मिडियामार्फत विश्वब्यापी प्रभुत्व जमाउँदै चीन



२६ माघ २०७४

केन्ट ह्यारिङटन

एजेन्सी, सन् ०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको घटना बाहिर आएपछि यस्तै आक्रमण हुन सक्ने भन्दै युरोपेली अधिकारी सतर्क भएका छन् । तर, यस प्रकारको सम्भावित घटनाप्रति युरोपेलीको मात्र ध्यान गएको छैन, चिनियाँ नेताहरू पनि रुसको उक्त कदमबाट सिक्न सकिने पक्षबारे विचार गरिरहेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि आन्तरिक स्थायित्व बनाइराख्नु प्रमुख प्राथमिकतामा पर्छ । वार्षिक बजेटका लागि आन्तरिक सुरक्षामा चीनले छुट्याएको बजेटबाट पनि यो कुरा प्रस्ट हुन्छ । यसका लागि चीनले सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट छुट्याएको छ । अध्ययन तथा विकासलगायत क्षेत्रमा नदेखिएका अन्य खर्च जोड्ने हो भने वास्तविक खर्च योभन्दा बढी हुन आउँछ ।

उदाहरणका लागि चीनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र बिग डाटाको प्रयोगबाट सामाजिक सञ्जालदेखि क्रेडिट–कार्डबाट हुने खर्चसम्मको निगरानी कसरी गर्न सकिन्छ भन्ने खोज गरिरहेको छ । सम्भावित खतरा हुनुअगावै ऊ नयाँ कदम चाल्न चाहन्छ । चीन सामाजिक सञ्जालमा प्रत्यक्ष जोड दिन मात्र नभएर विश्वभर हुने सूचनाको प्रवाहलाई पनि नियन्त्रण गर्न चाहन्छ ।

ऊ टेक्नोलोजी कम्पनी र साइबर सुरक्षा अनुसन्धानका लागि कडा नयाँ नियम ल्याउँदै छ । रुसले फेसबुक र ट्विटर नियन्त्रण गरेको सन्दर्भमा चीनका सामाजिक सञ्जाललाई कडा नियन्त्रणमा राख्नुपर्ने अवश्यकता राष्ट्रपति पिङले ठानेका छन् । चिनियाँ सरकारले बिच्याट, वेइबो र टेन्सेन्टजस्ता सामाजिक सञ्जाल कम्पनीहरूको सञ्चालक समीतिमा सरकारको प्रतिनिधिका लागि सिट उपलब्ध गराउन आग्रह गरेको छ । उनीहरूका प्रयोगकर्ताको व्यक्तिगत डाटामा एक्सेस गर्न पनि सरकारले माग गरेको छ ।

चिनियाँ साइबर जासुसहरूले रुसको सफलताबारे अध्ययन गरिरहेका छन् । प्रस्ट रूपमा भन्नुपर्दा चिनियाँ ह्याकरमा प्राविधिक ज्ञानको कुनै कमी छैन । उनीहरूले अमेरिकी राष्ट्रपति निर्वाचन अभियान, तिब्बती आन्दोलनलाई तुहाउने काम मात्र होइन, बिगुर कार्यकर्ताविरुद्ध साइबर आक्रमणसमेत गरे । चीनबारे अध्ययन गर्ने बुद्धिजीवी तथा विश्वविद्यालयलाई निसाना बनाए । चिनियाँ नेताको सम्पत्तिबारे लज्जास्पद समाचार छापिएपछि ह्याकरले पश्चिमी समाचार संस्थामा ह्याक गरे । तर, चीनले रुसको सुसज्जित अनलाइन आर्मीबाट सिक्नुपर्ने कुरा बाँकी नै छ ।

यसैगरी, पिपुल्स लिबराइजेसन आर्मी (पिएलए) ले रुसको सफलतबाट सिको गर्दै कसरी आफ्नो साइबर युद्ध रणनीति बनाउने भन्नेबारे ध्यान केन्द्रित गरेको छ । राजनीतिक युद्धबारे चिनियाँ रणनीति भनेको युद्ध सुरु गर्नुअघि मिडियालाई निसाना बनाउनु हो । सरकारद्वार सञ्चालित रुसी मिडिया आरटी र स्पुतनिकको प्रयोग गरेर कपोकल्पित र भ्रामक समाचार छापिने गरेका छन् ।

अर्कोतर्फ, चीनको साइबर क्षमतामा वृद्धि गर्नुका साथै सी जिनपिङले आर्थिक, सामाजिक, सांस्कृतिक र मिडियामार्फत चीनको ‘सफ्ट पावर’ विकास गरिरहेका छन् । तर, उनले अहिलेसम्म चीनका भूमिगत शक्तिसँग मिलेर ०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा भएजस्तो कुनै आक्रमण गरेका छैनन् । तर, यस्तो कदमतर्फ उनी अग्रसर भएको कुरा भने प्रस्ट देखिन्छ । हालै मात्र चीनले अस्ट्रेलियामा आफ्नो प्रभाव व्यापक बनाउन चलाएको कदमबारे चर्चा बाहिर आएको छ ।

शैक्षिक संस्थाका आधिकारिक क्याम्पसका विद्यार्थी, बिजनेस संगठनहरूको प्रयोग गरी चीनले स्वार्थ लादिरहेको छ । त्यसैगरी कूटनीतिज्ञमार्फत चिनियाँ भाषामा चल्ने लोकल मिडियाको संरक्षणका लागि लबिङ गरिरहेको छ । परिणामस्वरूप, चिनियाँ अर्बपतिसँग साठगाँठ गरेको आरोप लागेपछि गतवर्ष एक अस्ट्रेलियाली सिनेटर राजीनामा दिन बाध्य भए ।

चीनले विदेशमा न्यु मिडिया र प्रसारणमा सात अर्ब अमेरिकी डलर खर्च गर्दै आएको छ । उसको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाको मात्रै विश्वभर एक सय ७० भन्दा बढी शाखा छन् भने आठ भाषामा सञ्चालित छ । चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) का ७० भन्दा बढी विदेशी शाखा छन् भने ६ भाषामा विश्वका एक सय ७१ देशमा प्रसारित हुन्छ । चाइना रेडियो इन्टरनेसनल बिबिसीपछि विश्वको दोस्रो ठूलो रेडियो प्रसारण संस्था हो । यो विश्वभर ९० रेडियो स्टेसनमार्फत ६४ भाषामा प्रसारित हुन्छ ।

चीनले विश्वमा आफ्नो मिडियाको उपस्थितिलाई थप बलियो बनाउँदै लगेको छ । केही अनुमानअनुसार चीनले विदेशमा न्यु मिडिया र प्रसारणमा लगभग सात अर्ब अमेरिकी डलर खर्च गर्दै आएको छ । चीनको आधिकारिक समाचार एजेन्सी सिन्वाको मात्रै विश्वभर एक सय ७० भन्दा बढी शाखा छन् भने आठवटा भाषामा सञ्चालित छ । चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) का ७० भन्दा बढी विदेशी शाखा छन् भने ६ वटा भाषामा विश्वका एक सय ७१ देशमा प्रसारित हुन्छ ।

चाइना रेडियो इन्टरनेसनल बिबिसीपछि विश्वको दोस्रो सबैभन्दा ठूलो रेडियो प्रसारण संस्था हो । यो विश्वभर ९० रेडियो स्टेसनमार्फत ६४ भाषामा प्रसारित हुन्छ भने विश्वभर ३२ वटा शाखा छन् । यद्यपि यीमध्ये कुनै पनि संस्था अन्तर्राष्ट्रिय समाचार स्रोतका लागि हो भन्ने प्रस्ट भएको छैन । तर, पनि मध्यपूर्व र अफ्रिकाजस्ता क्षेत्रमा भने महत्वपूर्ण समाचार स्रोतको रूपमा यिनले काम गरेका छन् । यी क्षेत्रमा उनीहरूले चीनको दृष्टिकोण बेचिरहेका छन् ।

यही समय चीनले अस्ट्रेलियाली, अमेरिकी र युरोपेली समाचारपत्रका विज्ञापन लिइरहेको छ । यसले विवादास्पद मुद्दामा आधिकारिक समाचार सामग्री प्रकाशन र प्रसारण गर्ने बाटो खोलेको छ । चिनियाँ राष्ट्रपतिले चलचित्र र अन्य आममनोरञ्जनका क्षेत्रमा लगानी गर्ने अनुमति दिएका छन् । यसरी उनी विश्वमा चिनियाँ संस्कृतिको प्रभाव बढाउन चाहन्छन् । चिनियाँ कम्पनीहरूले हलिउडमा ठूलो रकम भित्र्याउन सहयोगी भूमिका खेलिरहेका छन् ।

चीनको ड्यानियल वान्डा समूहले मात्रै अमेरिका, युरोप र अस्ट्रेलियामा गरी करिब १० अर्ब अमेरिकी डलर लगानी गरेको छ । यसैगरी, अलिबाबा, टेन्सेन्ट र हनी क्यापिटलजस्ता अन्य ठूला चिनियाँ इन्टरनेट तथा वित्तीय लगानीकर्ता तथा सरकारी स्वामित्वको चाइना फिल्म ग्रुपले अमेरिकी फिल्म क्षेत्रमा दसौँ अर्ब अ‍ेमेरिकी डलर लगानी गरेका छन् ।

यस्ता आर्थिक कदममार्फत चीन सरकारले विश्वमा नयाँ नियन्त्रण बनाउन सफल भएको छ । हलिउडले पनि चीनको घरेलु बजारलाई प्राथमिकतामा राख्ने गरेको छ । स्त्रिप्ट, कास्टिङजस्ता फिल्मका विभिन्न चरणका क्रममा चीन कतै–कतै अटाउने गर्छ । सन् ०१७ मा चीनको बक्सअफिसले आठ अर्ब ६० करोड अमेरिकी डलर भित्र्यायो, जुन उत्तर अमेरिकापछि दोस्रो स्थानमा पर्छ ।

तर, अझै पनि चीनले ३८ देशका विदेशी फिल्मलाई मात्र चीन भित्रिन अनुपति प्रदान गर्छ । अर्कोतर्फ, अमेरिकी फिल्म उद्योगबाहेक हालै एप्पल र गुगलले चलाएको कदमले पनि चिनियाँ एजेन्डा स्थापित गर्न मद्दत गरेको छ । एप्पलले हालै चिनियाँ युजरको डाटा स्टोरेज एउटा चिनियाँ पार्टनरलाई दिने निर्णय गरिसकेको छ । अर्कोतर्फ गुगलले चीनमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर बनाउने घोषणा गरेको छ ।

नामुद अमेरिकी प्रविधि संस्थाहरूले उनीहरूको साझेदारको फाइदाका लागि मात्र काम गरेका छैनन्, त्यसको जस चिनियाँ राष्ट्रपतिलाई पनि गइरहेको छ । अमेरिकी संस्थाको यस्ता कदमले चीनलाई उसको साइबर टेक्नोलोजीलाई विस्तार गर्न र सम्भावित अमेरिकी कदममा पहुँच बढाउन सहयोग पुग्ने देखिन्छ ।

यस परिदृश्यबाट निश्चय नै प्रश्न जन्मिएको छ, यदि रुसले अमेरिकासँग कुनै पनि आपसी बिजनेस सम्बन्ध नबनाई अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित गर्न सक्छ भने आउँदा दिनमा चीनले कस्ता कदम चाल्न सक्छ ? हलिउड अधिकारीले चीनको लगानी केबल आर्थिक फाइदाका लागि मात्र हो भन्ने बुझेका हुन् भने यो अमेरिकाका लागि अत्यन्तै महँगो र खतरनाक साबित हुनेछ ।

(केन्ट ह्यारिङटन वरिष्ठ पूर्वसिआइए विश्लेषक तथा पब्लिक अफेयर्सका निर्देशक हुन् । यिनले एसियाका लागि ‘इन्ट एसिया एन्ड चिफ अफ स्टेसन’ कार्यालयमा नेसनल इन्टेलिजेन्स अफिसरको रूपमा सेवा गरेका छन्)
स्रोत : प्रोजेक्ट सिन्डिकेट

प्रतिक्रिया दिनुहोस्