पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज आउँदै



काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदैछन् । प्रधानमन्त्री केपी ओलीसँग अब्बासीले गर्ने भेटवार्ता सार्क सक्रिय बनाउनेमा केन्द्रित हुने अनुमान गरिएको छ ।

नेपालमा १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनपछि सरकार प्रमुखका रूपमा पहिलो पटक पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपाल आउँदै छन् । अब्बासीको भ्रमण र एजेन्डाबारे नेपालले केही उल्लेख नगरे पनि पाकिस्तानले भने सार्क दक्षिण एसियाको महत्वपूर्ण क्षेत्रीय संगठन भएकाले यसलाई प्रभावकारी बनाउन छलफल हुने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । १९ औं सार्क सम्मेलन सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा गर्ने तय भए पनि अन्तिम समयमा भारतले सहभागी नहुने सूचना दिएपछि स्थगन भएको थियो ।

पाकिस्तान १९ औं सार्क सम्मेलन आफ्नै देशमा गराउन चाहन्छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच सार्क सम्मेलन आयोजनासम्बन्धमा विशेष छलफल हुने बताइएको छ । एमाले नेता एवं परराष्ट्रविद् डा.राजन भट्टराईले काठमाडौंमा आयोजित एक कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणमा सार्कलाई सामुहिक रूपमा कसरी अघि बढाउन सकिन्छ छलफल हुने संकेत गरे । उनले भने, ‘सार्क प्रभावकारी बनाए सबै सदस्य राष्ट्रको हित हुनेछ ।’

प्रधानमन्त्री केपी ओली र पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीबीचको भेटवार्ता सार्क सम्मेलन आयोजना र सार्कलाई प्रभावकारी बनाउनमा केन्द्रित हुने

पूर्वराजदूत डा.सुरेशचन्द्र चालिसेले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण नेपाल सरकारकै अनुरोधमा हुन लागेकाले यसबाट आशंका उब्जिएको टिप्पणी गरे । उनले भने, ‘यसले कूटनीति सन्तुलित होइन कि भन्ने शंका उपशंका पैदा गरेको छ ।’ पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले दुवै देशको चाहनाअनुसार पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण हुन लागेको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीकै चाहनामा अब्बासी नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । पाकिस्तानले पनि नेपालमा आफूलाई सक्रिय बनाउन खोजेको यो भ्रमणले संकेत गर्छ ।’

प्रधानमन्त्री अब्बासी सोमबार दिउँसो करिब ३ बजे विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिने जनाइएको छ । उनीसँग पाकिस्तानका विदेशमन्त्री, विदेश सचिव, विदेश मन्त्रालयका प्रवक्तासहित एक दर्जन वरिष्ठ अधिकारी आउँदैछन् । आकस्मिक रूपमा हुन लागेको अब्बासीको भ्रमणबारे दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमणको अघिल्लो दिन आइतबार मात्र प्रेस विज्ञप्ति जारी गर्दै औपचारिक जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय हितबारे वार्ता हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले सोमबार साँझ अब्बासीको स्वागतमा रात्रीभोज आयोजना गरेका छन् ।

पाकिस्तानले छिमेकीसँग सम्बन्ध सुदृढ र प्रभावकारी बनाउने आफ्नो परराष्ट्र नीतिअनुसार अब्बासीको नेपाल भ्रमण हुन लागेको जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो भ्रमणले दुई देशबीचको व्यापार, शिक्षा, पर्यटन, रक्षा र नागरिक सम्बन्ध थप विस्तार गर्न महत्वपूर्ण योगदान दिनेछ ।’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ सरकार गठन भएकोमा नेपाली नेताहरूलाई र प्रधानमन्त्री ओलीलाई बधाई दिने विज्ञप्तिमा उल्लेख छ।

अब्बासी मंगलबार बिहान स्वदेश फर्किनेछन् । उनले स्वदेश फर्किनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने जनाइएको छ । अब्बासीको प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग बाहेक अरु कुनै उच्चस्तरीय भेटघाट कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ओली प्रधानमन्त्री भएपछिको यो नै कुनै राष्ट्र प्रमुखको पहिलो नेपाल भ्रमण हो । ३ वर्षअघि काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ काठमाडौं आएका थिए । त्यसपछि पाकिस्तानका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । त्यहाँको सर्वोच्च अदालतले सरिफलाई भ्रष्टाचारमा दोषी ठहर गरेपछि अब्बासी प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्