प्रदीप पौडेल भन्छन्ः शेरबहादुरले संसदीय दलको मोह त्यागे हुन्छ



काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने भएकोले पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा मोह त्याग्नुपर्ने बताएका छन् ।

‘हामी चाहन्छौँ दलको नेता सर्वसम्मतीमा चयन होस्, पार्टीभित्र बृहत्त एकताको खाँचो छ’, उनले भने, ‘अब गणितको कुरा गर्नुहुन्छ भने उहाँले नै टिकट दिएर सांसद बनेका भोटर्सहरु हुनुहुन्छ ।’

नेता पौडेलले जसको नाममा सर्वसम्मती जुट्छ उसैलाई दलको नेता बनाईनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सभापति देउवाको नाममा सर्वसम्मत हुने स्थिति देखिएको छैन, त्यसैले उहाँले बरु सर्वसम्मतिको लागि पहल गर्नु जायज हुन्छ।’

मुलुकमा राजनीतिक अवस्था बदलिएकोले अब कांग्रेसले पनि परिस्थितिको ठीक ढङ्गले आँकलन गर्दै आफूलाई बदल्नुपर्नेमा उनको जोड थियो । उनले थपे, ‘अब हिजो हामीले राखेका प्राथमिकताहरू आज अब बदल्नुपर्छ, कांग्रेसले अब नयाँ शिराबाट अघि बढ्नुपर्छ।’

उनले कांग्रेसलाई अब समयसापेक्ष रूपमा सुधार गर्दै अघि बढाउनुपर्ने धारणा राखे । त्यस्तै उनले सोही अनुसार नेतृत्व पनि परिवर्तन गर्नुपर्ने बताए । पौडेलले भने,‘अब शीघ्र महाधिवेशनमा पार्टीलाई लैजानुपर्छ, केन्द्रीय कार्यसमितिमा बृहत्त र गहिराइमा समीक्षा हुनुपर्छ, तर यसको लागि नेतृत्व समीक्षा गर्न तयार भएन्, यो दुःखको कुरा हो।’

मुलुकमा परिवर्तन ल्याउन र ठुला–ठुला उपलब्धि हाँसिल गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसलाई जनताबाट किन मत आएन् ? किन मत दिएनन् ? भन्ने कुराको समीक्षा गर्नुपर्ने पौडेलको भनाई थियो । उनले थपे, ‘त्यसैले अब कार्यसमिति बसेर तत्काल महासमिति बैठक बोलाउनुपर्छ, महासमितिले शीघ्र महाधिवेशन गर्नुपर्छ भनेर हामी प्रयत्न गरिरहेका छौँ।’

आगामी ५ वर्षको लागि कांग्रेसको भूमिका पूर्ण प्रतिपक्षमा बस्ने भएकोले त्यही अनुसार संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पौडेलले बताए । उनले थपे, ‘सरकारका राम्रा कामहरूलाई हामी रचनात्मक रूपमा सहयोग गर्छौँ।’ मुलुकमा संक्रमणकालिन अवस्था समाप्त भएकोले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई विकास र समृद्धिको यात्रामा अघि बढ्न अब कुनै बहाना नभएको उनले जिकिर गरे । (अन्नपूर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्