ओली अ(न)र्थतन्त्रका पूर्वझलक



काठमाडौँ — माघ २९ गते प्रकाशित अच्युत वाग्लेको ‘ओली अ(न)र्थतन्त्रका पूर्वझलक’ आलेख पढ्दा सहमत हुन नसकी केही लेख्दै छु । किनभने सर्वप्रथम त मुलुकको संविधानद्वारा प्रदत्त निर्वाचनबाटै भारी जनमत प्राप्त गरेको परिप्रेक्ष्यमा ‘ओलिनोमिक्स’ वा जुनसुकै ‘ओमिक्स’को संज्ञा पनि ओझेलमा परेका बेला अहिल्यै नकारात्मक प्रक्षेपण गर्न सुहाउला ?

दोस्रो, एमालेले स्थानीय तहका साथै संसदमा बहुमत ल्याउने स्पष्ट संकेत र अधिकांश प्रदेशमा कम्युनिष्ट सरकार गठनकै कारण सेयर बजार सूचकाङ्क निरन्तर ओह्रालो लागेको पक्का हो र ? सेयर बजार ओह्रालो वा उकालो लाग्नुमा कति कारण हुन्छन् ? तेस्रो, देश र देशवासीको समुन्नत सामाजिक–आर्थिक विकास/समृद्घिका लागि अगाडि बढ्ने जमर्को गरेको दललाई ‘कम्युनिष्ट’ शब्द हटाउनुपर्ने कस्तो तर्क हो ? के ‘कम्युनिस्ट’ले केही गर्नै सक्दैनन् त ? यदि त्यसो भए झन्डै दुई तिहाइ जनमत कसरी वाम गठबन्धनलाई प्राप्त भयो त ? चौथो, कुनै भाषण वा सम्बोधनका सिलसिलामा उखान–टुक्का हाल्ने ओलीले ‘च्यातिएको लंगौटीले लाज छोपिन्न’ भन्दा कसरी ओलीको कुनचाहिँ शब्द वा वाक्यांश अर्धश्लील भयो ? ओलीको नियत खराब भन्नुभन्दा पहिले उनले गरेको कामको मूल्यांकनको पाना नपल्टाई उल्लिखित वाक्यहरू केवल नकारात्मक सोचको संकेत भएजस्तो लाग्यो । पाँचौं, ओली पक्षले कुन पक्षलाई दबाबमा राखे ? र कस्तो अहम्ले वित्तीय संघीयतालाई तह लगाएको आरोप लगाउन कत्तिको वाञ्छनीय होला ?

त्यसकारण मुलुक अहिले एकदमै नाजुक अवस्थाबाट आक्रान्त भएको, ढुकुटी रित्तिएको मात्र नभई ऋणात्मक अवस्थामा दैनिक कार्य सञ्चालन गर्ने सामान्य खर्च जुटाउन पनि दातृ निकाय गुहार्नुपरेको, झन्डै दुई तिहाइ मत प्राप्त गर्दा पनि देउवा सरकारले औचित्यहीन अवरोध उत्पन्नमात्र नभई, नियम, निर्देशिका विपरीत बचेखुचेको रकम स्वाहा पारी आगामी आउने सरकारलाई अत्यन्त अप्ठ्यारोमा पारेको,घट्दो रेमिटेन्स आप्रवाह, चुलिँंदो व्यापार घाटा, घट्दो उत्पादकत्व, बैंकिङ तरलता, संघीयता कार्यान्वयनको नयाँ अनुभव तथा बढ्दो खर्च व्यवस्थापन, वाम गठबन्धनका नेताहरूको व्यवस्थापनका साथै नेपालमा कम्युनिस्ट पार्टीको सरकार अधिनायकवादी हुने अनर्गल प्रचारको भण्डाफोर आदि समस्या तथा चुनौतीको समाधान गर्नुपरेको बेला सकारात्मक खबरदारी गर्नुको सट्टा देउवाको चुनावी भाषणजस्तो केवल ‘विरोधका लागि विरोध’ गर्ने बेला भएको छ र ? (कान्तिपुर)

गंगाराज अर्याल
पाणिनी–८, पाली, अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्