अमेरिकी राजदूतलाई ओलीको प्रश्न: वाचा गरेको सहयोगको काम किन थालिएन ?



काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद दिँदै अमेरिकी सरकारले नेपालको विकासलगायत क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री ओलीले भेटका क्रममा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा गर्ने भनिएको लगानी नआएकोमा राजदूतसँग प्रश्न गरेका छन् । उनले यो परियोजना अन्तर्गत ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने वाचा अमेरिकाले गरेर पनि काम नथालेकोमा प्रश्न गरेका थिए ।

ओलीले ६३० मिलियन डलर दिन्छु भनेर पनि अमेरिकाले काम नथालेकोमा दु:ख व्यक्त गर्दै उक्त काम तत्काल सुरु गर्न राजदूत टेप्लिजसँग आग्रह गरेका छन् ।

राजदूतले भनिन्: हिम्मत गर्नुस्

राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

राजदूत टेप्लिजले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा हिम्मतका साथ सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी छन् ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदूतको ध्यानाकर्षण गराउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्