आआफ्नै भेषभूषासहित ११ भाषामा सपथ



काठमाडौं – संघीय संसद्का सदस्यको सपथग्रहण समारोहमा आआफ्नै मौलिक भेषभूषामा उपस्थितमध्ये ५० जनाले नेपाली भाषाबाहेक आआफ्नो मातृभाषामा सपथ लिएका छन्।

संघीय संसद् भवन बानेश्वरमा उपस्थित प्रतिनिधिसभाका २ सय ७१ मध्ये ४७जनार राष्ट्रियसभाका ५५ मध्ये ३ जनाले मातृभाषामा सपथ लिएका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा चार सदस्य सपथमा अनुपस्थित थिए ।मनोनीत तीनसहित राष्ट्रियसभा ५९ सदस्यीय छ । मनोनीत तीनजनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।राष्ट्रियसभामा निर्वाचित ५६ मध्ये एक सदस्य सपथमा अनुपस्थित थिए।

प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्य क्रमशः महन्थ ठाकुर र तारादेवी भट्टले नेपाली भाषामा सपथको बेहोरा पढे पनि ५० जनाले आ–आफनै मातृभाषामा सपथ लिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । ‘संघीय संसद्का ५० जना माननीय सदस्यले नेपालीबाहेक १० वटा आ–आफनै मातृभाषामा सपथ लिनुभएको छ,’ गौतमले नागरिकसँग भने, ‘यति धेरै भाषामा सपथ लिएको यो पहिलो पटक हो ।’ उनका अनुसार सदस्यहरुको मागअनुसार आ–आफ्नै मातृभाषामा सपथ लिने व्यवस्था गरिएको थियो । प्रतिनिधिसभा सदस्य सपथ कार्यक्रमको अध्यक्षता गरेका ठाकुरले भने राष्ट्रपति विद्याभण्डारीसमक्ष सपथ लिएका थिए । उनले मैथिली भाषामा सपथ लिएका थिए । यसैगरी राष्ट्रिसभा सदस्य सपथ कार्यक्रमको अध्यक्षता गरेकी भट्टले पनि राष्ट्रपतिसमक्ष नेपाली भाषामा सपथ लिएकी थिइन्।

प्रतिनिधिसभाका १८ र राष्ट्रियसभामा १ जना गरी १९ सदस्यले मैथिलीतथा दुवै सदनका १÷१ सदस्यले बज्जिका भाषामा सपथ लिए । नेपालीबाहेक मैथली र बज्जिका भाषा दुवै सदनमा रेकर्ड भएका छन् । ‘जनताको माग आफ्नै मातृभाषामा सपथ गरियोस भन्ने थियो, त्यसैले मैले मैथिली भाषामा सपथ लिएको हुँ, यसमा मलाई गर्व छ,’राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले भने।

महत्तोसहित संघीय समाजवादी फोरमका उपेन्द्र यादवलगायत १८ जनाले मैथिली भाषामा प्रतिनिधिसभा सदस्यको सपथ लिएका छन् । प्रतिनिधिसभामा फोरमका प्रदीप यादवसहित७ सदस्यले भोजपुरीमा, राजपाका अनीलकुमार झालगायत ७ जनाले हिन्दीमा, एमालेका गंगा चौधरी सत्गौवालगायत ६ जनाले थारुमा, वर्षमान पुन, ओनसरी घर्तीलगायत ३ जनाले मगर भाषामा र राजेन्द्र श्रेष्ठलगायत २ जनाले नेपाल भाषा (नेवारी)मा सपथ लिए।

माओवादी सांसद रामेश्वर राय यादवले बज्जिका, माओवादीकै हितबहादुर तामाङले तामाङ, फोरमकी रुही नाजले उर्दु भाषामा र सोही दलका मोहमद इस्तियाक राईले अबधी भाषामा सपथ लिए।

‘थारु समुदायको सांस्कृतिक पोसाकमा उपस्थित भएँ र आफनो मातृभाषा थारुमै सपथ लिएँ,’ एमाले सांसद सत्गौवाले भनिन्, ‘आफ्नो मातृभाषामा सपथ लिदाँको आनन्द बेग्लै हुँदोरहेछ ।’ उनका अनुसार पहिचानका लागि संघर्ष गरेकाले त्यसलाई व्यावहरतः संसद्मा प्रस्तुत गरिएको हो।

राष्ट्रियसभा सपथ कार्यक्रममा उपस्थित ५५ मध्ये २ जनाले मैथिली र १ जनाले बज्जिका भाषामा सपथ लिएका छन् । राष्ट्रियसभाका एक सदस्य रमेशकुमार यादव सपथमा अनुपस्थित थिए । राष्ट्रियसभामा मनोनीततीनजना युवराज खतिबडा, रामनारायण बिडारी र विमला पौडेललाई भने तत्काल सपथ नगराउन सर्वोच्च अदालतले आदेश दिएको थियो।
सपथमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी दर्जन बढी सांसदआ–आफनै मौलिक भेषभूषामा उपस्थित थिए । अधिकांश सांसदले भने दौरा–सुरुवाल लगाएका थिए। तर आआफ्नै भेषभूषामा सपथमा उपस्थितसांसद सबैको आकर्षण बनेका थिए । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने अधिकांशसांसद धोती र कुर्तामा उपस्थित थिए । तराईबाट प्रतिनिधित्व गरेका एमालेका रघुवीर महासेठ भने दौरा–सुरुवालमा थिए । एमालेकैसांसद् नवीना लामा तामाङ भेषभूषामा थिइन् । सोही दलकागंगा चौधरी,शान्ति चौधरीलगायत थारु भेषभूषामाथिए । संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ नेवारी पोसाक (तपाः लँसुरुवाः) मा देखिए । माओवादी सांसद ओनसरी घर्तीमगर समुदायकोपरम्परागत पोसाकमा थिइन् ।
संघीय फोरमका सांसद प्रदीप यादव र एमालेका मोतीलाल दुगड भने पगरीसहित उपस्थित भए ।सांसद रुही नाजमुस्लिम भेषभूषामा थिइन्।

‘सांसदले यो संसद्सबैको हो भन्ने सन्देश आज (आइतबार) विभिन्न भाषामासपथ लिएर तथाआआफ्नो मौलिक भेषभूषामा उपस्थित भएर दिएका छन,’ राजपा अध्यक्ष मण्डलका नेता अनीलकुमार झाले भने, ‘यो नेपाल सबैको बनाउन सांसदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’

सपथमा प्रतिनिधिसभातर्फ महेन्द्रराय यादव, टोपबहादुर रायमाझी, धर्मशिला चापागाईं र रेशमलाल चौधरी अनुपस्थित थिए ।टीकापुर घटनाका आरोपी चौधरी राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित भएका हुन् । उनी अहिले पुर्पक्ष थुनामा छन् । माओवादी सांसद रायमाझी बाबुको काजकिरियामा छन् । रहेका माओवादीकै सांसद चापागाईं पनि पिताको मृत्यु भएपछि अनुपस्थित भएकी हुन्।

प्रतिनिसभाका सदस्यले अपराह्न पौने पाँच बजे र राष्ट्रियसभाका सदस्यले साढे पाँच बजे सपथ लिएका थिए । संविधानको धारा ८८ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७५ बमोजिम सपथ गराइएको हो । सपथ ग्रहणमा उपस्थित सांसदहरू सत्तापक्ष र प्रतिपक्षको भूमिकामा नभई स्वतन्त्र तरिकाले बसेका थिए । संसदीय परम्परा अनुसार संसद्मा सभामुखको आसनदेखि देब्रेतर्फ प्रतिपक्ष र दाहिनेतर्फ सत्तापक्ष बस्छन्।

नेता नेपालको गाडीमा सिलवाल
नेपाल प्रहरीले खोजीको सूचीमा राखेका एमाले सांसद नवराज सिलवाल पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै संसद् भवन पुगेका थिए । दुवैजना नेपालको गाडीमा थिए।

नेपालको गाडीबाट ओर्लेर संसद् भवन छिरेका पूर्व डिआइजी सिलवालले नेपाली भाषामा सपथ लिए । गत शनिबार एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकमा एक्लै पुगेका सिलवाल सपथ समारोहमा भने नेता नेपालसँग पुगे । एमालेको टिकटमा सिलवाल ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रहरी महानिरीक्षकका दाबेदार सिलवाल पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो पदमा बढुवा नपाएपछि सेवाबाट राजीनामा दिएर एमाले प्रवेश गरेका हुन् । सेवामा रहँदा प्रहरीभित्रको कार्य सम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा उनलाई प्रहरीले खोजिरहेको छ ।
विभिन्न भाषामा सपथ (प्रतिनिधिसभा)
नेपाली भाषा–२२४
मैथिली– १९
भोजपुरी–७
हिन्दी–७
थारु–६
मगर–३
नेवारी–२
बज्जिका– १
अबधी–१
उर्दु–१
(प्रतिनिधिसभा सदस्य सपथ कार्यक्रमको अध्यक्षता गरेका महन्थ ठाकुरले राष्ट्रपतिसमक्ष मैथिली भाषामा सपथ लिएका थिए ।)
राष्ट्रियसभा
नेपाली– ५२
मैथिली–२
बज्जिका–१

(नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्