अप्ठ्यारो नमानी पुरानै पार्टीमा फर्कन बाबुरामलाई प्रचण्डको आग्रह



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई मंगलबार पार्टी प्रवेश गराउँदै उनले भट्टराईलाई कुनै अप्ठ्यारो नमानी आउन आग्रह गरेका हुन् । ‘आफ्नै हजारौँ लाखौँ साथीहरूसँग आउन किन लाज मान्नुपर्‍यो,’ प्रचण्डले भने, ‘कता हो कता जानुभएको छ, त्यो ठाउँभन्दा यही ठाउँ रमाइलो छ । तपाईंलाई माया गर्ने र अगाडि बढाउने मान्छे यहीँ छन् ।’ उनले देवेन्द्र पौडेल माओवादी प्रवेश गरेर सांसद भएको भन्दै आवश्यकता परे मन्त्रीसमेत हुने बताए । बाबुराम माओवादीमा आए कुनै भेदभाव नगरिने उनको भनाइ थियो ।

बाबुरामप्रति घृणा छैन आफू कुन कित्तामा हो भन्ने
छुट्याउन बाबुरामलाई प्रचण्डले आग्रह गरेका छन् । एउटा जनताको रगत पसिनाबाट आर्जित समाज र देश हुने भन्दै उनले राजा महाराजा वा अलौकिक शक्तिबाट निर्माण गरेको समाज र देश पनि हुने बताए । ‘जनताले निर्माण गरेको समाजको कित्तातिर हो कि राजा महाराजाले निर्माण गरेको कित्तामा हो,’ प्रचण्डले भने, ‘आफ्नो कुन कित्ता हो त्यो छुट्याउन बाबुरामजीलाई अनुरोध गर्दछु ।’ बाबुरामप्रति आफ्नो कुनै घृणा नभएको भन्दै प्रचण्डले घृणा भएको भए २५ वर्षसम्म झेलेर बोक्न सम्भव नहुने तर्क गरे ।

देश दक्षिणपन्थी र वामपन्थी ध्रुवीकरणतर्फ
प्रचण्डले देश दक्षिणपन्थी र वामपन्थी ध्रुवीकरणमा गएको बताए । यो ध्रुवीकरणले ऐतिहासिक अवसर सिर्जना गरेको उनको तर्क छ । ‘आगामी दिन समृद्ध नेपालका निर्माणमा लडाइँकेन्द्रित हुनेछ,’ प्रचण्डले भने, ‘सहमति समझदारी गर्दै समृद्धिको लडाइँ जित्नै दबाब छ ।’

प्रचण्डले नयाँ परिस्थितिमा बनेको वाम गठबन्धनलाई औसत मान्छेले बुझ्न नसक्ने तर्क गरे । यस्तो परिस्थितिलाई अलि अग्लो डाँडामा बस्ने मान्छेले मात्रै बुझ्न सक्ने उनको भनाइ छ । ‘समाजवादको आधार निर्माण गर्न थोरै मान्छेले मात्र सम्भव हुँदैन, लाखौँ करोडौँ मान्छेको आवश्यक पर्छ । यस्तो अवस्थामा जनतालाई एकताबद्ध गर्नुपर्नेछ,’ प्रचण्डले भने, ‘सिद्धान्तका चिराचिरा हेर्न थाल्नुभयो भने दिमाग खराब हुन्छ ।’

रसियाको उदाहरण दिँदै उनले बोल्सेबिक र मेल्सेबिकबीच बहस हुँदै गर्दा एकले अर्कालाई दक्षिणपन्थी, अराजकतावादी, व्यक्तिवादी मनपरी ढंगले भन्ने गरेको बताए । ‘यसरी सिद्धान्तको कुरा गर्दा पार्टी फुट्यो, फुटपछि लेनिनले मजदुरले मिल भनेका छन्, अरू कुरा थाहा छैन भनेपछि एकताबद्ध भएका थिए,’ प्रचण्डले भने, ‘नेपालमा पनि माओवादी फुटेको जनताले रुचाएका छैनन् । जनताले फेरि मिल भनेका छन्, हामी मिल्नुपर्छ, मिलेपछि पार्टीभित्र जति बहस छलफल गरे पनि हुन्छ।’ (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्