जान्नुहोस ! अक्षय कुमारको फिटनेस रहस्य



बलिउड अभिनेता अक्षय कुमारको उमेर आधा शताब्दी कटिसक्यो । तर, पनि उनी उस्तै ऊर्जाशील र सक्रिय छन् । कुनै समय सुपरहिरोको भूमिकामा समेत थुप्रै फिल्ममा देखिइसकेका अक्षयको फिटनेसले सधैँ तारिफ पाउने गरेको छ । भारतीय अनलाइनले अक्षयको फिटनेस रहस्यबारे केही तथ्य उजागर गरेका छन् ।

अक्षयले केही समयअघि दिएको एउटा अन्तर्वार्तामा आफूले कहिल्यै तनाव लिने नगरेको बताएका थिए । उनले आफू यो उमेरमा पनि उत्तिकै फिट रहनुको ‘राज’ खोल्दै भनेका थिए, ‘म कहिल्यै कुनै कुराको पनि तनाव लिन्नँ । म आफ्नो परिवार र काममा मात्र ध्यान दिन्छु । सधैँ खुसी रहन्छु ।’

अक्षयले स्वस्थ, ऊर्जाशील र फुर्तिलो रहन कुनै विशेष विज्ञान या प्रविधि नभएको भन्दै साधारण जीवनशैली नै स्वस्थ जीवनको मूल आधार रहेको बताउँछन् । ‘यसमा कुनै विशेष विधि र विज्ञान छैन । सादा जीवनयापन गर्नुस् । सधैँ स्वस्थ रहिन्छ,’ उनको भनाइ छ ।

अक्षय सकभर राति सुटिङ नपरोस् भन्ने चाहन्छन् । ‘मलाई राति सुटिङ गर्न मन लाग्दैन,’ उनी भन्छन्, ‘रात त आरामका लागि हो । त्यसैले म राति नौ बजेसम्म सुतिसक्न मन पराउँछु ।’ अक्षय राति जतिवेला सुते पनि हरेक बिहान साढे चार बजे उठिसक्छन् । यो उनको बानी नै भइसकेको छ ।

अक्षय हरेक दिन आफूले एकदेखि डेढ घन्टा मात्रै एक्सरसाइज गर्ने बताउँछन् । ‘जसले हरेक दिन एक घन्टा मात्रै पनि एक्सरसाइज गर्छ, ऊ सधैँ फिट एन्ड फाइन रहन्छु,’ अक्षयको बुझाइ छ । उनले आफूलाई अनुकूल हुने कुनै पनि समयमा अभ्यास गर्ने गरेको खुलाएका छन् ।

खानेकुरा बार्नुपर्ने पक्षमा अक्षय छैनन्, न त उनी कुनै विशेष डाइटमा विश्वास गर्छन् । ‘म यही खानेकुरा चाहिन्छ भन्दिनँ । जे मन लाग्छ, त्यही खाँदा हुन्छ । तर, टाइममै खानुपर्छ,’ उनको भनाइ छ, ‘म हरेक साँझ साढे ६ बजे डिनर लिन्छु । मेरो ब्रेकफास्ट भने अलि हेभी नै हुने गर्दछ ।’ उनी ब्रेकफास्टमा आलुपरौठा, अन्डा, जुस तथा मिल्कसेक लिने गर्दछन् ।

हरेक कुरालाई सकारात्मक तबरले सोच्नुपर्ने धारणा अक्षय कुमारको छ । ‘हरेक काम, कुरामा सकारात्मक सोच राख्नुपर्छ । ताकि सधैँ खुसी भइरहिन्छ,’ उनी भन्छन् ।

अक्षय कुमार न चुरोट पिउँछन् न त मदिरा नै । उनले एउटा अन्तर्वार्तामा आफूले रक्सी, चुरोट त परै जाओस्, चिया–कफीसमेत नपिउने गरेको बताएका थिए ।

अक्षय सिक्स, एट प्याकमा विश्वास राख्दैनन् । उनले आफूले विगत ३२ वर्षदेखि अभ्यास गर्दा पनि सिक्स प्याकभन्दा माथि नबनेको अनुभव सुनाउँछन् । ‘म यत्तिका वर्षदेखि प्राक्टिस गरिरहेको छु, सिक्स प्याकभन्दा माथि बन्न सकेको छैन । तर, जो मान्छे तीन महिनामा सिक्स, एट प्याक बनाउने कुरा गर्छन्, उनीहरूले हानिकारक औषधि तथा केमिकलको प्रयोग गर्ने पक्का छ । यस्तो गर्नु गलत हो,’ उनी भन्छन् । उनले आफू सधैँ प्राकृतिक पद्धतिमा विश्वास राख्ने बताउँछन् । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्