त्रिवि मानविकी संकायमा खेल विज्ञान र पर्यटनमा स्नातकोत्तर



त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा पहिलोपटक स्पोर्टस् साइन्स र टुरिजम एन्ड हस्पिटालिटी स्टडिज कार्यक्रम सुरु गरेको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले स्पोर्टस् र टुरिजम क्षेत्रमा धेरै अवसर रहेकाले विज्ञ जनशक्ति उत्पादन गर्न कार्यक्रम सुरु गरेको बताए । केन्द्रीय विभागहरूबाट सञ्चालन हुने दुईवटा नयाँ कार्यक्रमको भर्ना प्रक्रिया सुरु भइसकेको छ । त्रिविले कम्तीमा दोस्रो श्रेणीमा स्नातक उत्तीर्ण भएका व्यक्तिले दुवै विषय अध्ययन गर्न पाउने व्यवस्था गरेको छ ।

टुरिजमलाई समाजसँग जोडेर पढाइने
पर्यटन तथा आतिथ्य अध्ययनका संयोजक प्रा. घनश्याम भट्टराईले अहिले सञ्चालन भएका विषयभन्दा फरक ढंगले पर्यटनको कोर्स डिजाइन भएको बताए । अहिलेसम्म पर्यटन र अतिथि सत्कार विषय स्नातकोत्तर तहमा होटेल म्यानेजमेन्टलाई जोडेर पढाउने गरिएकोमा अब समाजसँंग जोडेर अध्यापन हुने भएको छ । भट्टराईका अनुसार यो कोर्स आधुनिक प्रविधिको प्रयोग गरेर विद्यार्थीको सहभागितासहित अध्यापन हुनेछ । नेपालमा पर्यटकीय सम्भावना धेरै रहेकाले यसको पढाइले विद्यार्थी र राष्ट्रलाई फाइदा पुग्ने उनले बताए । यो कार्यक्रमबाट अरूभन्दा फरक ढंगले उच्चस्तरको जनशक्ति उत्पादन हुने उनको दाबी छ ।

खेल क्षेत्रका विज्ञ उत्पादन हुने
खेलको पृष्ठभूमि भएका र जुनसुकै विधामा स्नातक उत्तीर्ण गरेकाले पनि स्नातकोत्तर तहमा खेल विज्ञान विषयमा भर्ना हुन पाउने व्यवस्था गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा. गंगाबहादुर थापाले अब नेपालमा खेल क्षेत्रमा अनुसन्धान हुने बताए । स्पोर्टस् साइन्सका संयोजकसमेत रहेका थापाले भने, ‘खोज–अनुसन्धान नभएकाले पनि नेपाल खेलमा पछाडि परेको हो, अब विज्ञ उत्पादन हुन्छन् र अनुसन्धान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्