कान्तिपुरविरुद्धको अवहेलना मुद्दा फुलकोर्टमा



कान्तिपुरविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ वृहत् पूर्ण इजलासबाट हुने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मुद्दाका विषयको संवेदनशीलतालाई ध्यान दिँदै वृहत्तर दायरामा हेरिनुपर्ने भएकाले वृहत् पूर्ण इजलासमा लैजाने आदेश जारी गरेको हो ।

अदालतको अवहेलना मुद्दामा कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीको बयान सकिएको छ । मंगलबार बयानका क्रममा प्रधान सम्पादक शर्मालाई ३२ वटा प्रश्न सोधिएको थियो । जसमा अदालतको अवहेलना र प्रेस काउन्सिलको निर्णयलाई मान्नुहुन्छ कि हुन्न, प्रधानन्यायाधीशको समाचार लेख्दा अवहेलना हुन्छ कि हुँदैन, प्रेस स्वतन्त्रता असीमित हुन्छन् कि यसका सीमारेखा हुन्छन् ? यो मुद्दामा क्षमा माग्नुहुन्छ कि हुन्न ? लगायतका प्रश्न सोधिएका थिए ।

प्रधानसम्पादक शर्माले आफूले अदालतको सम्मान गर्ने र न्यायालयप्रति सधैँ विश्वास रहेको तथा कान्तिपुरले समाचार प्रकाशन गरेर अदालतको अवहेलना नगरेको जिकिर गरे । उनले अदालतको मानहानी गरेको नभई प्रधानन्यायाधीशको व्यक्तिगत विषयमा समाचार लेख्दा अवहेलना नहुने जिकिर गरेका थिए । यथेष्ट प्रमाणका आधार कान्तिपुरले समाचार प्रकाशन गरेकाले अदालतको अवहेलना नहुने उनको भनाइ थियो । अधिवक्ता तोयानाथ ढुंगानाले १३ फागुनमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध समाचार लेखेको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गरेका थिए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्