बजेट, पुर्वाधार र कर्मचारीको अभावले काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ



प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट, भौतिक पुर्वाधार र कर्मचारी अभावमा प्रदेश सरकारले काममा तिब्रता दिन नसकेको बताएका छन् । बुधबारबाट नवलपरासीको कावासोतीमा सुरु भएको नवलपुर महोत्सवमा उनले जनताको आकाक्षा धेरै भएको र योजनासमेत तयारी अवस्थामा रहेको बताए । उनले प्रदेशमा बजेट, कार्यविधि र कर्मचारी नभएकाले तत्काल केन्द्र सरकारले कर्मचारी प्रदेशमा पठाउनसमेत माग गरे ।

यस्तै, नवलपुर प्रदेश ४ को आइरन गेट भएकाले यहाँको विकासमा जुट्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्री गुरुङले नीजि क्षेत्रलाई ढुक्क भएर लगानी गर्न र आवश्यक सुरक्षाको प्रत्याभूति सरकारले गर्ने पनि प्रतिबद्धता जनाए । उनले प्रदेश–४ लाई आगामी ५ वर्षभित्रमा कायापट गरेरै छाड्ने उद्घोष गरे ।

प्रदेशको मुख्य आधार नै पर्यटन भएकाले पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको स्थापना गर्ने पनि बताए । औधोगिकरणको क्षेत्रमा प्रदेश सरकार जुटिरहेको र संघीय सांसदहरुलाई पनि पूर्वाधार निर्माणका लागि केन्द्र सरकारलाई घच्घच्याउन सुझाए ।

महोत्सव ४ चैत्रसम्म सञ्चालन हुनेछ । महोत्सवमा १० करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ । महोत्सवमा ३ सय वटा स्टल छन् भने जिल्लामा उत्पादित कृषिमा आधारित विभिन्न सामाग्री, नेपालकै होची महिला, धरहराको प्रतिमूर्ति, उद्योग व्यापार तथा कृषि सम्बन्धी स्टलहरु रहेका छन् । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्