्पोन्सरले ब्यहोर्नुपर्ने छ । घरेलु कामदारको उमेर २४ देखि ४५ वर्ष तोकिएको छ । श्रम सम्झौतामा घरेलु कामदारको न्यूनतम तलब ३ सय डलर र बिमा १० हजार अमेरिकी डलर हुने उल्लेख छ ।

‘कामदारको राहदानी आफैंसँग रहने, कामदारले आफ्नो धर्म मान्न पाउने, कामदारलाई राखिएको क्याम्पमा नेपाली दूतावासले निरीक्षण गर्न पाउने व्यवस्था श्रम सम्झौतामा छ । ‘कामदारको जिम्मेवारी दुवै सरकारले लिएका छन् । अब दुवै सरकार आफ्ना दायित्व पूरा गर्न बाध्य हुनेछन्,’ विभागका महानिर्देशक भुवन आचार्यले बताए । जोर्डनमा झन्डै ५ हजार नेपाली कार्यरत छन् । जसमा ८० प्रतिशत महिला छन् । अधिकांश गार्मेन्ट क्षेत्रमा कार्यरत छन् । (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्