भ्यालेन्टाइन डेटिङ रानीमहलमा



पाल्पा, २ फागुन २०७४

२२ वर्षीय थोमस गाहा सोमबार रानीमहल दरबार क्षेत्रमा प्रेमिकासँग गफिँदै गरेको भेट्टिए। झन्डै ५० किलोमिटरको दूरीमा रहेको बुटवलबाट उनी मोटरसाइकलमै पुगेका थिए, त्यो पनि साँझ फर्कने गरी।

‘प्रेमिकासँगै रानीमहल पुग्दा सच्चा प्रेमभावको अनुभव भयो’, उनले भने। थमस मात्र होइन पोखरा, बुटवल, तानसेनलगायत सहरी क्षेत्रका युवायुवती रानीमहलमा ‘भ्यालेन्टाइन डेटिङ स्पट’ का रूपमा पुग्न थालेका छन्। सोमबार संवाददाता रानीमहल पुग्दा १५ देखि २५ वर्षसम्मका युवायुवती नै बढी थिए। धेरै जोडी मोटरसाइकलमै यात्रारत थिए। केही त पैदलयात्रामा रमाउँदै थिए।

केही वर्ष अघिसम्म रानीमहल दरबारमा दैनिक २०/३० जना पर्यटक मात्र पुग्थे। अहिले दैनिक पाँच सयसम्म पर्यटक पुग्ने गरेका छन्। अधिकांश युवायुवती हुने गरेको रानीमहल अस्थायी प्रहरी चौकीका प्रमुख डिल्लीराज भट्टराई बताउँछन्। अझ त्यसमा पनि प्रणय दिवसमा युवायुवतीका लागि ‘साँचो प्रेम व्यक्त गर्ने’ स्थानको रूपमा यो पर्यटकीय क्षेत्र रोजाइमा पर्न थालेको छ। नवजोडी प्रेमी-प्रेमिकाका लागि रानीमहल दरबार आकर्षणको केन्द्र बनिरहेको छ। नेपालमा रानीमहल दरबार ‘नेपाली ताजमहल’ प्रेमको प्रतीकको रूपमा चर्चित छ। त्यसैले त विवाहित दम्पत्ती पनि पुग्ने गरेका छन्।

भैरहवाकी रचना क्षत्री दोस्रो पटक रानीमहल पुगेकी हुन्, त्यो पनि पतिसँगै। उनले भनिन्, ‘एक वर्षअघि साथीसँग रानीमहल आएकी थिएँ। त्यतिबेला सबै ठाउँ घुम्न सकिनँ। प्रेमको प्रतीक भएकोले एकपटक पुग्नैपर्ने ठाउँ रहेछ।’

रानीमहल तानसेनदेखि १० किलोमिटर उत्तरमा पर्छ। तानसेनबाट ४५ मिनेटमै पुग्न सकिन्छ। अहिले त पक्कीबाटो निर्माण भइरहेको छ। सवारी साधनको उपलब्धताले पनि दिन/प्रतिदिन रानीमहलप्रति आकर्षण बढ्दो छ। प्रणय दिवसको अवसरमा रानीमहल पुग्न जोडीलाई स्थानीयले स्वागत नै गर्छन्।

नेपालमा रानीमहल दरबार ‘नेपाली ताजमहल’ प्रेमको प्रतीकको रूपमा चर्चित छ।

रानीमहल दरबारमा प्रयण दिवस मनाउन दुई दिनअघि नवजोडीहरू पुगेकाले यहाँका होटल तथा रेस्टुरेस्टमा भीडभाड बढेको स्थानीय वसन्त कुँवरले बताए। प्रणय दिवसका लागि पोखराका मात्रै दुई सय युवायुवतीले होटल बुक गरेका न्यु रानीमहल रेस्टुरेस्ट एन्ड लजका सञ्चालक सुरेस पाण्डे क्षत्रीले जानकारी दिए। यहाँका होटलले पनि रानीमहल आउने जोडीलाई खाना तथा बासमा छुट दिएर लोेभ्याएका छन्।

राणा खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरबार निर्माण गरेका हुन्। १९४९ मा निर्माण सुरु भएको रानीमहल दरबार ६ वर्षमा निर्माणसम्पन्न भएको थियो। खड्ग शमशेरले तेजकुमारीका हरेक इच्छा, चाहना, आकांक्षा पूरा गर्दै आएको विभिन्न पुस्तकमा उल्लेख छ। अन्तिम समयमा तेजकुमारीले ज्योतिषको सल्लाहमा कालीगण्डकीको उत्तरवाहिनी क्षेत्र हालको रानीमहलकै छेउमा प्राण त्याग गरेकी थिइन्। तेजकुमारीको सम्झनामा बेलायती दरबार शैलीमा ‘ताजमहल’ निर्माण गरिएको हो। प्रेमको प्रतीक ताजमहल हाल रानीमहल दरबारमा परिणत भएको हो।

‘प्रेम साँचो हुनुपर्छ। प्रेमलाई वासनामा परिणत गर्दा हाल कैयौं विकृति/विसंगति हुँदै हत्या तथा आत्महत्याका घटना बढिरहेको समयमा राणा खड्ग शमशेर रानी तेजकुमारीको प्रेम सम्बन्धले आजकलका युवा-युवतीलाई सच्चा प्रेम अनन्तकालसम्म हुनुपर्ने’ सन्देश दिन दरबार बनाएका थिए।

करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ वटा कोठा छन्। एउटी प्रेमिकाको सम्झनामा निर्माण गरिएको दरबार परिसरमा मनमोहक बगैंचा, शिवालय, पानीपोखरी, शिवलिंगमा नागनागिनले जलशेचन गरेका दृश्य निर्माण गरिएका छन्।

भान्साघर, तबेला ठूल्ठूला मन्दिरका घण्टहरूसहित विभिन्न आकर्षक कलाकृति देख्न सकिन्छ। दरबारमा अलंकारयुक्त ग्रिक शैलीका खम्बाहरू, त्रिकोणात्मक छाना भएका झ्याल, गुम्बज आकारका झ्याल, नियो क्लासिकल स्थापत्यकला शैलीमा दरबारको निर्माण गरिएको छ। प्रेमको प्रतीक रानीमहललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना बनाएर काम गर्नुपर्ने स्थानीय लालबहादुर खत्रीको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्