एमाले शीर्ष नेताहरूको छलफल : नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’



एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ । अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्‍याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता लम्बिँदै जाँदा पनि ठोस आकार नलिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूलाई बोलाएर शनिबार निजी निवास बालकोटमा चार घन्टा गम्भीर परामर्श गरेका थिए । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीमबहादुर रावल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए । पछिल्लो वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनअगावै एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि ओलीले शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।

‘पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्नेबारेमा हामीले छलफल गर्‍यौँ,’ बैठकपछि वरिष्ठ नेता खनालले भने, ‘अहिले ठ्याक्कै भन्ने स्थिति बनिसकेको छैन । तर, हामीले दिएका सुझाबका आधारमा वार्ता प्रक्रियालाई उचाइमा पुर्‍याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।’ प्रचण्डसँगको छलफलमा विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि कस्तो मोडालिटीका आधारमा वार्ता टुंग्याउने विषयमा भने खनालले प्रस्ट पारेनन् ।

सभामुख चयनमा निरंकुशता लादिएको आरोप
एमाले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालनिकट सांसदहरूले प्रदेश ३ को सभामुख चयनमा निरंकुशता लादिएको आरोप लगाएका छन् । संसदीय दलको बैठकमा छलफलै नगरी सभामुखमा सानु श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको भन्दै नेपालनिकट सांसदहरू अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, अरुण नेपाल, लक्ष्मण लम्साललगायतले विरोध जनाएका हुन् । उनीहरूले बहुमतको नाममा विधि र प्रक्रिया मिचेर निरंकुश ढंगले दल सञ्चालन गर्न खोजिएको भन्दै समानान्तर गतिविधि गर्ने चेतावनी दिएका थिए । ओलीसँगको शनिबारको छलफलमा नेता नेपाल र खनालले विधिसम्मत तरिकाले प्रदेश सभा दल सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।

ओलीले भने : लामो–लामो छलफलले पनि टुंगिएन
बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँग निरन्तर धेरै लामो–लामो ‘वन अन वन’ छलफल भए पनि एकताको मोडालिटी टुंगो लाग्न नसकेको ‘ब्रिफिङ’ गर्दै शीर्ष नेताहरूसँग सुझाब मागेका थिए । ‘प्रचण्डजीसँग एकताको मोडालिटी, सैद्धान्तिक–वैचारिक पक्ष कसरी मिलाएर कार्यदल बनाउनेबारे धेरै लामो–लामो छलफल भयो, तर अझै विषयहरू टुंगोमा पुग्न सकेनन् भन्दै अध्यक्षज्यूले ब्रिफिङ गर्नुभो,’ छलफलमा सहभागी एक नेताले भने ।

सरकार गठनबारे स्थायी समितिमा छलफल
सरकार गठन, माओवादी केन्द्रसँगको पार्टी एकता, निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फको समानुपातिक सूची बुझाउनेलगायत विषयमा छलफल गर्न एमालेले आइतबार स्थायी समिति बैठक बोलाएको छ । बैठकमा अध्यक्ष ओलीले माओवादीसँगको एकताका विषयमा पनि ‘ब्रिफिङ’ गर्नेछन् ।

ओली–प्रचण्ड छलफलपछि एकता संयोजनको बैठक

स्थायी समितिमा छलफल भएपछि पार्टी एकताका विषयमा ओली र प्रचण्डबीच छुट्टै कुराकानी हुने भएको छ । एक चरण वाम गठबन्धनका प्रमुख नेताबीच कुराकानी भएपछि मात्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने एक नेताले बताए । समितिबाट पार्टी एकता र सरकार गठनलगायत विषयमा महत्वपूर्ण निर्णय गर्ने भनिए पनि दुई नेताबीच एकताको मोडालिटीमा सहमति जुटिसकेको छैन । शुक्रबारै बैठक बोलाउने तयारी भए पनि एमाले प्रदेश संसदीय दलको निर्वाचन तथा माओवादी अध्यक्ष प्रचण्ड चितवन रहेका कारण छलफल भएन । प्रचण्ड आइतबार चितवनबाट काठमाडौं फर्किंदै छन् । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्