सरकारको बिरोध गरिहाल्नुपर्ने जरुरी छैन: सिटौला



काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ७ नम्बर प्रदेशको राजधानी डोटी नबनाएर यहाँका जनतामाथि अन्याय भएको जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने ‘सरकारको निर्णयले डोटेली जनतालाई अन्याय भएको मैले महसुश गरेको छु ।’ आफ्नै साथीभाईहरु भएको मन्त्रीपरिषद्ले गरेको निर्णय र त्यसमा पनि मन्त्री बिरबहादुर बलायर डोटीकै भएको मन्त्रिपरिषद्ले गरेको निर्णय भएकाले यसमा आफुले धेरै टिप्पणी नगर्ने उनले बताए ।

बदलिँदो राजनीतिक परिस्थितिका बारेमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको धारणा बुझ्नका लागि प्रदेश नं. ७ को अनौपचारिक भ्रमण गर्ने क्रममा आईतबार डोटी पुगेका सिटौलाले नेपाली कांग्रेसले वर्तमान सरकारप्रति गुण र दोषको आधारमा व्यवहार गर्ने बताए । ‘अहिले नै सरकारको बिरोध गरिहाल्नु पर्ने जरुरी छैन’ सिटौलाले भने ‘एक सय दिनको त हनिमुन अवधि नै हुन्छ, त्यसपछि सरकार कसरी अगाडि बढ्छ, त्यसै आधारमा हाम्रो समर्थन वा बिरोध हुन्छ ।’ नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालका राजनीतिक दलहरुमा सामन्तिकरण र व्यापारीकरणको भावना रहेको बताएका छन् ।

‘दलहरुमा रहेको सामन्तिकरण र व्यापारीकरणबाट दलहरु मुक्त हुन सके मात्र देशमा आमूल परिवर्तन हुन सक्छ’ सिटौलाले भने ‘सामन्तिकरण र व्यापारीकरण सबै ठुला दलहरुमा रहेको छ ।’ संघीयताको बिषयमा बिभिन्न खालकाका प्रश्नहरु उठ्ने गरेको बताउँदै सिटौलाले यदि दलहरु इमान्दार हुने हो भने संघीयता दिगो हुन्छ ।’

नेपाली कांग्रेस निर्वाचनमा पराजित हुनुको मुख्य कारण रणनीतिगत असफलता भएको बताए । ‘शक्ति संचयको दृष्टिले हामीहरुमा रणनीतिक कौशलता भएन’ सिटौलाले भने ‘कांग्रेस नयाँ परिस्थिति अनुसार विचारले, नीतिले कार्यक्रमले अब परिवर्तन हुनु पर्छ ।’

‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौँ, उनको छोरीलाई जितायौँ र पनि उनलाई आफुसंगै राख्न सकेनौँ, महन्त ठाकुरलाई सघायौँ उनले हामी माथि नै आक्रमण गरे’ व्यंग्यात्मक शैलीमा सिटौलाले भने ‘राजावादीलाई बोकेर मन्त्री बनायौं, उनीहरुले उल्टो मलाई नै हराई दिए ।’ यस्तै यस्तै कारणले कांग्रेस पराजित भएको उनको भनाई छ ।

नेपाल प्रेस युनियन डोटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ । राष्ट्रपति निर्विरोध त कहाँ हुन दिईन्छ र ?’ (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्