भूकम्प पिडित नयनकुमारीको अनुदान रोकिदा खुल्ला आकाशामुनी बास



ओखलढुंगा, २३ माघ

भूकम्पमा घर भत्केर खुला अाकाशमुनी पुगेकी पीडितले अहिलेसम्म तीन हजार मात्रै सरकारी अनुदान पाएको भन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । तर, यो वास्तविकता हो । सरकारी अनुदान नपाएर एक वृद्ध महिलाको बिचल्ली भएको छ ।

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–७ घर भएकी नयनकुमारी अधिकारीको घर भूकम्पले पूर्ण रुपमा क्षति भएको छ तर उनले अनुदानको नाममा जम्मा ३ हजार रुपैयाँ मात्रै पाएकी छन् । ७२ वर्षीया वृद्धा नयनकुमारीको भूकम्पपछि बस्ने बास पनि छैन । जसोतसो भत्किएको घरको आँडमा पाल टाँगेर बसिरहेकी छन् । हिउँदमा त दुःख सुख बस्न सकिने भएपनि वर्षामा चाहिँ साह्रै गाह्रो भएको नयनकुमारीले बताइन् ।

छिमेकीका नयाँ घर ठडिएपनि नयनकुमारीले भने अनुदानको नाममा जम्मा ३ हजार रुपैयाँ मात्रै पाएको बताएकी छन् । भूकम्प गएपछि लगत संकलनका लागि आएका इन्जिनीयरहरुले पूर्ण रुपमा क्षति भएको लगत संकलन गरेको तर पछि छरछिमेकीले नाम काटिदिएको उनको गुनासो छ ।

‘पहिले नाम टिप्दा पूर्ण रुपमा नै क्षति भएको भनेर लेखिएकोे थियो, पछी नाम काटिएर आंशिक मात्रै क्षति भएको भएछ’ नयनकुमारीले भनिनन् । अाफ्नो पक्षमा कसैले पनि नबोलिदिएको कारण घर पूर्ण रुपमा घर भत्किएपनि अनुदान पाएकी छैनन् । सबैलाई पहिलो किस्ता वापतको पैसा बुझ्न जाँदा आफूपनि गएको तर तेरो नाम छैन भनेपछि रित्तो हात फर्किएको उनले बताइन् ।

अाफूले तीन हजार नलिने भन्दा छिमेकीले नाम उल्टै धम्काएको गुनोसो नयनकुमारीले बताइन् । ‘घर पूरै भत्केको छ, अरु जति नदिए मिदैन भने तर तेरो वृद्धभत्ता नै काटिदिन्छु भनेर धम्काए’ नयनकुमारीले भनिन् ।

७२ वर्षीया वृद्धा अधिकारीका छोरा छैनन् । उनी भत्किएको घरमा एक्लै बस्दै आएकी थिइन् । नयनकुमारीका एक छोरी छन् । छोरीका छोरीहरुको सहयोगमा जसोतसो जीवन गुजरा गर्दै आएकी उनी अहिले खुुला आकासमुनी रात काट्न बाध्य छन् ।

नयनकुमारीलाई परेको अन्यय कसले सुन्‍ने हो ? उनको नाम कसले काटेका हुन् ? यसको खोजी हुनुपर्छ । पीडित नयनकुमारीले पनि अरुले झैं सरकारबाट उपलब्ध हुने अनुदान रकम उपलब्ध गराउन सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।- अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्