प्रदेश १ को मुख्यमन्त्री बन्न शेरधनलाई मार्गप्रशस्त



सचिव भीम आचार्यलाई दुई मतले पछि पार्दै एमाले दलको नेतामा विजयी

प्रदेश १ को मुख्यमन्त्री बन्न पूर्वमन्त्री शेरधन राईलाई बाटो खुलेको छ । १ नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा सचिव भीम आचार्यलाई २ मतले पछि पार्दै राई संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

एमाले संसदीय दलका सबै ५१ सांसदले मतदान गरे । जसमध्ये २६ मत प्राप्त गर्दै एमाले पोलिटब्युरो सदस्य राई विजयी हुँदा पार्टी सचिव आचार्यले २४ मत पाए । एक मत भने बदर भयो ।

२ फागुनभित्र सरकार
प्रदेश १ मा २ फागुनभित्र सरकार बन्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

एकल बहुमत अर्थात् ९३ सदस्यीय प्रदेश सभामध्ये ५१ सिट पाएको एमालेको दलको नेतामा निर्वाचित भएपछि राईले केही दिनभित्रै प्रदेश प्रमुखकहाँ सरकार गठनका लागि पत्र बुझाउने बताए ।

‘अब पार्टीको संसदीय दलको बैठक बसेर बहुमत लिएर प्रदेश प्रमुखकोमा जान्छौँ । ढिलोमा २ फागुनभित्र सरकार गठन भइसक्छ ।’ उनले प्रदेश १ लाई नमुना प्रदेश बनाउने बताए । आफ्नो नेतृत्वमा बन्ने सरकारको मुख्य उद्देश्य नै प्रदेशको विकास र समृद्धि भएको उनको भनाइ छ ।

जीवन घिमिरेबारे चर्चा परिचर्चा
प्रदेश १ मा संसदीय दलको नेता बन्न एमालेभित्र उम्मेदवारी मनोनयनअघिसम्म तीनजनाको चर्चा थियो । राई र आचार्यसँगै केन्द्रीय सदस्य जीवन घिमिरेले पनि दाबेदारी प्रस्तुत गर्न थाले । सहमति हुन नसकेकाले आफू पछि हटेको उनले बताए ।

घिमिरेको पक्षमा बढीमा चार मत रहेको र उनी निकट सांसदले शेरधन राईको पक्षमा मत हालेको एमाले सांसदहरूको आंकलन छ । घिमिरे पार्टीभित्र माधव नेपाल निकट मानिन्छन् ।

तीन दिनदेखि गायब सांसद भेला पार्दासमेत केही लागेन आचार्यको
एमाले संसदीय दलको नेता चयनका क्रममा प्रदेश १ मा अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्ष सतहमै देखा परे । ५१ मध्ये ४५ बढी सांसद ओली र नेपाल पक्षमा खुलेरै लागे ।

बाँकी केही सांसद तटस्थ देखिएपछि उनीहरूलाई आफ्नो पक्षमा पार्न ओली र नेपाल पक्षले निकै प्रयास गरेको एमाले स्रोतले बतायो । तटस्थ बसेकामध्ये सांसद वसन्तीदेवी यादव र गुलेफुन मियाँ तीन दिनदेखि सम्पर्कविहीन रहेको एमाले स्रोतले बतायो ।

मतदानको समयमा समेत उनीहरू नभेटिने हुन् कि भन्ने चिन्तामा दुवै पक्ष थिए । तर, मतदान अन्तिम चरणमा पुग्ने बेला सांसद सावित्री रेग्मी र यशोधा अधिकारीले ती दुई सांसदलाई बीचमा राखेर मतदानस्थलसम्म पु-याए ।

दुवैले राईकै पक्षमा मत हालेको चर्चा प्रदेश सभाहल परिसरमा चलेको थियो । नेपाल पक्षले सांसद अन्तिमसम्म जुटाए पनि अन्ततः आचार्य दुई मतले पराजित भए ।

खसआर्य वा मधेसी समुदायबाट सभामुख
एमाले स्रोतका अनुसार अब ओली पक्षकै मधेसी वा खस समुदायका सदस्यमध्ये एकजना सभामुखको उम्मेदवार बन्नेछन् । प्रदेश १ मा २९ माघमा सभामुख चयन हुँदै छ ।

सभामुखको निर्वाचनका लागि २८ माघमा प्रस्ताव दर्ता गराउनुपर्नेछ । संसदीय दलको नेतामा सर्वसम्मत गराउन एमाले नेतृत्वले प्रतिस्पर्धी आचार्य र राईमध्ये एकलाई सभामुख वा मन्त्री बनाउने प्रयत्न गरेको थियो ।

तर, दुवैले दलको नेतामा आफूलाई दाबेदार प्रस्तुत गर्दै पछि हट्न नमानेपछि भएको निर्वाचनबाट राई दलको नेतामा निर्वाचित भएका हुन् । अब आचार्य सभामुख हुने कोर्ष पनि टुंगिएको छ ।

अन्तिम समयसम्म आफूलाई मुख्यमन्त्रीको दाबेदार प्रस्तुत गरिरहेका जीवन घिमिरे ‘ब्याक’ भए पनि उनले सभामुखमा रुचि देखाएका छैनन् । उनको चाहना प्रभावशाली मन्त्रालय लिएर मन्त्री बन्ने रहेको छ ।

मेरो दाबी कायमै छ : उषाकला राई
सांसद उषाकला राईले सभामुखको उम्मेदवारका रूपमा आफ्नो दाबेदारी कायमै रहेको बताएकी छन् । उनले संसदीय दलको नेतामा जसले जिते पनि पार्टीकै योग्य नेताले जितेकाले आफूले सभामुखमा दाबी गरेको बताउँछिन् ।

कानुन पढेको, शिक्षित र संविधान लेखनमा भूमिका खेलेको, संसदीय व्यवस्थाका लागि अनुभवी महिला भएकाले सभामुख बन्न सबै प्रकारले योग्य रहेको उनको भनाइ छ ।

महिलालाई दोस्रो हैन, पहिलो नम्बरको नेतृत्व दिँदा सफल हुन्छन् भन्ने कुरा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरिसकेकाले आफूले पनि प्रदेश १ को सभामुख भएर इतिहास रच्न चाहेको राईले बताइन् ।

‘म कुनै हालतमा आफ्नो दाबी फिर्ता लिन्न बरु चुनावमा जान परे तयार छु,’ उनले भनिन् । पहिलो संविधानसभामा सभासद् बनेकी उषाकलाले तत्काल महिला ककसको नेतृत्व गरेकी थिइन् ।

राजनीति र समाजशास्त्रमा स्नातकोत्तर उषाकला अधिवक्तासमेत हुन् । खोटाङ (२) बाट प्रदेश सभामा विजयी राई संस्कृतिमा पिएचडी पनि गर्दै छिन् ।

मुख्यमन्त्री रहँदै राईले विवाह गर्ने
एमाले संसदीय दलका नेता राई ४७ वर्ष पुगेका छन् । हालसम्म अविवाहित राईले प्रदेश १ को मुख्यमन्त्री बनेपछि विवाह गर्ने बताएका थिए ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि शुक्रबार राईलाई ‘अब मुख्यमन्त्री बन्ने पक्का भयो, बिहे कहिले गर्नुहुन्छ’ भन्ने प्रश्नमा उनले भने, ‘मेरो जीवनको एउटा पाटो अझै अधुरै छ, यसैले म यही कार्यकालभित्र अवश्य विवाह गर्छु ।’ तर, उनले आफ्नो प्रेमिका भए नभएबारे केही खुलाएनन् ।

को हुन् शेरधन राई ?
भोजपुरको आमचोक गाउँपालिका पसल भञ्ज्याङमा ११ फागुन ०२७ मा जन्मिएका शेरधन राईले समाजशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । ०४४ मा अनेरास्ववियुमा संगठित भएका राई ०४९/५० मा भोजपुर अध्यक्ष बनेका थिए ।

०४७ मा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनी जिल्ला कमिटी सदस्य हुँदै ०५१ मा जिल्ला सचिवालय सदस्य र ०५४ मा सचिव भए । पार्टी विभाजन भएपछि निरन्तर चार कार्यकाल शेरधन एमाले भोजपुरको अध्यक्ष रहे ।

२७ वैशाख ०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत रहेका शेरधन अविवाहित छन् ।

२७ वैशाख २०७० मा राई एमाले वैकल्पिक सदस्यमा निर्वाचित भएका थिए । हाल उनी एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर १ का सहइन्चार्ज छन् । दोस्रो संविधानसभामा भोजपुर २ बाट विजयी भएर व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको सभापति र सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

राई पहिलो प्रदेश सभाको निर्वाचनमा भोजपुर (२) बाट ७१ प्रतिशतभन्दा बढी प्राप्त गरी विजयी भएका थिए । भलिबल, ब्याडमिन्टन र तेक्वान्दोका चर्चित खेलाडीसमेत रहेका शेरधन अविवाहित छन् ।

सभामुख हुन्नँ : आचार्य
एमाले दलको नेतामा राईसँग पराजित आचार्यले आफू सभामुख वा मन्त्री कुनै पनि पदमा नजाने बताएका छन् । निर्वाचनको परिणाम घोषणा भइसकेपछि उनले नयाँ पत्रिकासँग भने, ‘म कतै जान्नँ र कुनै पद खान्नँ, पार्टीमै बसेर काम गर्छु ।’

एमालेमा सहमतिअनुसार संसदीय दलको नेता चयन हुन नसके प्रतिस्पर्धीमध्ये एकलाई सभामुख वा मुख्यमन्त्री बनाउने चर्चा थियो । तर, सहमति हुन नसकेपछि आचार्य र राईबीच निर्वाचन भएको हो । आचार्य प्रदेश इन्चार्ज र राई सहइन्चार्ज हुन् ।

सभामुखको कोर्स फेरिन सक्ने
राईको विजयसँगै प्रदेश १ को सभामुखको कोर्स पनि फेरिने सम्भावना बढेको छ । सभामुखमा नेपाल पक्षका सांसद उषाकला राई र गणेश काम्बाङ राईले आफूलाई अघि सारेका थिए । आचार्य दलको नेतामा विजयी भएको भए राई र काम्बाङमध्ये एकजना सभामुख हुन सक्ने सम्भावना बलियो थियो ।

तर, पार्टी अध्यक्ष केपी ओली पक्षका राई विजयी भएपछि दुवैजना संसदीय दलबाट चयन हुने सम्भावना न्यून भएको छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्