विद्युत् क्षमता बढाउन डेढ करोडको ट्रान्सफर्मर



धरान, १८ फागुन

भारवहन क्षमताको प्राविधिक व्यवस्थापन नहुँदा घण्टौंसम्म विद्युत् आपूर्ति बन्द गर्नुपर्ने समस्याको निराकरण गर्न विद्युत् प्राधिकरणले धरान सबस्टेशनमा डेढ करोडको ट्रान्सफर्मर जडान सुरु गरेको छ । उक्त ट्रान्सफर्मर ८ एमभीए क्षमताको हो ।

गर्मी मौसम सुरु भएसँगै अन्यधिक विद्युत् खपत हुँदा विद्युतभार प्रयोग भइरहेको २ वटा पावर ट्रान्सफर्मरले थेग्न नसकेपछि नयाँ थपिएको प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख इञ्जिनियर दीपक सापकोटाले बताए । धरान बजार, सर्दु खोला आसपास, रेल्वे लाइन फिडरमा पटकपटक आउने ओभरलोडको समस्याले लोडसेडिङ नभए पनि विद्युत् अनियमित हुने गरेको छ । नयाँ ट्रान्सफरमर चालु भएपछि विद्युत् भोल्टेजमा सुधार भई वितरणमा गडबडी हुनेछैन । जडान कार्य साता दिनमा सकिने उनले बताए ।

उपमहानगरको २० वटा वडा र बराह नगरपालिकाको १ र २ वडा सहित हाल ३२ हजार ग्राहक संख्या रहेको प्राधिकरणको धरान केन्द्रअन्तर्गत वार्षिक ६ हजार ग्राहक थापिने क्रम जारी छ । यसअघि पुरानै संरचनामा रहेको धरान र बराह क्षेत्रको सबस्टेनशनमा क्षमता वृद्धि गरी ८ एमबीएको २ थान नयाँ ट्रान्समिटर जडान गरिएको थियो । उक्त थप ट्रान्समिटरले पनि भारवहन गर्न नसकेपछि थप नयाँ ट्रान्सफर्मर जडान गर्न थालिएको हो ।

यसअघि धरानको विद्युतमा हुने अनियमितता न्युनीकरण गर्न प्रसारण लाइनमा प्रयोग गरिएको दस वर्ष पुरानो तार १० किलोमिटर दूरीसम्म फेरिएको थियो । बढदो जनसंख्यासँगै बढेको विद्युत् भार ०.०३ स्क्वायरको तारले थेग्न नसक्ने भएकाले त्यसलाई हटाएर ०.५ इञ्चको डक तारमा स्तरोन्नति गरिएको हो ।

इञ्जिनियर सापकोटले भने, ‘लोडसेडिङ अन्त्य भए पनि विद्युत् आपूर्तिमा आउने गडबडीको पनि अन्त्य गर्ने प्रयासमा छौं ।’ सुधार कै क्रममा विद्युत् सेवालाई नियमित गर्न चालु आर्थिक वर्षमा २० किलोमिटर दूरीमा १ सय ७० थान सिमेन्टको पोल र ४० थान स्टीलको पोल स्थापना लक्ष्य राखिएको छ । सेवामा सुधारकै क्रममा ग्राहकको सुविधाका लागि धरानमा विद्युत् महसुल अनलाइन भुक्तानी सुरु गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०१८ जनवरी १ तथा पुस १८ गतेदेखि सुरु गरिएको अनलाइन भुक्तानीमा अहिलेसम्म १ हजार ५ सय ग्राहक जोडिएका छन् । प्रशासन प्रमुख राजकुमार थापाका अनुसार ‘महसुल बुझाउन कार्यालयमा आएर क्युमा बस्न नभ्याउनेहरूका लागि अहिले सहज भएको छ ।’ समयमा महसुल नबुझाउनेहरूको लाइन काट्ने काम पनि धमाधम भइरहेको उनले बताए । उनका अनुसार महसुल बक्यौता राख्ने २ सय ५७ जना ग्राहकको लाइन काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्