गीतकार रसिक र कवि इन्फादा पुरस्कृत



काठमाडौँ, १३ फागुन

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले आज यहाँ भोजपुरका दुई प्रतिभालाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानद्वारा स्थापित प्रतिभा सम्मान कवि तथा गीतकार गणेश रसिकलाई प्रदान गरियो भने प्रतिभा पुरस्कार युवा कवि तथा समाचोलक पूर्ण इन्फादालाई प्रदान गरियो । भोजपुरमा जन्म भई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा साहित्य तथा कला क्षेत्रमा योगदान पुर्याउनुहुने प्रतिभालाई दिइने सम्मानको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ भने पुरस्कारको राशि रु ३० हजार तथा ताम्रपत्र रहेको छ ।

प्रतिभालाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले खुकुरीको चिनारीले प्रसिद्ध भोजपुरमा सहित्य तथा कला क्षेत्रमा धेरै प्रतिभा निस्किएको बताउँदै जुनसुकै विधामा पनि भोजपुर उर्वर रहेको बताउनुभयो ।

उहाँले गीतकार रसिक कुरा पनि राम्रो काम पनि राम्रो गर्ने व्यक्तित्व भएको बताउँदै उहाँले राष्ट्रभक्तिका गीतमा आफ्नो स्थान बनाउनुभएको बताउनुभयो ।

सम्मान ग्रहण गर्दै गीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले आफूले चाहेको भन्दा बढी सम्मान पाएको बताउँदै असल मनले चिताएर काम गरे सम्मान पाइने रहेछ भन्ने आफूलाई महशुस भएको उल्लेख गर्नुभयो ।

आफू गीत संगीतमा लाग्दा सानोमा यसले पढ्दैन, गाइने बन्छ भनिएपनि त्यसै पेशामा लागेर आफूले बोल्न सक्ने क्षमता बनाएको र आज सम्म सम्मान पाएको बताउनुभयो ।

संगीतकार बुलु मुकारुङले गणेश रसिक गीतसंगीत क्षेत्रमा मात्र नभएर राम्रो कथाकार र साहित्यकारको रुपमा चिनिएको बताउँदै कवि इन्फादा पनि गम्भीर र प्रतिभाशाली भएको बताउनुभयो ।

‘भोजपुरमा त बनमाराले पनि कविता लेख्छ, तीतेपातीले पनि गीत गाउँछ’ भनी जिल्ला बाहिरका कसैले भनेको स्मरण गर्दै मुकारुङले कवि कलाकारलाई दिइने पुरस्कारको राशि भने अहिलेको समयअनुसार बढाउनुपर्ने सुझाव दिनुभयो ।

पुरस्कृत कवि पूर्ण इन्फादाले आफूले कविता पहिलेदेखि नै लेख्दै आएको भए पनि समालोचना क्षेत्रमा भर्खरै मात्र कमल चलाउन थालेपनि पुरस्कृत हुन पाएकोमा गौरवान्वित भएको बताउनुभयो ।

आयोजक संस्थाका सचिव नरेश काङमाङले नेपालमा श्रमको सम्मान गर्ने संस्कृति नभएको बताउँदै आफ्नो संस्थाले भोजपुरका प्रतिभालाई सम्मान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा कवि देवी घिमिरेले सम्मानित व्यक्तित्व रसिक र इन्फादाको परिचय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष दयाकृष्ण राईले आफूहरु बेलायतमा बस्ने गरेपनि देशको माया जीवन्त हुने बताउँदै भोजपुरका योग्य प्रतिभालाई सम्मान गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्