सरकार विकासमा केन्द्रित हुन्छ : मन्त्री पण्डित



जनसंख्या तथा वातावरणमन्त्रालयको जिम्मेवारी भर्खरै सम्हालेको छु । मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययन गरेर आगामी योजना बनाउँछु । विज्ञहरूसँग छलफल गर्छु र कार्यक्रम तय गर्छु । राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा प्रयोग गर्न आवश्यक छ । वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ राख्न दत्तचित्त भएर काम गर्छु । आफूले पाएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्नुपर्छ । म त्यसबाट चुक्दिनँ । वातावरणलाई स्वच्छ बनाउन गम्भीर रुपमा पहल लिन्छु । वातावरणलाई मानवमैत्री बनाउन जनसंख्यालाई पनि सन्तुलन गर्नुपर्छ । जनसंख्या पनि भूगोल सुहाउँदो हुनुपर्छ । आवश्यक परे नियन्त्रण पनि गर्नुपर्छ । अहिले गाउँबाट सहर बसाइँसराइँ गर्ने लहर चलेको छ । गाउँमै मानिसहरू बस्ने अवस्था कसरी सिर्जना गर्न सकिन्छ भन्नेमा पनि केन्द्रित हुनुपर्नेछ । अघिल्लोपटकको जस्तै यसपटक पनि बोल्ड निर्णयका साथ अगाडि बढ्छु । सोच, विचार गरेर निर्णय लिन्छु र कार्यान्वयन गरेरै छाड्छु ।

विकासकेन्द्रित नीति कार्यक्रम
वर्तमान सरकारका प्रमुख नीति तथा कार्यक्रमहरू विकासकेन्द्रित हुन्छन् । हाम्रो चाहना छ, सम्पूर्ण नेपाली सुखी हुनुपर्छ, खुसी हुनुपर्छ, त्यसैका लागि हामी काम गर्छौं । हाम्रो ध्यान त्यतै केन्द्रित हुन्छन् । तीन तहको सरकार स्पष्ट भिजनका साथ अगाडि भएर बढ्दा खेतबारी बाँझो रहँदैनन्, स्वदेशमै रोजगारी सिर्जना गरेर युवा जनशक्ति विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ । त्यसपछि देश विकासले गति लिन्छ । नेपालमै केही गर्न सकिन्छ भन्ने भावनाको विकास हुन्छ । राजनीतिक नेतृत्वको इच्छाशक्ति हुने हो भने सकारात्मक परिवर्तन सम्भव छ । हामीले गर्न सक्छौँ । तर, जनताको साथ चाहिन्छ । भ्रष्टाचार अन्त्य गरी जनतालाई छिटोछरितो सेवा प्रवाह गर्न कटिबद्ध हुनुपर्छ । जुनसुकै तहको कर्मचारीले पनि आफूलाई राष्ट्रसेवक ठानेर काम गर्नुपर्छ । तलबभत्ताका लागि मात्र काम गर्नेहरू राष्ट्रसेवक बन्न सक्दैनन् । इमानदारीपूर्वक जनताको हितमा सबैले काम गर्नुपर्छ । कम्युनिस्टहरूलाई जनताले विश्वास गरेको पनि त्यही भएर हो ।

वर्तमान सरकारका नीति तथा कार्यक्रम विकासकेन्द्रित हुन्छन् । तीन तहको सरकार स्पष्ट भिजनका साथ अगाडि बढ्दा खेतबारी बाँझो रहँदैनन्, युवा विदेश जानुपर्दैन

गलत निर्णय खारेज
अघिल्लो सरकारले सत्ताबाट हट्ने निश्चित भइसकेपछि धेरै निर्णय गरेको छ । गलत वा प्रक्रियागत रूपमा ठीक नभएका निर्णहरू खारेज हुन्छन् । सबभन्दा पहिला अघिल्लो सरकारले गरेका निर्णयहरू अध्ययन गछौँ । प्रक्रियासम्मत नभएका निर्णयहरू खारेज गर्नुको विकल्प छैन । प्रक्रियागत रूपमा भएका आवश्यक निर्णयहरू कार्यान्वयनमा ल्याउँछौँ । तर, अनावश्यक ढंगले प्रक्रिया मिलेर कुनै निर्णय गरिएको छ भने त्यसलाई अगाडि बढाउन सकिँदैन । खारेज गरेर जनताको पक्षमा आवश्यक निर्णय गर्छौँ ।

– लालबाबु पण्डित, जनसंख्या तथा वातावरणमन्त्री

प्रतिक्रिया दिनुहोस्