ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’



दुई नेताका समझदारीलाई औपचारिकता दिने गृहकार्यमा एकता संयोजन समिति

एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।

ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ । बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ ।

प्रधानमन्त्रीको कार्यकालबारे असहमति जारी
त्यस्तै, छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ ।

बिहीबार सरकार गठन प्रक्रिया बढाउँछौँ : श्रेष्ठ
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाइसकेकाले बिहीबारै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने गरी निर्णय गरिने जानकारी दिए । ‘आयोगले परिणाम बुझाइसकेका अवस्थामा तत्काल प्रक्रिया बढाउन भोलि नै निर्णय गरेर अघि बढ्छौँ,’ श्रेष्ठले भने ।

९५ प्रतिशत काम सकियो, बिहीबार टुंग्याउँछौँ
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता संयोजन समितिले एकतासँग सम्बन्धित ९५ प्रतिशत काम सम्पन्न गरिसकेकाले बिहीबारै सबै टुंगो लगाउने जानकारी दिए । ‘९५ प्रतिशत काम सकिएको छ, बिहीबार सबै टुंगो लाग्छ,’ गौतमले भने । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संयोजन समितिमा एकतासम्बन्धी गम्भीर छलफल भएको जानकारी दिँदै थोरै बाँकी विषयको छलफललाई निरन्तरता दिँदै बिहीबार टुंगो लगाइने बताए । ‘कुराहरू सबै मिल्दै गएका छन्, नमिलेर अड्किएको होइन,’ बैठकपछि श्रेष्ठले भने, ‘समय अभाव भएकाले छलफललाई निरन्तरता दिएर बिहीबार सबै विषय टुंगो लगाइनेछ ।’

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको समझदारीलाई औपचारिकता दिन बुधबार बसेको एकता संयोजन समितिको बैठक । 

केपी ओली प्रधानमन्त्रीका उम्मेदवार
एमाले स्थायी समितिले पार्टी अध्यक्ष केपी ओलीलाई वाम गठबन्धनका तर्फबाट सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी समितिको ललितपुरमै बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘गठबन्धनको साझा सहमतिबमोजिम अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको छ,’ बैठकपछि उपाध्यक्ष भीमबहादुर रावलले भने । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको प्रतिवेदन बुझाएलगत्तै गठबन्धनका तर्फबाट हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी गर्ने एमालेको तयारी छ ।

केन्द्रीय नेतृत्वमा सयजनाभन्दा बढी
नेतृत्वमा पदाधिकारी नराख्ने र दुई अंकभन्दा नबढ्ने गरी (अर्थात् सयभन्दा कम) सदस्य रहेको केन्द्रीय कमिटी बनाउने विषयमा छलफल चलेको छ । तर, यो छलफलले बुधबारको संयोजन समिति बैठकमा प्रवेश पाइनसकेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । पदाधिकारी नराख्दा शीर्ष नेताको भूमिका कम हुने, स्थायी समिति र केन्द्रीय सदस्यको पद घटुवा हुने सम्भावना देखिएपछि बिहीबार दुवै पार्टीका पहिलो र दोस्रो तहका नेताले छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन् । संगठनात्मक स्वधपबारे अनौपचारिक तहको मोटामोटी खाका संयोजन समितिको छलफलमा प्रस्तुत हुने र कम्तीमा पदाधिकारी र स्थायी समितिमा रहेका नेतालाई स्थायी समितिमै राख्नुपर्ने बाध्यताका कारण संगठनको आकार ठूलो हुने सम्भावना देखिएको एक नेताले बताए ।

प्रचण्डले भने : एकता हुने भयो, तयार रहनुस्
पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो र ओलीजीको वार्ता सकारात्मक रूपमा अन्तिम चरणमा छ । यसलाई व्यवस्थित गर्न सांगठनिक र वैचारिक कार्यदिशासँग सम्बन्धित दुईवटा कार्यदल बनाउने सहमति भएको छ । अब विभिन्न पार्टी (माओवादी वा एमाले) मात्रै रहेर हुँदैन, एउटा कम्युनिस्ट केन्द्र बनाएर, ठूलो पार्टी बनाएर समाजवादी क्रान्तिमा जानु छ । तपाईंहरू तयार हुनुहोस्, वैचारिक रूपमा कमजोर नहुनुस् । दृढसंकल्पित भएर अघि बढ्नुस् । समयको चुनौती हो, हामीले सामना गर्नुपर्छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्