दार्चुलाको उत्तरी सीमामा संधै समस्या



दार्चुला- दार्चुलाको उत्तरी ब्यांस गांउपालिकासँग जोडिएको भारतीय सीमा क्षेत्रमा विगत देखीनै अनेक समस्याहरु उत्पन्न हुदै आएका छन्। सीमा समस्याको विकराल रुप कालापानी र लिपुलेक सीमा अतिक्रमणसम्म भएको यस क्षेत्रमा हमेशा भारतीय पक्षको दबदवा रहँदै आएको छ। नेपालको भुभागमा भारतीय पक्षले आफु अनुकुलका गतिविधिहरु संचालन गरिरहेको छ।

यस क्षेत्रमा सर्वसाधारणले कहिले सुरक्षाकर्मीको दुर्व्यबहार, तुइन काटिने, सुरक्षा जांचको नाममा खानतलासी, माल समानमा रोकतोक तथा यात्रा अनुमतिपत्रको सास्ती भोग्दै आएका छन्। यस क्षेत्रमा पछिल्लो समय भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको तथा राज्यको उपस्थिति नै नभएको व्यास गाउँपालिका–२ ताम्पाकु, घाटबगर, दोपखे नज्यगं क्षेत्रमा नेपाली भुमीको प्रयोग तथा प्राकृतिक साधनहरुको समेत दोहन गर्ने गरेको तथ्य खुलेको छ। नेपाली जंगलको प्रयोगदेखी नेपाली भुभागमै सुरक्षा गस्तीहरु समेत संचालन गर्नेसम्मका कार्यहरु भारतीय सुरक्षा बलहरुले गरेका छन। भारतमा सडक निर्माणको बहानामा नेपाली भुमीको दोहन समेत भएको छ। सीमापारी निर्माण हुने सडकमा प्रयोग गरिएका विष्फोटकले नेपाल तर्फ गम्भीर क्षति पुग्ने गरेको छ भने वन पैदावार तथा वन्यजन्तुहरुको समेत चोरी सिकारी हुने गरेको छ।

भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल बनाउँदै नेपाली भूमिमै आएर बाटो बनाएको र डोजर प्रयोग भएको घटना प्रकाशमा आएसंगै यस संग जोडिएका अन्य तथ्यहरु समेत प्रकाशमा आएका छन। सीमामा भारतले एकतर्फी रुपमा अन्तराष्ट्रिय मुल्य मान्यता विपरितका गतिविधिहरु गरिरहनुमा त्यस क्षेत्रमा राज्यको उपस्थिति नै नहुनु प्रमुख कारण रहेको स्थानीयको भनाई छ। उक्त क्षेत्रमा सुरक्षा निकायको समेत उपस्थिति छैन।

हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङमा मात्रै नेपाल प्रहरीको उपस्थिति रहेको छ। अहिले पुल निर्माण गरिएको क्षेत्र प्रहरी चौकीबाट अढाई घण्टादेखि चार घण्टासम्मको दूरीमा पर्छ।

भारतीय पक्षले महाकाली नदीमा काठको अस्थायी पुल बनाउँदै नेपाली भूमी भएर मेसिन आफ्नोतर्फ लैजाने गरेको अपी नाम्पा संरक्षण क्षेत्र दार्चुलाका अध्यक्ष चक्र सिह ह्यांकीले बताए। ‘यो क्षेत्र संरक्षित क्षेत्र हो यस भित्र कुनै पनि गतिविधि गर्दा परिषद्को समेत अनुमती लिनु पर्दछ’, उनले भने, ‘तर यहाँ त कुनै समन्वय नै भएन, भारतीय पक्षको सीमामा ज्यादती र नेपाली सम्पदाको दोहन हुनुमा त्यहां राज्यको कुनै पनि निकायको उपस्थिति नहुनु पनि कारण हो।‘

पछिल्लो घटनाको बारेमा परिषद्को गम्भीर आपत्ती रहेको छ। ‘नेपाली भुमीमै जंगल कटान गरी पुल निर्माण तथा हतियार सहित प्रवेश गर्ने सम्मका गतिविधि सम्म भएको सुन्नमा आयो यो गम्भीर अपराध हो’, उनले थपे, ‘कर्मचारी अभावमा संरक्षण क्षेत्रले समेत त्यस क्षेत्रमा चौकी स्थापना गरी नियमित गस्त गिर्न सुरक्षा चुनौती छ।‘

हाल दार्चुलाको उत्तरी सिमानामा कुनै पनि सुरक्षा निकायको उपस्थिति रहेको छैन। ब्यांस गाउँपालिका २ दुम्लिगं सम्म नेपाल प्रहरीको उपस्थिति रहेको छ। भौगोलिक विकटता र पुर्वाधार अभावमा नेपाल प्रहरीको तिंकर र सीतापुलमा रहेको चौकी दुम्लिङमा रहेको दार्चुलाका डिएसपी जनक बहादुर शाहीले बताए। तिंकर र सीतापुलको चौकी हिउंदमा हिमपातका कारण बस्न नसकिने भएकोले गर्मी याममा मात्रै सो क्षेत्रमा प्रहरी चौकी रहने गरेको छ। डिएसपी शाहीका अनुसार उक्त क्षेत्रमा प्रहरीको लागि भौतिक पुर्वाधारको अभाव र बन्दोबस्ती सामग्रीको समेत अभाव हुने गरेको छ।

जिल्लामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भए पनि त्यसले पूर्णरुपमा काम गर्न सकेको छैन। सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपती डिएसपी अम्बिका प्रसाद जोशीका अनुसार गुल्मबाट अहिले सीमा गस्ती हुने गरे पिन सीमामा युनिट स्थापना गर्नको लागी केन्द्रबाटै निर्णय हुनुपर्दछ। सीमामा स्थाई सुरक्षा निकायको युनिट राख्नको लागि जिल्ला सुरक्षा समिति मार्फत केन्द्रमा माग गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए। ‘सीमामा स्थाई सुरक्षा निकायको युनिट राख्नको लागी केन्द्रमा माग गरिएको छ’, उनले भने,’जिल्लामा रहेको सशस्त्र प्रहरीको सीमासम्म विस्तार गर्न माग गरेका छौ।‘ (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्