गठबन्धनको होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री बन्ने ओलीको तयारी



सरकार गठनअघि नै पार्टी एकता भएमा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन् । एकीकृत पार्टीका रूपमा उनीसँग १७४ सांसदको समर्थन हुनेछ । बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक हुन्छ । त्यसैले, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर निर्वाचन आयोग जाने र सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी छ ।

‘एकीकृत पार्टीबाटै सरकार गठन गर्ने गरी मंगलबार अन्तिम छलफल हुँदै छ, अन्तिम टुंगो एकता संयोजन समितिबाट लागेपछि ओली संविधानको धारा ७६ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा प्रधानमन्त्रीमा सर्वसम्मत चयन हुने सम्भावना बढ्दै गएको छ,’ उच्च स्रोतले भन्यो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार पुनः एक चरण छलफल हुने भएको छ । त्यसलगत्तै एमाले स्थायी समिति र माओवादी केन्द्रले सचिवालय बैठकबाट दुई नेताको पछिल्लो समझदारीलाई अनुमोदन गर्नेछन् ।

समाजवादउन्मुख समृद्धिको कार्यदिशामा अघि बढ्ने, जबज र २१औँ शताब्दीको जनवादका समानता पहिचान गर्ने र हल हुन नसकेका विषयलाई एकताको महाधिवेशनमा लैजाने दुई दलबीच समझदारी छ । सांगठनिक एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने, पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको स्वरूप, प्रदेश, जिल्लादेखि गाउँ तहसम्मको एकताको विधि, भ्रातृ संगठनहरूको एकताको विधि र प्रक्रियालगायतका विषयमा कार्यदलले गृहकार्य गर्नेछ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्