राजकुमारीको प्रेम



राजकुमारी हुनुका कैयौँ सुविधा छन्, अनि त्यो पदभारको पनि आफ्नै किसिमका दुःख हुन्छन् । कोही त्यही सुविधामा जीवनभर हराउँछन् त कोही त्यो सुविधा त्यागेर आफ्ना सपना र रहरहरू खोज्न थाल्छन्।

जापानकी राजकुमारी माको त्यस्तै एउटा कथा छ । उनले जापानका सम्राट अकिहितोको पहिलो नातिनी हुनुका कैयौँ सुविधा पाएकी थिइन् । दरबारमा उनको बास थियो । जहाँ गए पनि उनको एउटा सुरक्षा घेरा थियो । राजकुमारी हुनुको रवाफ पनि कम थिएन । जहाँ पनि एउटा सेलिब्रिटीभन्दा बढी पहिचान उनले पाउने गर्थिन्।

जापानमै पनि उनको लोकप्रियता कम थिएन तर उनले त्यो ‘राजकुमारी’को पद त्याग्ने हठात् निर्णय गरिन् । यसका पछाडि एउटा मोहक मुस्कान भएको युवा कारक थिए । माकोले छान्नु थियो, जीवनभर एउटी राजकुमारी भएर दरबारमा जीवन बिताउने कि साधारण युवाको पछि लागेर उसकी साधारण पत्नी भएर बाँच्ने ! उनले साधारण जीवन छान्ने निर्णय गरिन्।

अरू पनि थिए उदाहरण
सन् १९६९ अप्रिल १८ मा जन्मिएकी माकोकी फूपूले पनि एउटा सामान्य इन्जिनियरसँग बिहे गरेकी थिइन् । सम्राट अकिहितोकी कान्छी छोरीका रूपमा जन्मिएकी राजकुमारी नोरीले लामो संघर्षपछि योसिकी कुरोदासँग बिहे गरेकी थिइन्।

दरबारले छानेको बाहेक अन्य सामान्य व्यक्तिसँग बिहे गर्दा दरबारिया नियमअनुसार उसले सबै कुरा त्याग्नुपर्छ । यसपछि आफ्ना सम्राट बाबुआमासँग भेट्न पनि विशेष किसिमको सुविधा पाउने छैनन्।

राजकुमारी नोरीले २००५ नोभेम्बर १५ मा सामान्य नागरिकसँग बिहे गरेकी थिइन्। राजकुमारी नोरीले पनि अन्य राजकुमारीले झैँ देशको इतिहास, साहित्य र भाषा पढेकी थिइन् । चराप्रेमी राजकुमारीका रूपमा चिनिएकी नोरीको भेट योसिकी भएपछि सबै कुरा बद्लियो । नोरीले आफ्नो नाम परिवर्तन गरिन्, थर परिवर्तन गरिन् र योसिकीकी सामान्य पत्नीका रूपमा जीवन बिताउने निर्णय गरिन्।

बिहेको निर्णय गर्दा राजकुमारी ३५ वर्षकी थिइन् भने उनका प्रेमी ३९ वर्षका थिए । सरकारी कर्मचारी र सहरी विकासका जानकार योसिकीका बारेमा निकै थोरै जानकार थिए । नोरी भन्दा पनि पहिले अन्य राजकुमारीले अन्य सामान्य व्यक्तिसँग बिहे गरेका थिए तर ती प्रायः उच्च खानदानी व्यक्तिहरू हुने गर्थे । नोरीले भने एक सामान्य परिवारबाट आएका योसिकीलाई छान्दा धेरैले आश्चर्य प्रकट गरेका थिए । नोरीले योसिकीसँग बिहे गरेपछि दरबारबाट पाउने सबै किसिमको सुविधा त्याग्नु परेको थियो।

त्यसो त दरबारले नोरी र उनका दुलाहाको बिहेमा राम्रो सहयोग नै ग¥यो । सम्राट र साम्राज्ञी दुवै विवाह समरोहमा भाग लिएका थिए । परिवारका अन्य सबै सदस्य उपस्थित थिए । बिहेमा दुलाहा–दुलहीका तर्फबाट ३० सदस्य र पाहुना १२० जना सदस्य उपस्थित थिए । आधा घण्टाको वैवाहिक समारोह सकिएपछि उनीहरूलाई शुभकामना व्यक्त गर्न होटलबाहिर हजारौँ सर्वसाधारण लाइनमा बसेका थिए।

कहिलेकाहीँ फूपूलाई भेट्न जाँदा राजकुमारी माकालाई कुरोदाले भन्थिन्, ‘राजकुमारी हुनुका फाइदा छन्, न त ड्राइभिङ लाइसेन्स लिनुपर्छ न त किनमेल नै गर्न जान्नुपर्छ । तर मैले बिहेपछि यी सबै सामान्य ठानिएका काम सिकेँ ।’
राजकुमारी पद त्यागे पनि दरबारले उनलाई विशेष समारोहमा निम्ता दिने, भोजहरूमा सहभागी गराउने देखेकाले राजकुमारी माकोले पनि दरबारभन्दा बाहिर नै दुलाहा रोज्ने निर्णय लिन सघाउ पुगेको हुनसक्ने केहीको दाबी छ।
०००
जापानी दरबारले कसैलाई राजकुमार वा राजकुमारी घोषित गर्नुभन्दा पहिले कुनै विशेष ठाउँको राजकुमार भनी पदवी दिन्छ । त्यो ठाउँ उसको पेवा भनेजस्तै हो । उसले त्यस ठाउँका विविध कामहरू गर्नुपर्ने हुन्छ । राजकुमारी माको अकिसिनो भन्ने ठाउँकी राजकुमारीको पद दिइएको हो । एउटा विशेष समारोह आयोजना गरी यस किसिमको पद दिइन्छ । उनी अहिलेका सम्राट अकिहितोका छोरा फुमिहितो र बुहारी किकोकी जेठी छोरी हुन् । अकिहितोकी साम्राज्ञी मिचिकोकी प्यारी नातिनी पनि हुन्।

सन् १९९१ को अक्टोबर २३ मा दरबारियाको विशेष अस्पतालमा जन्मिएकी माकोले गाकुसुइन विद्यालयमा प्राथमिक शिक्षा लिइन् । उच्च शिक्षाका लागि उनी बेलायतको युनिभर्सिटी कलेज डब्लिनमा केही समय पढिन् तर उनलाई टोक्योस्थित इन्टरनेसनल क्रिस्चियन युनिभर्सिटी नै रुच्यो।

एउटी राजकुमारीले पढ्नुपर्ने विषयमै उनको रुचि थियो । कलाकारितालाई कसरी सजाउने भन्ने उनको मुख्य रुचिको विषय हो । म्युजिओलजी (म्युजियमसम्बन्धी अध्ययन) मा उनले मास्टर्स डिग्री हासिल गरेकी छन्।

माको सन् २००४ देखि नै जापानी जनताको मनमा बस्न थालेकी थिइन्, खासगरी उनका तस्बिरहरू सार्वजनिक हुँदा भाइरल नै हुन्थे । इन्टरनेट भनेपछि हुरुक्क हुने उनले कैयौँ भिडियो खिचेर पोस्ट गर्ने गर्थिन्। उनले पहिलोपटक पोस्ट गरेको भिडियोले एकै पटक साढे तीन लाख भिजिट र ८६ हजार कमेन्ट पाएपछि दरबारले यस विषयलाई कसरी सम्हाल्ने भनेर निर्णय नै गर्न सकेन । किनभने यसअघिका राजकुमारीहरूले यस्तो व्यवहार देखाएकै थिएनन् । तर उनको भिडियोले दरबारलाई कुनै क्षति नपुर्‍याउने भन्ने निष्कर्ष निकालेपछि भने उनका यस्ता गतिविधिमा कुनै छेकबार लगाएन।

माकोकी एकजना बहिनी काको छिन् भने कान्छो भाइ राजकुमार हिसाहितो छन्। माकोले एक सर्वसाधारणसँग प्रेम गरेर उसैसित जीवन बिताउने निर्णय गर्दा उनलाई कुनै घाटा भने भएको छैन किनभने दरबारको कानुनअनुसार जापानमा सम्राट हुन छोरा नै हुनुपर्छ । त्यसैले सम्राटको जेठा छोरापछि जेठी छोरीका रूपमा जन्मिएकी माकोका कान्छा भाइ हिसाहितो नै सम्राट बन्ने सम्भावना रहेको भनी जापानी मिडियाले लेखेका छन्।

सन् २०११ मा उमेर पुगेपछि एउटा विशेष समारोहका बीच राजकुमारी घोषित गरिएको थियो भने उनलाई मूल्यवान् एउटा ताज पहि¥याइएको थियो । अब उनले जीवनभर त्यो ताज पहिरिन पाउने छैनन् । राजकुमारी घोषित भएकै केही समयपछि जुलाई महिनामा भूकम्प र सुनामी आयो । त्यस कठिन घडीमा राजकुमारीले सक्रियतापूर्वक विभिन्न समाजसेवाका काममा भाग लिएकी थिइन् । त्यस बेला उनले आफू राजकुमारीको पहिचान लुकाउँदै समाजसेवामा सक्रियता देखाएकी थिइन् । उनकी आमा राजकुमारी आकिसिनो बहिरा बालबालिकालाई असाध्य रुचाउँछिन् । तिनलाई जापानी संकेत भाषा पनि उनले पढाउँछिन् । त्यसैको सिको गर्दै राजकुमारी माकोले पनि जापानी संकेत भाषा पढिन् । उनी त्यसमा विज्ञसमेत छिन्।

माकोका मनको राजकुमार
अचानक सन् २०१७ को मे महिनामा राजकुमारी माकोले एक वर्षपछि आफूले मन पराएको एउटा साधारण केटोसँग बिहे गर्ने घोषणा गरिन् । इन्टरनेसनल क्रिस्चियन युनिभर्सिटी पढ्दाताका भेट भएका केइ कोमुरोलाई आफ्नो पति वरण गर्ने घोषणा गर्नेबित्तिकै केइका बारेमा सोधखोज गर्नेको संख्या ह्वात्तै बढ्यो।

यसपछि त मिडियाले उनलाई राजकुमारी नोरीसँग तुलना गर्न थालिहाल्यो । यसपछि अनेक किसिमका खबर नउडून् भनेर दरबारको मामिला हेर्ने निकाय इम्पेरियल हाउसहोल्ड एजेन्सीले राजकुमारी माको र उनका केटासाथीको सम्बन्धलाई आफूहरूले स्वीकारेको विज्ञप्ति जारी गर्‍यो । सँगैमा माकोको राजकुमारीको पदवी खोसिने जानकारीसमेत दियो । त्यसपछि माको र उनका केटा साथी केइले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै घटनाको पटाक्षेप गरे । उनीहरू सँगै देखिँदा माकोका मनका राजकुमार पनि कम आकर्षक देखिएका थिएनन् । उनलाई देखेपछि भने सर्वसाधारणले चैनको श्वास फेरे– राजकुमारीको जोडा पनि कम आकर्षक रहेनछन्!

यसरी राजकुमारीको पदवी छाड्ने अब माको पनि जापानी इतिहासमा एउटी साहसी महिलाका रूपमा चिनिने छिन् । उनी यस्तो साहस गर्नेमध्येकी आठौं सदस्य हुनेछिन्।

यसरी आकर्षित भइन् माको
केइ सुन्दर र मोहक मुस्कानका धनी मात्र थिएनन्, माको जत्तिकै उमेरका थिए । उनीहरू कलेज पढ्दा एकअर्कासँग नजिकिएका थिए । सुरुमा केइलाई माको राजकुमारी हुन् भन्ने नै थाहा थिएन । त्यसैले उनीसित अन्य युवतीझैँ माकोलाई पनि फ्लर्ट गर्थे।

केइको सबैभन्दा ठूलो खुवि चाहिँ भ्वाइलिन बजाउनु थियो । जसै केइ भ्वाइलिन बजाउँथे, उनले निकाल्ने धुनमा हरकोही आकर्षित हुन्थे । माकोले पछि मिडियामा भनेकी छन्, ‘म जीवनभर उनको भ्वाइलिन वादनविना कुनै अल्छ्याइँ सुन्न सक्छु र म उसको मोहक मुस्कानमा जीवनका सबै सुख अनुभूत गर्न सक्छु ।’ (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्