आत्महत्या गर्नका लागि जापानी कुख्यात जंगल



एजेन्सी: अमेरिकी युट्युब स्टार लोगान पलले यसै साता जापानको जंगलमा खिचिएको विवादास्पद तस्बिर र कारुणिक भिडियो पोस्टलाई लिएर सम्पूर्ण विश्वको ध्यान जापनतर्फ केन्द्रित भएको छ । भिडियोमा जापानको एओकिगारा जंगलको एउटा रूखमा एक युवकले आत्महत्या गरेको देखिन्छ । सो जंगल जापानमा आत्महत्या गर्नेका लागि कुख्यात मानिन्छ । किनकि जापानमा हुने आत्महत्यामध्ये धेरै घटना सो जंगलसँग जोडिएका छन् । भिडियोले आत्महत्या र मानसिक स्वास्थ्यप्रति सरकारको बेवास्ता र जापानको उच्च मृत्युदरलाई दर्शाउँछ ।

जहाँ अन्य विकसित देशको तुलनामा मृत्युदर उच्च छ । सामाजिक सञ्जालमा तीव्र आलोचनापछि पलले भिडियो पोस्टका लागि सोमबार लिखित रूपमा माफी मागे । तर, सामाजिक सञ्जाल प्रयोकर्ताको आक्रोश र रिस मत्थर भएन । अन्ततः मंगलबार भिडियोमार्फत नै क्षमायाचना गरे । उनले क्षमायाचना गरे पनि एउटा सत्य पाटोलाई उजागर गरेका थिए । त्यो थियो, जापानमा युवायुवतीको मनोदशा र जंगलबीचको साइनो ।

‘पलले खिचेको एओकिगारा जंगल जापानका मानिसहरूको आत्महत्याका लागि रोज्ने कुख्यात स्थल हो,’ क्यालिफोर्निया युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक कारिन नकामुरा भन्छिन् । समकालीन जापानको सामाजिक गतिविधिबारेसमेत अध्ययन गरेकी कारिन थप्छिन्, ‘सो जंगलमा दिनहुँ मानिसका दुई–चार शव भेट्नु कुनै अनौठो होइन ।

तर, कुनै विदेशीले आत्महत्या गरेको भिडियो अतिरन्जित तरिकाले सामाजिक सञ्जालमा पोस्ट गरेपछि आक्रोश उठ्नु स्वाभाविक हो ।’ तर, आफूले भिडियोलाई बढाइचढाइ गर्न नखोजेको र वास्तविकतालाई पर्दाफास गरेको पलको भनाइ छ । हुन पनि यसअघि जापानीको जनजिब्रोमा बारम्बार सो जंगलको उच्चारण भए पनि अन्तर्राष्ट्रिय स्तरमा भने खासै चर्चामा थिएन ।

कस्तो छ आत्महत्या गर्ने जंगल ?
सी अफ ट्रिजसमेत भनिने एओकिगारा जंगल पश्चिम टोकियोबाट दुई किलोमिटर टाढा रहेको माउन्ट फुजीनजिकै पर्छ । जंगलको प्रवेशद्वारमा एउटा बोर्डमा लेखिएको ‘जीवन अमूल्य उपहार हो’ भन्ने वाक्यले जंगलमा प्रवेश गर्ने भिजिटरहरूलाई सान्त्वना दिने गरेको संकेत मिल्छ ।

‘शान्त भएर एकपटक आफ्ना अभिभाव, दाजुभाइ र सन्तानहरूका बारेमा सोच्नुहोस् त,’ जापानी भाषामा सो साइनबोर्डमा लेखिएको छ, ‘कृपया एक्लै पीडित नहुनुहोस् । आफूलाई परेका समस्या साथीभाइ र आफ्नो मन मिल्ने साथीहरूलाई पनि सेयर गर्नुहोस् ।’ जंगलको प्रवेशद्वारमा दर्जनौँ जीवनोपयोगी र ज्ञानगुनका वाक्य लेखिएको छ, ता कि आफ्नो जीवन समाप्त पार्छु भनेर झोँकमा हिँडेको मानिस पनि ती वाक्यबाट दीक्षित भएर घरतिर फर्कन सकुन् ।

एओकिगाराको अँध्यारोपक्ष दशकौँदेखि चर्चामा छ । सन् १९६० मा जापानका लेखक सिचो म्याट्सुमोटोले लेखेको एक लोकप्रिय उपन्यासमा एक नायिकाले सोही जगंलमा पुगेर आफ्नो जीवन समाप्त गरेको उल्लेख छ । सन् २०१६ मा निर्माण गरिएको अमेरिकी त्रासदी चलचित्र ‘दी फरेस्ट’मा पनि रहस्यमय ढंगले हराएकी आफ्नो जुम्ल्याहा बहिनीको खोजीमा सो जंगलमा एक युवती भौँतारिएको देखाइएको छ ।

स्थानीय सरकारको एक रिपोर्टअनुसार सन् २०१३ देखि सन् २०१५ को बीचमा एक सयभन्दा बढी मानिसले सो जंगलमा आत्महत्या गरेका छन् । स्वास्थ्य, श्रम तथा सामाजिक कल्याण मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा सन् २०१५ मा मात्र देशभर २४ हजार जापानीले आत्महत्या गरेका थिए । यो तथ्यांकमा आत्महत्या प्रयासलाई समेटिएको छैन ।

सामाजिक सञ्जालमा तीव्र आलोचनापछि पलले भिडियो पोस्टका लागि सोमबार लिखित रुपमा माफी मागे । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रोश र रिस मत्थर भएन । अन्ततः मंगलबार भिडियोमार्फत नै क्षमायाचना गरे । उनले क्षमायाचना गरे पनि एउटा सत्य पाटोलाई उजागर गरेका थिए ।

मानिसहरू आत्महत्या गर्न सोही जंगललाई नै किन छनोट गर्छन् भन्ने विषयमा विज्ञहरूले लामो समयदेखि सोचमग्न छन् । तीन दशकअघि सो जंगलमा आत्महत्या प्रयास गरेका केही व्यक्तिबारे जपाानका मनोविद्हरूले अन्तर्वार्ता लिएका थिए । उनीहरूका अनुसार जंगलमा पुगेपछि कसैलाई थाहा नदिई सजिलै मृत्युवरण गर्न सकिन्छ ।

मनोविद् डा. योसिटोमो ताकाहासीका अनुसार सो जंगलमा आत्महत्या केन्द्रित गर्न सञ्चार माध्यमहरू र चलचित्रले पनि भूमिका खेलका छन् । ‘कतिपय निराश मानिस विभिन्न प्रान्तबाट सो जंगलमा पुग्छन् । सञ्चारमाध्यमहरूमा उल्लेख गरिएको जंगलको कुख्यातीलाई मनन गर्छन् ।

आफ्ना विगतका दुःख सम्झन्छन् र यहाँ मर्न सजिलो हुन्छ भनेर आत्महत्या गर्छन्,’ उनी भन्छन्, ‘आत्महत्या गर्नेका लागि जंगल नयाँ ट्रेन्ड बनेको छ ।’ अधिकांश मानिसले सोही जंगल छनोट गर्ने भएकाले आत्महत्या गर्ने जोकोहीको पनि त्यही गएर मरुँ भन्ने मनोदशा हुने उनको तर्क छ ।

पछिल्ला वर्षमा आत्महत्यादर नियन्त्रण गर्न राष्ट्रिय रूपमा केही प्रयास भइरहेका छन् । जंगलभित्र जाने मानिसको पहिचान गर्न जंगलको प्रवेशरूारमा स्थानीय अधिकारीहरूले सुरक्षा क्यामेरा जडान गरेका छन् ।
जंगलमा आत्महत्या रोक्नबाट बच्ने उपायबारे स्थानीय सरकारले विभिन्न होर्डिङ बोर्ड टाँसेको छ । बोर्डमा विभिन्न जीवनउपयोगी सूचना लेखिएका छन् । जंगलको प्रवेशद्वारमा प्रहरी गस्ती तीव्र पारिएको छ । जंगललाई कुख्यात स्थान नबनाउन मुभी र टिभी सो सञ्चालन गरिएका छन्, तथापि अकालमै मर्न चाहनेका लागि जंगल स्वर्ग बनिरहेको छ ।

‘आर्थिक वर्ष अन्त्य हुने मार्च महिनामा खराब अर्थतन्त्रको प्रभावका कारण पनि धेरै मानिस आत्महत्याका लागि जंगल पुग्ने गर्छन्,’ विज्ञ वाटनब भन्छन्, ‘जंगलमा आत्महत्या रोक्ने मेरो सपना छ । तर, इमानदारपूर्वक भन्नुपर्दा आत्महत्या दरमा कुनै कमी आएको छैन ।’

लाेगान पल

यसकारण म त्यो जंगलमा आत्महत्या गर्न पुगेँ ( तारो, आत्महत्या गर्दागर्दै उद्धार गरिएका अधबैँसे पुरुष)
बाँच्ने आशा हराउँदै गयो । यो धर्तीमा रहन मन लागेन । त्यसपछि सन् २००९ को मध्याह्नमा जंगलर्फ भौँतारिए । फलाम निर्माण गर्ने कम्पनीबाट रोजगारमुक्त भएपछि मैले जंगल जान एकतर्फी टिकट लिएको थिए । जागिरबाट मुक्त भएपछि मसँग फुटेको कौडी थिएन । निश्चयन नै बाँच्न पैसा चाहिन्छ, होइन र ? तर सुको नभएपछि मृत्यु रोज्न बाध्य भएँ । आफ्नाअगाडि सन्तान भोकभोकै भएको कसले देख्न सक्छ र ? अन्ततः जंगलमा पुगेर नाडी काटिदिएँ । केही घन्टापछि मैले आफूलाई अस्पतालको बेडमा पाएँ । डिहाइड्रेसन, भोक र हिउँले मर्नै लागेको रहेँछु, तर एकजना हाइकरले मलाई बचाएछन् । (नयाँ पत्रिका गज्जब)

प्रतिक्रिया दिनुहोस्