होली खेल्नुअघि र पछि



आज होली अर्थात् रङको पर्व । यस दिन एक–अर्कालाई प्रेमपूर्वक रङ छ्यापेर खुसी साटासाट गरिन्छ, सौहार्दता कायम गरिन्छ । तर, रङ खेल्नुपूर्व र पछि केही कुरामा भने ख्याल राख्न जरुरी छ । नत्र रङले अल्पकालीन र दीर्घकालीन समस्या निम्त्याउन सक्छ । लापर्बाही रूपमा होली खेल्दा आँखा, कान, कपाल, छाला, नङ, ओठमा अलि बढी असर पुर्याउन सक्छ ।

कस्तो ड्रेस उपयुक्त ?
होली खेल्दा टिसर्ट लगाउने योजना बनाउनुभएको छ भने फुल बाहुला भएको प्रयोग गर्दा राम्रो हुन्छ । टिसर्टको लेन्थ पनि फुल प्रयोग गर्नु उपयुक्त हुन्छ । जसले आकर्षक त देखाउँछ नै, शरीरको छालालाई पनि सुरक्षित राख्ने काम गर्छ ।
होलीमा कुर्ता र सुरवालको पनि प्रयोग गर्न सक्नुहुन्छ । कुर्ता लगाउँदा खुला लगाउनुस् । यस्तो कुर्ताको प्रयोगले होली खेल्न सजिलो हुन्छ । टाइट कपडा स्किनमा टाँसिने भएकाले रङ पनि टाँसिएर एलर्जी तथा छालाको रोग लाग्ने सम्भावना हुन्छ ।
त्यस्तै, टाउकोको सुरक्षाका लागि रुमालले पूरै र्याप गर्न सक्नुहुन्छ । सम्भव नभए कपाल मात्र पनि छोप्न सक्नुहुन्छ ।

कपडाको कम्बिनेसन
– सेतो टिसर्ट प्रयोग गर्नुभएको छ भने जिन्स पाइन्ट लगाउँदा राम्रो हुन्छ । जिन्समा हाफ पाइन्ट पनि लगाउन पनि सक्नुहुन्छ । निलो जिन्स र सेतो टिसर्टको कम्बिनेसन राम्रो देखिन्छ ।
– सकेसम्म तल र माथि एउटै कलरको कपडा नलगाउँदा राम्रो । यसो गर्दा कपडा सेन्स देखिँदैन ।
– लुज ट्राउजर र सेतो टिसर्ट पनि प्रयोग गर्न सक्नुहुन्छ ।

प्रयोग नगर्नुस्
– सिलकन प्रयोग भएका कपडा लगाउनु हुँदैन । सिल्क कपडा जिउमा टाँसिन्छ र जिउमा एलर्जी हुने डर हुन्छ । सिफनका कपडा पनि होलीमा प्रयोग गर्नु हुँदैन । त्यस्तै, नेटेड कपडा होलीका लागि राम्रो मानिदैन ।

होली खेल्नुअघि
– होली खेल्नुभन्दा केही समयअघि एसपिएफ सनस्क्रिन क्रिम प्रयोग गर्दा छाला सुरक्षित राख्न सहयोग पुग्छ ।
– अझ बढी सुरक्षित बन्न चाहनुहुन्छ भने त्यसमाथि पेट्रोलियम जेली पनि लगाउन सक्नुहुन्छ । यस्तो जेली शरीरका अन्य अंग जस्तै– कान, ओठलगायतमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।
– होली खेल्ने समयको बीचमा कुनै पनि प्रकारको क्रिम लगाउनु हुँदैन । यस्तो समय मेकअप गर्दा सजिलै रङ छालाभित्र पस्न सक्छ र असर पुर्याउँछ ।
– यस्तो वेला भेजिटेबल तेलको पनि प्रयोग गर्नु हुँदैन । किनभने, तेलको प्रयोगले रङको केमिकल छालामा प्रवेश गर्न सक्छ, जसले स्किनलाई हानि गर्छ । तर, नरिवलको तेललाई कपालमा चाहिँ प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा कपाल

सुरक्षित रहन सहयोग पुग्छ ।
– होली खेल्नुअघि कुनै पनि प्रकारका मेकअप गर्नु हुँदैन ।

कपालका लागि
– टाउकोको छालामा तेल लगाउनु हुँदैन । टाउकोमा तेल लगाउँदा रङको केमिकल छालामा टाँसिन्छ । जसले कपालको जरालाई कमजोर बनाउने काम गर्छ । यस्तो हुँदा अरू पनि समस्या निम्तिन सक्छ ।
– कपालमा भने राम्रोसँग तेल लगाउनुपर्छ । किनकि, रङले कपाललाई रुखो र कमजोर बनाउने काम गर्छ । होली खेल्नुअघि पूरै कपालमा राम्रोसँग तेल लागेको छ÷छैन भन्ने ख्याल गर्नुपर्छ । कपालमा लगाउनका लागि नरिवलको तेललाई उपयुक्त विकल्प मानिन्छ ।

ओठका लागि
– ओठको सुरक्षाका लागि तपाईंले लिपबाम प्रयोग गर्न सक्नुहुन्छ । यसको विकल्पमा कुनै लिपस्टिक पनि प्रयोग गर्न सक्नुहुन्छ ।
– तर, ओठमा यस्ता सामग्री प्रयोग गर्दा बढी चिपचिप भने हुनुहुँदैन । चिपचिप हुँदा रङ ओठमा चिप्कन सक्छ र मुखभित्र छिर्नेसमेत डर हुन्छ ।

नङका लागि
– होली खेल्नुपूर्व राम्रोसँग नङपालिस गर्नुपर्छ । क्युटिकल्स अर्थात् यसको आसपासको छालामा पनि नङपालिस लगाउनुस् । ताकि, नङको क्युटिकल्समा रङ नभरियोस् ।
– नङआसपासको क्षेत्रमा तेलको सट्टा पेट्रोलियम जेलीको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो वेला नङमा नरिवल, जैतुन, अरंडीको तेल प्रयोग गर्नुहुँदैन ।

होलीपछि छाला
– जुनसुकै प्रकारको रङ सफा गर्न सामान्य साबुन प्रयोग गर्नुस् । त्यो सायद क्लिन्जिङ क्रिममा आधारित साबुन प्रयोग गर्नुस् या अन्य प्रकारका तेल प्रयोग गर्न सक्नुहुन्छ । रङ हटाउन कहिल्यै पनि छाला नरगड्नुस् । आरामले साबुन र तेलले मसाज गर्नुस् । तत्पश्चात् मोस्चराइजर क्रिमको सहायताले छाला हाइड्रेट गर्न सक्नुहुन्छ ।
– दूधको पाउडर, पपिता र कागतीको जुसले पनि छालाको रङ हटाउन सक्नुहुन्छ । यस्तो मिश्रणलाई रङ लागेको ठाउँमा लगाउनुस् र आधा घन्टा छोडिदिनुस् । र, सफा पानीले सफा गर्नुस् ।
– केरामा एक–दुई चम्चा मह र नुन मिसाउनुस् । अनि रङ लागेको ठाउँमा यस्तो मिश्रणको प्रयोग गर्नुस् र त्यसपछि पानीले सफा गर्नुस् ।

कपाल
– तपाईंलाई लाग्न सक्छ, तत्काल कपालमा कुनै समस्या छैन । तर, सचेत हुनचाहिँ जरुरी हुन्छ । त्यसका लागि पहिला रङलाई पानीले सफा गर्नुस् र स्याम्पुको प्रयोग गर्नुस् ।
– कपाल सफा गर्न कठोर स्याम्पु र कन्डिसनरको पनि प्रयोग गर्नु हुँदैन । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्