![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2018/02/buddha-pariwartan.jpg?fit=720%2C540&ssl=1)
काठमाडौं : धार्मिक सम्पदा शाश्वत धाममा श्रीलंकाबाट भगवान् गौतम बुद्धको अस्तु ल्याइएको छ। श्रीलंकाको राजधानी कोलम्बो नजिकको २६ सय वर्ष पुरानो राजमाया बिहारबाट अस्तु शाश्वत धाम ल्याइएको हो। बौद्ध धर्मावलम्बीबीच उक्त बिहार निकै प्रतिष्ठित मानिन्छ। अस्तु नवलपरासीको शाश्वत धाममा निर्माण गर्न लागिएको बुद्धिस्ट सेन्टरमा राखिनेछ।
बुद्धिस्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वत धाममा विशेष मण्डप तयार गरी अस्तु राखिएको छ। अस्तु दर्शनका लागि धाममा बौद्ध र हिन्दू धर्मावलम्बीको भीड लागेको छ। धाममा राखिएको अस्तुलाई श्रीलंकाबाट आएका भिक्षुहरूको टोलीले विधिपूर्वक दैनिक पूजा अर्चना गरिरहेका छन्।
बौद्ध भिक्षु खेम्पो पेमा सम्बा लामाले भगवान् बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्नका लागि साक्षात् भगवान् मानिने भएकाले बुद्ध धर्ममा यसको सबैभन्दा उच्च महत्व रहेको बताए। राजामाया बिहारका जनका ईडिरे संघेले भगवान् बुद्धका अनुयायीले अस्तु (बुद्धको खरानी) रहेको स्थानलाई साक्षात् भगवान बुद्धको स्वरुपका रूपमा श्रद्धा गर्ने बताए।
शाश्वत धाम परिसरमा मंगलबारै बुद्धिस्ट सेन्टरको शिलान्यास गरिएको छ। श्रीलंका, लुम्बिनीस्थित श्रीलंका गुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुबाट विधिपूर्वक बुद्धिस्ट सेन्टरको शिलान्यास गरिएको हो। वैशाख पूर्णिमाका दिन उक्त सेन्टर उद्घाटन गर्ने लक्ष्य राखिएको छ। बुद्धिस्ट सेन्टर सञ्चालनमा आएपछि भक्तजनले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन्।
श्रीलंकाबाट शुक्रबार काठमाडौं ल्याइएको अस्तुलाई एक रात काठमाडौंको एक चैत्यमा राखी शनिबार शाश्वत धाम पु¥याइएको थियो। भरतपुर विमानस्थलबाट शाश्वत धाममा अस्तु ल्याउँदा बौद्ध परम्पराअनुसार विशेष पूजा अर्चना गरिएको थियो।
पुरातत्वविद् रामबहादुर कुँवरका अनुसार आजभन्दा २५६२ वर्षअघि देह त्याग गरेका भगवान् गौतम बुद्धलाई उनका अनुयायी (भिक्षु)ले जलाएका थिए। उनलाई जलाइएपछि बनेको खरानी आ–आफ्नो चैत्यमा राख्न उनीहरूबीच होडबाजी नै चलेको थियो। त्यतिबेलाका शासकमध्ये मगतका मौर्य, वैशालीका लिच्छवि, कपिलवस्तुका शाक्य, रामग्रामको कोलीया (हाल नवलपरासी सदरमुकामबाट ५ किलोमिटर दक्षिण) कुशिनगरका मल्ल, पावाका मल्ल, बेथडिपका ब्राह्मीन र अलपप्पाका बुलिजहरूले अस्तु भाग लगाएर बाँडेका थिए। ती आठवटै स्थानमा निर्माण गरिएका भव्य चैत्य अहिले पनि उत्तिकै प्रख्यात छन्।
तत्कालीन सम्राट् अशोकले ती आठ पवित्र स्थल (तत्कालीन चैत्य मन्दिर)मा रहेको अस्तुलाई उत्खनन गरी आफ्ना ८४ हजार भिक्षुलाई वितरण गरेको विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार त्यतिबेला वितरित अस्तुलाई संसारका ८४ हजारभन्दा बढी स्थलका चैत्यमा राखिएको हो।
सनातन धर्मको प्रवद्र्धनका लागि गत वर्ष उद्घाटन गरिएको शाश्वत धाम एक वर्षको अवधिमै नेपाल र नेपाल बाहिरका भक्तजनका लागि प्रख्यात धार्मिकस्थल बनेको छ। धामको रेकर्डअनुसार ११ महिनाको अवधिमा १२ लाख दर्शनार्थीले शाश्वत धामको दर्शन गरेका छन्।