कर्णालीमा हिमपात



जुम्ला — कर्णालीमा सोमबार हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु र डोल्पामा साँझसम्म हिउँ परेको छ भने कालिकोटका उच्च भेगमा पनि हिउँ पर्न थालेको छ । हिमपातसँगै कर्णालीमा चिसो हात्तै बढेको छ । जनजीवन प्रभावित भएको छ । जुम्लामा यस वर्ष माइनस ११ डिग्री सेल्सियससम्म चिसो बढेको हावापानी फिल्ड कार्यालयले जनाएको छ । सोमबार बिहानैदेखि चिसो बढेपछि दिउँसोबाट हिउँ पर्न सुरु भएको हो ।

चिसोका कारण विद्यालयहरू बन्द भए । सरकारी कार्यालयमा समेत सेवाग्राही नआएका कारण कर्मचारीहरू आगो तापेर बसेका थिए । दिउँसो दुई फिटभन्दा धेरै हिउँ परेको छ । मंगलबारसम्म हिउँ पर्ने हावापनी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हुम्ला सिमकोट बजारमा करिब दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँपर्ने क्रम जारी रहेको सिमकोटका राजन रावतले बताए । हुम्लाको उत्तरी तिब्बत सीमा क्षेत्रसँग जोडिएका बस्ती यारी,लिम, बुचुलगायत बस्तीमा भारीहिमपात भएको छ ।
हिमपातले तिब्बती हिल्सा नाका अवरुद्ध बनेको छ । हवाई सेवा पनि अवरुद्ध भएको छ । गाउँबस्तीबाट सिमकोट बजार आउजाउ गर्न स्थानीयलाई असहज भएको छ । यो वर्ष हुम्लामा तीन पटक हिउँ परिसकेको छ । मुगुमा सोमबार मध्यान्हदेखि ताल्चा, रारा, मुर्मा, सोवा, बाम, कोटिल्लालगायत गाउँहरू हिउँले सेताम्मै भएका छन् । उक्त गाउँबस्तीमा करिब ५ इन्चभन्दा बढी हिउँ जमेको छ । आइतबार रातिदेखि मौसममा परिवर्तन भई सोमबार मध्यान्हबाट हिमपात भएको हो ।

किसान खुसी
यो हिउँदमा दोस्रो पटक हिउँ पर्दा चन्दननाथ १० का किसान तुफान शाही निकै खुसी देखिन्थे । लामो समयसम्म हिउँ नपरेपछि हिउँदे बालीको उत्पादन घट्ने डरले चिन्तित उनी हिउँ परेपछि खुसी भए ।

लामो समयसम्म हिउँ र पानी नपरेपछि हिउँदेबाली सुक्ने र खडेरी पर्ने डरले किसान चिन्तित थिए । हिमपातले हिउँदेबालीहरूजौ, गहुँ र स्याउलाई फाइदा पुग्ने किसान शाहीले बताए ।

‘जुम्लामा पानी र हिउँ नपर्दा खडेरी पर्ने अवस्थामा पुगिसकेको थियो,’ उनले भने, माघको दोस्रो साता थोरै हिउँ पर्‍यो । अहिलेको हिउँले सिँचाइ पुग्छ । समयमै हिमपात नहुनु जलवायु परिवर्तनको असर रहेको स्थानीय किशोर न्यौपानेले बताए । ‘जलवायु परिवर्तनले जुम्लालाई असर गरेको छ,’ उनले भने, ‘गत वर्षहरूमा पुसमै हिमपात हुने गरेको थियो । तर यस पटक माघको अन्तिममा मात्र हिमपात भयो ।’ स्याउ खेतीका लागि हिउँ पर्नु आवश्यक भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अधिकांश किसानहरूलेस्याउ बगैंचामा हिउँबाटै सिँचाइ गर्नेगरेको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताए ।

‘यहाँको दक्षिण मोहोडा भएको क्षेत्रमा स्याउ बगैंचा धेरै छन्,’ उनले भने, ‘जुम्लामा स्याउका लागि हिउँ वरदान हो ।’ यस पटकको हिउँमा पानी मिसिएकाले माटोमुनिसम्म चिस्यान हुने उनले बताए । मुगुमा पनि गत भदौदेखि राम्रोसित वर्षा नहुँदा जौ, गहुँ सुकेर किसान चिन्तित थिए । (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्