सद्भाव विगारे रेशम चौधरीलाई स्थानान्तरण गर्ने चेतावनी



धनगढी : प्रदेश नम्बर ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले कारागारबाट टीकापुरको सद्भाव विगार्ने प्रयत्न गरे रेशम चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने चेतावनी दिएका छन। सोमबार आफ्नो १८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मन्त्री शाहले यस्तो चेतावनी दिएका हुन। ‘कारागार भित्रै आमरण अनसन सुरु गरेर टीकापुरको सद्भाव भड्काउने काम भइरहेको थाहा पाएको छु, त्यसो गरियो भने रेशमको अन्तर कारागार सरुवा गर्र्नुको विकल्प रहदैन’ मन्त्री शाहले भने।

मन्त्री शाहले, रेशम टीकापुर घटनाका योजनाकारको आरोप लागेका ब्यक्ति भएको र उनले आफै न्यायालय समक्ष आत्मसमर्पण गरेकाले न्यायालयको आदेशको पालना गर्नुपर्ने बताए। फागुन १४ गते कैलाली जिल्ला अदालतमा रेशम चौधरीले आत्मसमर्पण गरेका थिए। उनलाई न्यायाधीस परसुराम भट्टराईको ईजलासले पुर्पक्षका लागि थुनामा पठाएको छ।

रेशम चौधरी प्रतिनिधि सभामा कैलाली निर्वाचन १ बाट जितेका थिए। उनले वारिस मार्फत प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र मागगर्दै आएका थिए तर उनलाई निर्वाचन आयोगले प्रमाण पत्र दिएको छैन। रेशमलाई प्रमाणपत्र दिनुपर्ने र टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका २४ जनाको रिहाईको मागगर्दै रेशम सहितका उनीहरु कैलाली कारागारमा आमरण अनसन सुरु गरेका छन।

रेशमले राज्यले पक्राउ पुर्जी जारी गरेका नबराज सिलवालले प्रमाणपत्र पाउने तर आफुले किन नपाउने भन्दै आमरण अनसन सुरु गरेको बताए। जेलमा रहेका राजपाका नेता लक्ष्मण चौधरी, थारु कल्याणकारिणी सभाका अध्यक्ष लाहुराम चौधरी सहितका २४ जनाले आईतबार बेलुकी देखि आमरण अनसन सुरु गरेका छन।

यस्तै थरुहट÷थारुवान संघर्ष समितिले पनि प्रेस विज्ञप्ती प्रकाशित गर्दै टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका रेशम चौधरी सहितका बन्दीहरुले सुरु गरेको आमरण अनसन प्रति एक्यवद्धता जनाएको छ। संघर्ष समितिका प्रवक्ता माधव थारुले प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय, प्रदेश र प्रतिनीधि सभाको चुनाव सम्पन्न भै सरकार समेत गठन भैसकेको अवस्थामा राज्यको शासन शैली, बोली, व्यवहार र सोचमा परिवर्तन आउन नसकेको उल्लेख छ।

‘प्रतिनिधि सभामा देशभरीमै ऐतिहासिक जीत हासिल गरेका रेशम चौधरीलाई सोधपुछका लागि भन्दै जेल चलान गरिएको छ। टीकापुर घटनाका आरोपितहरुलाई पुर्पक्षको लागि भन्दै अढाई वर्षसम्म कारागारमा थुन्ने काम भएको छ भने अर्कोतिर थारुहरुको घर जलाउने अपराधीहरुलाई राज्यद्वारा नै संरक्षित गर्ने काम भैरहेको छ’ विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्तीमा आमरण अनसनकै क्रममा हुन सक्ने प्रतिफलको जिम्मेवारी राज्यको हुने र तत्काल टीकापुर घटनाका बन्दीहरु रिहा नगरे कडा आन्दोलनमा जाने चेतावनी दिईएको छ।

जनमन शान्ति अभियान गरिने

यस्तै, प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले गृहमन्त्री सँग जनताको गुनासो सम्बन्धमा सिधा सम्पर्कको ब्यवस्था गरि ‘जनमन शान्ति अभियान’ को सुरुवात गरिने बताएका छन्।

उनले मन्त्रालयमा प्रविधियुक्त स्वचालित कार्य प्रणाली लागु गर्ने, मन्त्रालयको वेवसाइट निर्माण गरी सूचना प्रवाहको ब्यवस्था मिलाउने, प्रदेशको आन्तरिक सुरक्षा नीति बनाउने, प्रदेशको शान्ति सुरक्षाका लागि पाश्र्वचित्र तयार पार्ने, प्रदेशभीत्र चुस्त ट्राफिक ब्यवस्थापन गर्ने, सुरक्षाको हिसाबले संवेदनशील मानिएका क्षेत्रलाई सीसी क्यामेराको निगरानीमा राख्ने प्रतिवद्धता ब्यक्त गरे।

यस्तै विपद ब्यवस्थापनका लागि प्रदेश स्तरीय रणनीति तयार पार्ने, सार्वजनिक सम्पत्तीको अभिलेख अध्यावधीक पार्ने, समाजमा रहेका सुरक्षालाई खलल पार्ने कार्यलाई निरुत्साहीत गर्न रणनीति बनाउन,े सार्वजनिक सेवा प्रवाहलाई चुस्त पार्ने, सीमा क्षेत्रमा नागरिक सहायता कक्षको ब्यवस्थ ागर्ने भ्रष्टाचारलाई सुन्य सहनसीलताको नीति अवलम्बन गरी अनियमीततालाई निरुत्साहित गर्ने लिखि प्रतिवद्धता मन्त्री शाहले गरेका छन। (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्