माओवादीबाट को को बन्दैछन् मन्त्री ?



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको भए पनि त्यो असम्भव भएको छ। एमाले र माओवादीबीच मन्त्रीको भागबण्डा मिलेपछि अहिले माओवादीले मन्त्री छान्न हेडक्वाटर बैठक बोलाएको छ भने एमालेको स्थायी समिति बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ।

माओवादीले आजै मन्त्रीको नाम टुंगो लगाए पनि सरकार विस्तारमा भोलिसम्म कुर्नुपर्ने देखिएको छ। एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्दा तीन सदस्यीय मन्त्रिमण्डल मात्र छ। एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बनेका हुन्।

संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराएर दुई तिहाईको बहुमतसहित सरकार सञ्चालन गर्ने मोडमा वाम गठबन्धन रहेको छ। बुधबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल भएपछि फोरम सरकारमा जान सकारात्मक भएको छ।

सत्ताको प्रमुख घटक माओवादीको भागमा भने सातवटा मन्त्रालय परेका छन्। सरकारले १८ वटामात्र मन्त्रालय बनाउने तयारी गरेपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्नुपर्ने हुँदा समेत सरकार विस्तारमा ढिलाई भएको नेताहरुको भनाइ छ।

माओवादीबाट मन्त्री बन्नेको चर्चा
माओवादीभित्र मन्त्री बन्ने आकांक्षीको सूची लामै छ। आकांक्षीको सूची बढ्ने मात्र होइन, सरकारमा पठाउन खोजिएका नेताहरूले पार्टीको भागमा पर्ने प्रभावशाली मन्त्रालयमै मात्रै आँखा लगाउन थालेका कारण पनि मन्त्रीहरूको विषयमा माओवादी टुंगोमा पुग्न सकेको छैन।

माओवादी नेता रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी भइरकेको छ। माओवादीबाट मन्त्रीको टुंगो हेडक्वाटरले लगाउनेछ। हेडक्वाटरमा अहिले अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मात्रै छन्।

माओवादीमा रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्की, बिना मगरलगायत आकांक्षी छन्।

एमाले–माओवादीबीच अर्थ एमाले र गृह माओवादीले लिने गरी समझदारी भएका कारण गृहमा माओवादीभित्रै आकांक्षी बढी देखिएका हुन्। जसकारण अध्यक्ष दाहालसमेत प्रेसरमा छन्। गृहमा सरकारको नेतृत्व गर्ने तयारीमा रहेका थापा र वर्षमान पुनको बढी जोड देखिन्छ। दाहाल थापाको नेतृत्वमा वर्षमानलाई पनि सरकारमा पठाउन चाहन्छन् तर दुवैको गृहमा दाबी रहेका कारण उनलाई निर्णयमा पुग्न अप्ठ्यारो परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्