विप्लवलाई अर्को झड्का



काठमाडौं, १ फागुन २०७४

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तिलक मल्ल ‘क्षितिज’ले पार्टी परित्याग गरेका छन् ।
महासचिव विप्लवको निकट रहेर विभिन्न जिम्मेवारी बहन गर्दै आएका मल्लले सोमबारदेखि ‘नेकपा’ छाडेको घोषणा गरेका हुन् । मल्लसहित दुई दर्जन बढी नेता तथा कार्यकर्ताले पनि पार्टी छाडेको स्रोतले जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर मल्लले भनेका छन्, ‘आजका मितिबाट नेपाल कम्युनिस्ट पार्टीको सम्पूर्ण भूमिका एवम् जिम्मेवारीबाट राजीनामा दिएको व्यहोरा सार्वजनिक रूपमा जानकारी गराउँदछु ।’
नेकपाका महासचिव विप्लवको सचिवालयका साथै विशेष कार्यमा खटिएर काम गर्दै आएका मल्लले पार्टी छाड्नुका बारेमा केही बताएका छैनन् ।
स्रोतका अनुसार नेता मल्लले ‘नेकपा’ले लिएको नीति र राजनीतिक कार्यदिशा वर्तमान समयमा उपयुक्त नरहेकाले पार्टी परित्याग गर्नुपरेको उल्व्लेख गरिएको छ ।
निर्वाचन बहिष्कारका बेला मल्लले ‘नेकपा’ले दिएको विशेष जिम्मेवारी इमान्दारिताका साथ बहन गरेको उनका सहयोगीहरूले बताएका छन् ।
‘नेकपा’ परित्याग गरेका नेता मल्लले नयाँ पार्टीमा प्रवेश गरेका छन् । स्रोतका अनुसार मल्लसहितका तीन सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेशको तयारी गरिरहेका छन् । तर, यसबारेमा मल्लले साथीहरूसँग केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्