प्रचण्ड भन्छन्: ठुलो क्रमभंगतापछि एकै थालमा खान थाल्यौँ



काठमाडौः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले इतिहासको कालखण्डमा कहिले माओवादी त कहिले एमाले उग्रपन्थी र दक्षिणपन्थी भएको बताएका छन् ।

‘२०२८ सालमा तत्कालिन मालेलाई उग्रपन्थीको आरोप लाग्थ्यो, भने हामीलाई दक्षिणपन्थीको, जब मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यदिशा ल्याउनुभयो, एमाले बहुदलीय प्रतिस्पर्धामा लाग्यो’, संसद सचिवालयमा एमाले र माओवादीका सांसदलाई प्रशिक्षण दिदै अध्यक्ष दाहालले भने, ‘हामी फेरि जनयुद्धमा लाग्यौं, कहिले हामी र कहिले एमालेले उग्रपन्थ र दक्षिणपन्थको आरोप खेप्नु परेको छ ।’

उनले एमाले र माओवादीका नेताबीचमा लामो समयदेखि नै पार्टी एकताको अभ्यास भएको पनि दाबी गरे । दहालले एमाले र माओवादीको सम्झौतापछि नै १२ बुँदे सहमति भएको खुलासा गरे ।

‘एमाले र माओवादी बीच दुईपटक सम्झौता भयो, त्यसपछि मात्रै १२ बुँदे सहमति भएको हो’, अध्यक्ष दाहालले भने । उनले लामो समयदेखि एकताका प्रयास नेतृत्व तहमा भए पनि तलसम्म पुर्‍याउन भने नसकिएको बताए ।

दाहालले वैचारिक कुरामा अड्किएको भए अझै दशकौँ एकता हुनसक्ने अवस्था नरहेको बताए । उनले ठूला-ठूला विश्वविद्यालयले गर्न नसकेको काम आफूहरुले डेढ महिनामै गरेर विश्व समुदायलाई चकित बनाइदिएको बताए ।

‘वैचारिकमा अड्किएको भए अहिल्यै एकता हुन्न थियो, हामीले बुझ्यौँ कि अहिले वैचारिक कुरा लाग्ने बेला होइन’, उनले भने, ‘ठूला ठूला विश्वविद्यालयले गर्न नसकेको काम डेढ महिनामै गर्‍यौं, यो त सामान्य कुरा होइन ।’

माओवादी अध्यक्ष दाहालले वाम गठबन्धनले छोटो समयमा नै एमाले र माओवादीका नेता कार्यकर्ताबीच प्रगाढ सम्बन्ध बनेको बताए । उनले भने, ‘एकले अर्कालाई हेर्न नचाहने र सँगै बस्न नचाहने अवस्था थियो, तर अहिले एउटै थालमा खान थालेका छौँ ।’

उनले देश धनी नभएसम्म समाजवाद आउन नसक्ने पनि दाबी गरे । अध्यक्ष दाहालले समाजवादको गन्तव्यमा पुग्न धेरै चुनौती रहेका पनि स्मरण गराए । ‘राष्ट्रिय पुँजी संकलन गरी देशलाई धनी बनाउन सकिएन भने समाजवादको कुरा हवाई कल्पना मात्रै हुन्छ,’ उनले भने ।

दाहालले तत्काल सुशासन र समृद्धि वाम सरकारको लक्ष्य भएको बताए । उनले समाजवादको लक्ष्यमा पुग्न आर्थिक समृद्धि र विकासलाई उचाईमा पुरु्‍याउन सक्नु पर्ने बताए । उनले सामाजिक न्याय, समावेशिता र समानुपातिक विकासको परिकल्पनाले समाजवादको गन्तव्यमा पुग्न सकिने बताए ।

दाहालले वाम एकताले विश्वमा नै आंतक-तरङ्गको छाल पैदा भएको बताए । ‘हाम्रो एकता होला भनेर कसैले सोचेका थिएनन्, हामीले ऐतिहासिक पहलकदमीमा पार्टी एकता गर्दैछौँ”, दाहालले भने, ‘यसले विश्व समुदायमा आंतक, तरङ्ग र छाल पैदा भएको छ ।’

उनले वाम एकताले ७० वर्षको जनताको सुशासन र स्थायित्वको सपना पुरा हुने बताए । अध्यक्ष दाहालले अब मुलक नयाँ युगमा पनि प्रवेश गर्ने बताए । उनले एमाले-माओवादी देशको विकास र समृद्धिका लागि साझा संकल्प र प्रतिवद्धताका साथ अघि बढेको बताए ।

दाहालले समृद्धि र विकासका लागि सांसदहरुले नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने बताए । ‘अब हामी बद्लिन सक्नु पर्छ ,सुशासन, स्थायित्व र विकास र समृद्धिका लागि सबै लाग्नु पर्छ’, दाहालले भने । उनले अब राजा-महाराजाको जमाना गएको बताउँदै श्रमजीवी जनताको राजको नयाँ युगमा प्रवेश गरेको बताए ।

एमाले-माओवादी एकता केही दिन भित्रै हुने दाबी समेत दाहालले गरे । ‘केही दिनमै पार्टी एक हुन्छ, संसदीय दल एक हुन्छ’, उनले भने । एमाले र माओवादी एकता निरन्तरताको क्रमभंगता भएको उनले बताए । एमाले र माओवादीको संसदीय दल बैठक संयुक्त हुनु पनि क्रमभंगता भएको दाहालको जिकिर थियो । ‘यो ठूलो क्रमभंगता हो’, दाहालले भने । (अन्नपूर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्