पहिलोपटक नमुना परीक्षा



काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ८ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई विद्यार्थीमैत्री बनाउन नमुना परीक्षा सञ्चालन गरेको छ । नमुना प्रश्नपत्र तयार पारेर विद्यार्थीलाई नमुना परीक्षामा सहभागी गराइएको छ । यसपटकको एसइई परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ।

परीक्षाअगाबै प्रश्नपत्रको ढाँचासँग विद्यार्थीलाई परिचित गराउन नमुना प्रश्नपत्र तयार पारी नमुना परीक्षा सञ्चालन गरिएको कार्यालयका उपनियन्त्रक रामराज खकुरेलले जानकारी दिए । उनले यस पालि अनिवार्य सबै ६ विषयको पाठ्यक्रम परिवर्तन भएको बताउँदै भने, ‘विद्यार्थीलाई नयाँ पाठ्यक्रमको परीक्षा सहज बनाउन अनिवार्य विषयको नमुना प्रश्नपत्र बनाएको छ ।’ उनले अनिवार्य विषय अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र जनसंख्या तथा वातावरण विषयको नमुना प्रश्नपत्र तयार पारी सातै प्रदेशमा नमुना एसइई परीक्षा सञ्चालन भइरहेको जानकारी दिए । सातै प्रदेशमा एकएक परीक्षा केन्द्र तोकेर १ हजार १ सय २० विद्यार्थीलाई नमुना परीक्षामा सहभागी गराइएको छ।

परीक्षाअगाबै प्रश्नपत्रको ढाँचासँग विद्यार्थीलाई परिचित गराउन नमुना प्रश्नपत्र तयार पारी नमुना परीक्षा सञ्चालन गरिएको छ।

‘माघ २८ गतेदेखि नै सातै प्रदेशका एकएक जिल्लाका एक सय ६० विद्यार्थीमा नमुना परीक्षामा सहभागी भइरहेका छन्,’ खकुरेलले नागरिकसँग भने, ‘परीक्षा सकिएका प्रदेशबाट उत्तरपुस्तिका केन्द्रमा आइसकेका छन् । अब प्रदेश १ को सोलुखुम्बु र प्रदेश ४ को पोखरामा परीक्षा हुन बाँकी छ । फागुन १५ भित्र सबै प्रदेशको परीक्षा सकेर उत्तरपुस्तिका संकलन भइसक्छ।’

नयाँ पाठ्याक्रमअनुसार विद्यार्थीको विषयगत ज्ञानको विश्लेषण गरी सोहीअनुसार एसइईको प्रश्नपत्र तयार पार्ने लक्ष्य रहेको उनले बताए । ‘उत्तरपुस्तिका संकलन भएलगत्तै नतिजा प्रकाशन गरिनेछ,’ खकुरेलले भने, ‘त्यो नतिजा हाम्रो कार्यालयमै राखिन्छ र सिकाइ उपलब्धिबारे विश्लेषण हुन्छ।’

अर्का उपनियन्त्रक गेहनाथ गौतमले नमुना प्रश्नपत्र परीक्षणका क्रममा सरकारी र संस्थागत दुवै विद्यालयका विद्यार्थी समेटिएको बताए । नमुना प्रश्नपत्रले विद्यार्थी र शिक्षक दुवैलाई सहज बनाउने दाबी उनले गरे । ‘नमुना प्रश्नपत्रले शिक्षकलाई अभ्यास गराउन सहयोग गर्छ भने विद्यार्थीलाई सोही आधारमा तयारी गर्न मौका दिन्छ,’ गौतमले भने, ‘नमुना प्रश्नपत्र पनि सातै प्रदेशका विभिन्न जिल्लाका विषयगत शिक्षकसँग छलफल गरी तयार पारिएको हो ।’ नमुना प्रश्नपत्रलाई नै आधार बनाएर एसइई परीक्षाको प्रश्नपत्र तयार पार्ने उनले बताए।

उपनियन्त्रक सुकदेव सापकोटाले नमुना प्रश्नपत्र परीक्षणको मुख्य उद्देश्य कार्यालयले तयार पारेको ग्रिडअनुसारको प्रश्नपत्रमा विद्यार्थीले कत्तिको बुझेर कस्ता उत्तर लेखे भन्ने पत्ता लगाउनु रहेको बताए । उनी ७ नम्बर प्रदेशको कञ्चनपुरमा नमुना परीक्षा सकेर हालै राजधानी फर्केका हुन्।

गणितबाहेक सबै विषयको प्रयोगात्मक परीक्षा
सापकोटाले गत वर्षसम्म अंगेजी र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको मात्र प्रयोागात्मक परीक्षा हुने गरेकोमा यो वर्षदेखि गणितबाहेक सबै विषयको प्रयोगात्मक परीक्षा दिनुपर्नेगरी नयाँ पाठ्क्रम बनाइएको बताए । परीक्षा समय पनि तीन घण्टाको ठाउँमा दुई घण्टा ४० मिनेटमात्र हुने उनले जानकारी दिए ।
‘कक्षा १० को नयाँ पाठ्यक्रमअनुसार गणितबाहेक सबै विषयमा ७५ अंकको सैद्धान्तिक परीक्षा लिइनेछ,’ सापकोटाले भने, ‘अब विद्यार्थीले परीक्षा केन्द्रमा गणितबाहेक सबै विषयमा २ घन्टा ४० मिनेटमात्र समय पाउनेछन् । २५ अंकको प्रयोगात्मक परीक्षा स्कुलले नै सञ्चालन गर्छ ।’

यसपटक एसइई परीक्षाका लागि मुलुकभर गरी परीक्षा केन्द्र तोकिएको छ । चैत ८ मा सुरु हुने परीक्षा चैत २० मा सकिनेछ।

प्रतिक्रिया दिनुहोस्